असार अर्थात् मानो रोपेर मुरी फलाउने समय। यतिबेला किसानलाई खेत जोत्न, खेत सम्यान अनि रोपाइँ गर्न भ्याइनभ्याइ हुन्छ। नेपालको मुख्यबाली धान रोप्न यतिबेला चटारो नै छ।
सौर्यमासका अनुसार असार महिना मिथुन संक्रान्तिबाट सुरु हुन्छ। असारको पहिलो दिन भुमे पूजा अर्थात भूमि देवतालाई धानको बीउ चढाएर परिपूर्ण र भरिपूर्णताको कामना गर्दै पुजा गर्ने प्रचलन छ। नेपाली समाजमा प्रचलित ‘घरमा बाबु-आमा मर्दा गुन्द्रीले छोपेर काममा जानु पर्ने’ असारको धान रोपाइँको चटारोबीच किसानहरू हिलो खेल्दै भाकामार्फत् दुःख बिर्सन प्रयत्न गर्छन।
रोपाइँको उपयुक्त मौसम भएकाले असार १५ लाई किसानले परम्परादेखि नै हिलोमा टेक्ने र खेतको आलीमा बसेर दही, चिउरा खाने दिनका रुपमा मनाउने गर्छन्। सरकारले असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ को रुपमा मनाउँदै आएको छ। रोपाइँका बेला किसानलाई भ्याइनभ्याइ हुन्छ। तैपनी हलीबाउसे र रोपाहारको थकान र दुःख बिर्साउने माध्यम बनेको छ, असारे गीत।
असार १५ मा खेतमा रोपाइँसँगै हलीबाउसे र रोपाहार हिलो छ्यापाछ्या गर्दै असारे गीत/दोहोरी गाउने गर्छन्। हलीबाउसे र रोपाहारले असारे भाकामा गीतबाट सवालको जवाफ यसरी गर्छन।
कोरस : छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला।
बाउसे : असार मास दबदबे हिलो, छुनलाई घीन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस ऋण लाग्यो।
रोपारे :– छेउकुना बा“झो खन्दै नखन्ने, मुख मात्र चलाउने,
एकपाथी खाजा चार माना अचार एउटैले पचाउने।
हलीबाउसे र रोपाहारले असारे भाकामा सवालको जवाफ गर्छन्। दोहोरीको विशेषता भनेकै यसको मौलिकतासहितको रोचकता हो। आप्mनो खेत नहुनेहरू पनि असार १५ मा हिलोमा खुट्टा चोपल्न अर्कोको खेतमा रोपाइँ गर्न जान्छन् ।
हली : हलो है भाँच्यो, जुवा है भाँच्यो डाँडाको खेतले
ऋण पनि लाग्यो, दिनपनि लाग्यो एक छिनको भेटले
रोपारे : त्यो त्यो पाखो कोप्चो धान है रोप्दा, हात खायो हिलोले
कस्तोको फेला परियो बाबै एक छिनको भेटले।
छन्द र लय मिलाएर गरिने असारका दुःखसुखका बह नै असारे दोहोरी हो। तुरुन्तै गाइने असारे दोहोरीमा किसानले मनका भावना साटासाट गर्छन् । गीतबाटै माया–पिरती पनि साटिने गरिन्छ। खेतमा गुञ्जिने असारे गीत पछिल्लो समय हराउँदै असार १५ को औपचारिक कार्यक्रममा मात्र सीमित हुन थालेको छ ।
हलीबाउसे : छुपुमा छुपु धान है रोप, हातको वीउ छउन्जेल
मसिनो खाउली, सुकिलो लाउली यो मेरो जीउ छउन्जेल
रोपारे : हातको मैला सुनको थैला के गर्नु धनले,
साग र सिस्नु खाएकै वेश आनन्दी मनले।
असारे गीतको अर्काे विशेषता मौलिकतासहितको रोचकता हो। सायद त्यसैले होला असारे गीतमा दुखःसुखका भोगाइहरूलाई युवायुवतीदेखि पाका उमेरका हलिबाउसे र रोपाहरको ओठले टपक्क टिपेको हुन्छ । हिलाम्मे खेतमा खनजोत र धानको बीउ रोप्दा आउने ‘छुपछुपु’ को मधुर संगीतमा असारे गीतले सबैलाई उत्तिकै आकर्षण गर्छ।
कृषि विकास कार्यालय म्याग्दीका अनुसार जिल्लामा ३ हजार ८ सय ९५ हेक्टर क्षेत्रफल खेतमा धानखेती हुन्छ। ९ हजार ५ सय ६० मेट्रिक टन धानको उत्पादन हुन्छ । २६ प्रतिशत खेतमा सिंचाइमार्फत् धानखेती हुने गरेपनि बाँकी आकाशे पानीको भरमा रोपाइँ गरिन्छ।
यस वर्ष उपल्लो भेगमा झण्डै ४० प्रतिशत र तल्लो क्षेत्रमा १० प्रतिशत खेतमा मात्र रोपाइँ भएको अनुमान छ। उपल्लो क्षेत्रमा असारभित्र धान रोपाइँ नभए साउनबाट पानी चिसो हुने हुँदा उत्पादन घट्ने गर्छ।
कालीगण्डकी र म्याग्दी नदी किनाराका बगरफाँट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफा“ट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वा¨ जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुर, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती तथा उपल्लो भेगमा माछापुच्छ्रे–३ र छोम्रो¨ धान प्रचलनमा छ। दर्माली, झिनुवा, मार्सी, ताकमारे आदी स्थानीय जातका धान बढी प्रचलनमा छन्।