Monday, October 28, 2024

गैंडाको अवस्था बुझ्न चिनियाँ साइटिसको टोली नेपाल आइपुग्यो

काठमाडौं – चीन सरकारलाई उपहार दिने भनिएको एक जोडी गैंडाको अवस्था बुझ्न दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धी (साइटिस)को टोली बुधबार नेपाल आएको छ ।

साइटिसका महानिर्देशक सहितको ८ सदस्यीय टोलीमा चीनका सरकारी कर्मचारी पनि छन् । साइटिसको टोलीले चितवन राष्ट्रिय निकुञ्ज पुगेर त्यहाँ रहेका १ जोडी गैँडाको स्वास्थ्य लगायत अन्य अवस्था बुझ्ने राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

२ जनाको भेटनरीको टोली भने बिहीबार नेपाल आउने विभागले जनाएको छ । सरकारले २ जोडी गैंडा दिने बताइसकेको छ । एक जोडी यही आर्थिक वर्षमा र अर्को जोडी अर्को आर्थिक वर्षमा दिइने विभागका उपमहानिर्देशक गोपाल भट्टराईले जानकारी दिए ।

८ जनाको साइटिसको टोली बुधबार काठमाडौँमा रहेपनि बिहीबार विहानै चितवन निकुञ्जमा गैंडाका जोडी राखिएको बुमामा पुगेर अध्ययनमा जुट्नेछ । टोलीले दुई देशको सीमा, भन्सार लगायतमा पनि ध्यान दिएर अवस्था बुझ्ने उपमहानिर्देशक भट्राईले जानकारी दिए ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार यी गैंडाको स्वास्थ्य अवस्थाबारे बुझ्न चीनबाट आएका साइटिस टोली गैंडाको जाँच गरेर फर्किने छन् । साइटिस र भेटेरिनरी टोलीले जाँच तथा अध्यययन गरेर गैंडा लैजाने पक्का भइसकेपछि चिनियाँ कार्गो सहितको विमान सहितको टोली नेपाल आउने छ । विमानमा हालेर गैंडा पठाउनका लागि विशेष प्रकारको खोर बनाउने काम अन्तिम चरणमा पुगेको निकुञ्जका सूचना अधिकारी अर्याल बताउँछन् । ‘चिनियाँ अधिकारीले खोर बनाउन भनेका छन् ,त्यसैले गैँडालाई राखेर पठाइने चार थान ‘खोर बनाउने काम भइरहेकोे छ, उनले भने, एक हप्ताभित्र खोर बनिसक्ने बताइएको छ । ’

नेपालले २०६२ फागनु १६ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन । त्यतिबेला शाहीकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो । चीनले २ जोडी गैँडा दिएवापत वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने वचन दिइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार