Monday, October 28, 2024

दुई खानेपानी आयोजना बाढीले बगायो

म्याग्दी – स्थानीय मालिका गाउँपालिका–४ ओखरबोटमा अविरल वर्षासँगै गएराति आएको बाढी र पहिरोले दुईवटा खानेपानी आयोजना बगाएको छ।

वास परियोजनाअन्तर्गत गत वर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्कीसहित पाइपसमेत बगाएपछि खानेपानीको समस्या भएको वडाध्यक्ष दिलीप शेरचनले बताए।

उनका अनुसार खानेपानी आयोजना अवरुद्ध भएपछि कालोपरामा रहेको लोसरिबाङ खानेपानी आयोजनाका १८ घरधुरी र महभिर आयोजनाका ६० घरधुरी शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएका छन्।

दुबै आयोजनाका खानेपानी अवरुद्ध हुँदा ओखरबोटका लोसरीबाङ, सेरागाउँ, महभिरलगायत बस्तीका बासिन्दा समस्यामा परेका छन्। वर्षासँगै आएको बाढीले महभिरका टेकलाल विकको एकतले घरसमेत पूर्णरुपमा क्षति पुर्याएको वडाध्यक्ष शेरचनले बताए। बाढी र पहिरोले ठाउँठाउँमा पहिरो खसेर सडकसमेत अवरुद्ध बनाएपछि स्थानीयवासीलाई आवतजावत गर्नसमेत समस्या भएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार