Monday, September 23, 2024

पहिरोको जोखिम : प्राधिकरण भन्छ–सम्भावित क्षेत्र पहिचान गरेका छाैं, गृहमन्त्रालय अनविज्ञ

काठमाडौं–बर्खा लागेसँगै मुलुकका विभिन्न स्थानहरूमा पहिरो जान थालेको छ। गत सोमबार राति बाग्लुङको बरेङ गाउँपालिका १ धुल्लुबाँस्कोटमा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गयो। घरमै सुतिरहेको बेलामा एक्कासी पहिरो खस्दा उनीहरूको ज्यान गएको थियो।

त्यस्तै, पहिरोले मध्यमपहाडी लोकमार्गदेखि नारायणगढ–मुग्लिन सडकखण्ड लगायत देशका विभिन्न स्थानमा क्षति पुर्‍याएकोे छ। बर्खायाम सुरु भएसँगै दिनानुदिन पहिरो गएर धनजनको क्षति भइरहँदा पनि सरकारी तहबाट भने कुनै तयारी देखिदैैन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिवेदनअनुसार मुलुकका १८ जिल्लाका करीब २ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा छन्। प्राधिकरणले ती १८ जिल्लाका ९ सय ९३ गाउँको भौगर्भिक अवस्थाको अध्ययन गरेको थियो।

तर, यसबारे गृहमन्त्रालयका अधिकारीहरु अनविज्ञता प्रकट गर्छन। गृहअन्तर्गतको विपद् व्यवस्थापन महाशाखाका प्रमुख केदार न्यौपाने पहिरोबारे केही अनुमान लगाउन नसकिने बताउँछन्। ‘हामीले यस विषयमा केही पनि भन्न सक्दैनौँ, एकातिर अनुमान लगाएर बस्यो अर्कोतिर पहिरो जान्छ,’ उनले भने, ‘गोरखा, सिन्धपाल्चोकतिर पहिरो जान सक्छ भनेका थियौँ तर, बाग्लुङमा गयो त्यसैले केही भन्न सक्ने स्थिति नै छैन।’ पहिरोको जोखिम अध्ययन गर्न सके पनि ठ्याक्कै भन्न नसकिने उनको भनाइ छ।

नेपालमा मौसम पूर्वानुमान गरेजस्तै पहिरोको पूर्वानुमान लगाउन सकिने कुनै पनि संयन्त्र नभएको उनी बताउँछन्। ‘हामीसँगै विभिन्न निकायले पहिरोको उच्च जोखिम भएको क्षेत्रबारे केही अध्ययन त गरेका छौँ, तर ठ्याक्कै कहाँ कहिले पहिरो जान्छ केही भन्न सकिँदैन, अनि अर्को कुरा हामीसँग त्यस्तो कुनै पनि संयन्त्र छैन। जसले पहिरोको पूर्वानुमान लगाउन सकोस्,’ सरकारको लाचारीपन झल्काउँदै उनले भने,‘ पानी जति पर्छ त्यस अनुसार पहिरो जाने हो हामीले पनि कसरी भन्नु र कहाँ कहिले पहिरो जान्छ भनेर, अनुमान लगाएको ठाउँमा नभएर अन्त नै पहिरो गइरहेको छ।’

बर्खायाममा हिमाली तथा पहाडी जिल्लामा जहाँ पनि पहिरो जान सक्ने बताउँदै उनले भने, ‘बर्खायाममा पहिरो जाने भनेको हिमाली र पहाडी जिल्लामा बढी हो, त्यसैले देशका अधिकांश पहाडी तथा हिमाली जिल्लामा पहिरो जान सक्छ विशेष गरी भूकम्प प्रभावित जिल्लाहरूमा बढी पहिरो जान सक्छ, त्यसैले सबैतिर सतर्क भएर बस्दा राम्रो हुन्छ ।’

सडक विस्तार गरिएको तथा डोजर चलाएको स्थानहरूमा पनि पहिरोको सम्भावना हुने उनको धारणा छ । ‘अहिले सडक विस्तारको काम चलिरहेको छ । त्यस्ता स्थानहरूमा र डोजर लगाइएको क्षेत्रहरूमा पनि पहिरोको अधिक संभावना हुन्छ,’ उनले भने। पुनर्निर्माण प्राधिकरणका प्रमुख नापी अधिकृत कमल घिमिरेका अनुसार अहिले देशका विभिन्न स्थानहरूमा पहिरोको जोखिमको अध्ययन भइरहेको छ । त्यसमध्ये १८ वटा जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन् ।

०७२ सालको भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरूमध्ये काठमाडौँ र भक्तपुर बाहेक गोरखा, धादिङ्ग, रसुवा, नुवाकोट, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर र ललितपुर पहिरोको उच्च जोखिममा रहेका छन्। त्यसका साथै चितवन, तनहुँ, लमजुङ, सोलुखुम्बु, स्याङ्जा, पर्वत र गुल्मी पनि पहिरोको उच्च जोखिम रहेका जिल्लामा पहिचान भएको छ।

प्राधिकरणका प्रमुख नापी अधिकृत घिमिरेका अनुसार यी जिल्लाका पहिरोको उच्च जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ। उनले भने, ‘भूकम्पका अतिप्रभावित जिल्ला मध्ये काठमाडौं र भक्तपुर बाहेक सबै र अन्य ६ वटा जिल्लाहरूका घर परिवार पहिरोको उच्च जोखिममा रहेकाले तत्काल स्थानानन्तरण गर्नुपर्ने अध्ययनले देखाएको छ।’

पहिरोको उच्च जोखिम रहेका घर परिवारलाई स्थानानन्तरण गर्न स्थानीय निकाय तथा सम्बन्धित जिल्ला प्रशासनमा पत्राचार गरिसकेको उनको भनाइ छ। उनका अनुसार पहिरोको उच्च जोखिम रहेको स्थान तथा त्यहाँको घर परिवारको सूची सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलार्इ पठाइसकिएको छ। ‘अब चाँडै नै ती वस्ती स्थानान्तरण गरिनुपर्छ,’ उनले भने, ‘हामीलाई यी बाहेक बाग्लुङमा पनि पहिरोको उच्च जोखिम भएको सूचना प्राप्त भएको छ। त्यहाँ हाम्रो टोली भर्खरै पु्गेको छ, त्यहाँ पनि अध्ययन पछि के गर्ने भन्ने कुराको टुंगो लाग्छ। अहिले सबै जिल्लामा हामीले सूचना प्रवाह गरिसकेका छौँ।’

ताजा समाचार

सम्बन्धित समाचार