Monday, October 28, 2024

अछामको कमलबजारमा वर्षामापन यन्त्र

अछाम – अछामको कमलबजारमा स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अवरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको पहलमा पुनः सञ्चालनमा आएको हो ।

बन्द अवस्थामा रहेको वर्षामापन केन्द्र कमलबजार नगरपालिकाको आर्थिक सहयोगमा पुनः सञ्चालनमा आएपछि जिल्लामा बाढी र प्रकोपको अवस्थाबारे जानकारी पाउन सहज हुने भएको छ । तत्कालिन अवस्थामा यूनिसेफ र नेपाल रेडक्रस सोसाइटी, अछाम शाखाको पहलमा रु नौलाखको लागतमा स्थापना गरिएको वर्षामापन केन्द्रमा रहेको सोलार प्यानल चोरी भएपछि अवरुद्ध भएको थियो ।

विशेषगरी अछाम क्षेत्र नम्बर २ र समग्रमा अछाम जिल्लाको तापक्रम मापन, वर्षा मापन र पानीको मात्रा बढेर जोखिम अवस्था सिर्जना हुँदा तथा नदीमा पानीको बहाव बढेर जोखिम अवस्था आउँदा यस यन्त्रले जिल्ला प्रशासन कार्यालयमा रहेको आपत्कालीन सञ्चारमार्फत साइरन बज्ने र सूचना दिने गर्दछ।

वर्षामापन केन्द्र सञ्चालनमा आएसँगै प्राकृतिक प्रकोप, बाढी पहिरोबाट जनधनको क्षति हुनुपूर्व सचेतना अपनाउन सहज हुने नेपाल रेडक्रस सोसाइटी अछामका कार्यक्रम संयोजक खेमप्रसाद भट्टराईले बताए।

यो वर्ष कमलबजार नगरपालिकाले रु चार लाख २६ हजार बजेट विनियोजन गरी सोलार प्यानल र अन्य व्यवस्थापनलाई प्रभावकारी बनाएपछि यन्त्र सुचारु भएको उनले जानकारी दिए । यसबाट वर्षायामको समयमा बाढीलगायत प्रकोप न्यूनीकरण गर्न र सचेतना अपनाउन सहज हुने जनाइएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार