Monday, October 28, 2024

नारायणगढ–मुग्लिन सडकका सूचना अब ‘एसएमएस’बाटै

रत्ननगर – नारायणगढ–मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न।

घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ । कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा मंगलबारदेखि एसएमएस सेवा शुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतम बताउँछन्।

उनका अनुसार यहाँबाट मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुने बताए। यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो।

यसका लागि मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाईप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोबाइलमा सन्देश आइपुग्छ।

अहिले भर्खरै एसएमएस पठाउँदा, ‘टोपे खोलामा पहिरो, मुग्लिन नारायणगढ सडक बन्द छ, पहिरो हटाउन अझै ५,६ घन्टा लाग्ने अनुमान छ,’ भन्ने सन्देश प्राप्त भयो।

घटनाको अपडेट हुने बित्तिकै सूचना पनि अपडेट हुने गौतमले बताए।

यसअघि कालिका टिभी र रेडियोले प्रयोग गर्दै आएको एसएमएस कोड ३४८४८ को नयाँ युजर नेम र पासवर्ड उपलब्ध गराएर सार्वजनिक हितका लागि ट्रफिक प्रहरीलाई सहयोग गरिएको टिभीका स्टेशन म्यानेजर राजकुमार लामिछानेले बताए । रासस

ताजा समाचार

सम्बन्धित समाचार