Monday, October 28, 2024

सेनाद्वारा सैनिक पदमार्ग निर्माण

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका– ८ मा रहेको नेपाली सेनाले सैनिक पदमार्ग निर्माण गरेको छ ।

बडीमालिका नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको समरजीत गुल्मका सेनानी विष्णु सापकोटाले जानकारी दिएका छन्।

उनले दिएको जानकारीअनुसार नगरपालिकाको रु दुई लाख आर्थिक सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको बताए । पदमार्ग निर्माणका लागि नगरपालिकाबाट विनियोजित बजेटबाट रु दुई लाख अपुग भएको उनले बताए।

करीब रु पाँच लाखसम्म लाग्ने उक्त मार्गमा नेपाली सेनामा कार्यरत जवानले करीब रु तीन लाखको श्रमदानमा निर्माण गरिएको सेनानी सापकोटाको भनाइ रहेको छ। पदमार्ग मार्तडी—कोल्टी सडकबाट नेपाली सेनाको प्रवेशद्वारसम्म निर्माण गरिएको बताइएको छ।

उक्त क्षेत्रमा आवतजावत गर्न स्थानीयलाई असहज हुन थालेपछि नेपाली सेनाको आग्रहमा नगरपालिकाले रु दुई लाख रकम निर्माण कार्यमा सहयोग गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन्।

उनले नगरपालिकाको विकासमा कुनै बाधा आउन नहुने बताए। सैनिक पदमार्ग निर्माण गरेपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको नगर प्रमुख बडुवालको भनाइ रहेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार