Monday, September 23, 2024

दूषित दूध उत्पादन, बिक्री गर्नेलाई कडा कानूनी दायरामा ल्याइँदै

काठमाडौं– दूग्ध उद्योगहरूले जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएपछि सरकारले आगामी भदौदेखि कडा कानून लागू गर्ने तयारी गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार अनुगमन खाद्य ऐन परिमार्जन गरी दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गनेलाई कडा कारबाहीको दायरमा ल्याउन लागिएको हो।
दूषित खाद्य उत्पादन र बिक्री गर्नेलाई ५० हजारसम्म जरिवाना वा पाँच वर्षसम्मको कैद सजाय वा दुबै सजाय हुनसक्ने व्यवस्था गर्ने गरी कानून ल्याइन लागिएको उनले बताए।

खाद्य ऐन–२०२३ मा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्ष सम्म कैद वा दुबै सजाय हुनसक्ने खाद्य ऐनमा उल्लेख छ।

यसैगरी, दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। उनका अनुसार हाल कार्यान्वयनमा रहेको खाद्य ऐन पुरानो भइसकेकाले समयसापक्ष बनाइन लागिएको हो।

पछिल्लो समय दूधमा जीवाणु भेटिएपछि कारबाहीबारे सबैतिर चाँसोको विषय बनिरहेको छ। गत जेठमा कृषिमन्त्री चक्रपाणी खनालको नेतृत्वमा रहेको टोलीले काठमाडौं उपत्यकाका विभिन्न दूग्ध उत्पादन केन्द्रहरूमा अनुगमन गरेर संकलन गरिएको नमूना परीक्षण गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने कोलिफर्म नामक जीवाणु भेटिएको थियो।

विभागका अनुसार आधुनिक डेरीको आधुनिक, गल्फु बिनायक डेरीको अलिसाज, आकृति दूग्ध तथा कृषिको अनमोल, जय श्री कृष्ण डेरीको अर्पण,भक्तपुर डेरीको भक्तपुर, एचडि मिल्क एण्ड बेभरेजेजको चौधरी डेलिसियस रेड, हिमालय डेरी प्रडक्टको डेली युएचटीको दूधमा कोलिफर्म भएको पुष्टि भएको हो।

यसैगरी, दूग्ध विकास संस्थानको काउमिल्क-फुलक्रिममिल्क-स्ट्यानडर्ड मिल्क-एस टी डी मिल्क-टि मिल्क, जगदम्बा डेरी फुड एण्ड बेभरेजेजको एभ्रीडे, खरिपाटी डेरीको गायत्री, एचडि मिल्क एण्ड बेभरेजेजको गोधुली, कालिका डेरीको कालिका, सन्जु डेरीको कान्तिपुर फ्रेस (ब्लु -रेडप्याक), नवप्रभात डेरीको नवप्रभात, नेपाल डेरीको एन डीज,कन्ट्री फुड प्रालिको नेभाबाट संकलित दूधको नमूना परीक्षण गर्दा कोलिफर्म भएको पुष्टि प्रयोगशालाले गरेको थियो।

विभागका अनुसार राजधानी डेरीको आरडिसी, सुजल डेरीको सफल, सञ्जिवनी डेरीको सञ्जिवनी, सिभम डेरीको सिभम, सिताराम डेरीको कृष्ण सामुहिक कृषक डेरीको सुलभ (ब्लु-रेडप्याक), हिमालयन डेरी प्रडक्टको टुडे, तुलसा डेरी प्रालिको तुलसा र संयुक्त डेरीको एसमा कोलिफर्म भेटिएको थियो।

के हो कोलिफर्म ?
कोलिफर्म एक दर्जनभन्दा बढी जीवाणुको समूह हो। बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइने एक प्रकारको जीवाणुलाई कोलिफर्म भनिन्छ। कोलिफर्मले मानिसलाई खासै असर त गर्दैन तर, यसको मात्रा जति बढ्छ त्यहीअनुसार यसको असर पनि बढ्दै जान्छ। कोलिफर्म टोटल, फेकल र इकोलाई गरी तीन प्रकारको हुन्छ।

टोटल कोलिफर्मले पानीमा फोहोर मिसिएको संकेत गर्छ, भने फेकलले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ। त्यस्तै, इकोलाईले वान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने र मांशपेशी बाउँडिने जस्ता समस्या सिर्जना गर्छ।

कसरी मिसिन्छ कोलिफर्म?
कोलिफर्म दिसा तथा गोबरलगायतमा हुने हुनाले खुला ठाउँमा भएका चराचुरुङ्गी तथा जनावरका दिसा, हावा, तथा पानीको माध्यमबाट खानेपानीको मुहानमा मिसिन्छ। यसरी कोलिफर्म मिसिएको पानी दूधमा मिसाउँदा दूधमा कोलिफर्म मिसिन पुग्छ।

साथै दूधलाई अव्यवस्थित ढंगले भण्डारण गर्दा वा खुला छोडिदा हावामा रहेको कोलिफर्महरू दूधमा मिसिन पुग्छन्। त्यस्तै दूषित पानीको प्रयोग गरी दूध व्यवस्थापन गर्ने भाँडाहरू सफा गर्दा वा त्यस्ता उपकरणको प्रयोग गर्दा पनि कोलिफर्म मिसिन सक्ने सम्भावना रहन्छ ।

खाद्य प्रविधि विभागका प्रवक्ता वस्ती यसरी मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कोलिफर्मयुक्त दूध विक्रीवितरण गर्दै आएको उद्योगहरूलाई कारवाही गर्न थप अनुसन्धान भइरहेको बताउँछन्। ‘हामीले अनुगमन गरेकामध्ये कोलिफर्म मिसिएका उद्योगहरूको दूधको नमुना संकलन गरेर थप अनुसन्धान गरिरहेका छौँ, साथै ती उद्योगहरूविरुद्धमुद्दा दर्ता गर्ने समेतको तयारी भएको छ,’ उनले भने।

दूग्ध प्रशोधन उद्योगबाट उत्पादित दूधको स्वच्छता एव गुणस्तरसहित दीर्घकालीन सुधारका लागि दूध उत्पादन, संकलन, चिस्यान, ढुवानी, प्रशोधन र विक्रीवितरणमा असल उत्पादन अभ्यासका सिद्धान्तका आधारमा नयाँकार्यविधि, मापदण्ड निर्माणको कार्य अगाडि बढाए पनि ती डेरीहरूलाई कारबाही भने हुन सकेको छैन।

खाद्य विभागका प्रवक्ता वस्ती एउटा मात्र अनुसन्धानले कारबाही गरिहाल्न नमिल्ने बताउँछन्। ‘यो पहिलो चरणको परीक्षण हो अझै थप अनुसन्धान भइरहेको छ, साथै उक्त डेरीहरूसँग छलफल पनि भइरहेको छ, तत्काल परीक्षणको पूर्ण विवरण नआएसम्म हामीले केही गर्न मिल्दैन,’ उनले भने।

कोलिफर्मयुक्त दूध विक्रीवितरण गर्ने उद्योगको सूचीमा परेको दूग्धविकास समिति भने आफूहरुद्वारा उत्पादित दूधमा मानव स्वास्थ्यमा हानी पुर्याउने कोलिफर्म नभएको दाबी गर्छ। समितिका सूचना अधिकारी सुवासप्रसाद भट्टराई भन्छन्,‘ हामीले हाम्रो दूध हरेक पटक परीक्षण गरेर मात्र बजारमा पठाउने गरेका छौँ, अहिलेसम्म त्यस्तो हानीकारका जीवाणु भेटेका छैनौँ।’

परीक्षण गर्दा पनि विभिन्न तरिका हुने र परिवेश हुने बताउँदै उनी भन्छन्, ‘सरकारले कुन परिवेशमा परीक्षण गरेको हो, कोलिफर्म हावामा पनि हुने हुनाले प्याकेट खोल्दा देखिएको पनि हुन सक्छ, तर हामी हाम्रो उत्पादनमा ढुक्क छौँ।’

ताजा समाचार

सम्बन्धित समाचार