Monday, September 23, 2024

बर्खा लाग्यो, अझै भएन बाढीपहिरो पूर्वसूचनाको सम्झौता

काठमाडाैं–सम्भावित बाढीपहिरोबारेका पूर्वसूचना मोबाइलमा एसएमएसमार्फत् उपलब्ध गराउने भनिए पनि सरकार र सेवा प्रदायक कम्पनीहरूबीच अझै समझदारी हुन सकेको छैन।

बर्खा लागिसक्दा समेत जल तथा मौसम विज्ञान विभागले नेपाल टेलिकम र एनसेलसँग समझदारी गर्न नसकेको हो।

विभागका महानिर्देशक डा ऋषिराम शर्मा नेपाल टेलिकमसँग यसैसाता समझदारी हुने दाबी गर्छन। उनका अनुसार टेलिकमको सञ्चालक समितिको बैठक बसेर पूर्वसूचना प्रणालीको बारेमा निर्णय गर्न बाँकी छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा बस्ने बैठकले अन्तिम निर्णय लिन बाँकी रहेको सम्बन्धित अधिकारीहरू बताउछन्। बाढीपहिरोबारेका पूर्वसूचनाका लागि एनसेलसँग हस्ताक्षर गर्ने कार्यक्रम मात्र बाँकी रहेको शर्माले बताए।

पूर्वसचेतनाका लागि निःशुल्क एसएमएस सेवा नेपाल टेलिकम र एनसेलले कर्पाेरेट सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष पनि प्रदान गरेका थिए  गृहमन्त्रालयले हालै सार्वजनिक गरेको ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७–२०३०’ मा बाढी पूर्वानुमानगरी पूर्वसूचना दिने प्रणलीको विकास गर्ने उल्लेख छ।

केही दिन अघि ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्’ बैठकले बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको थियो। तर, प्रगति हुन सकेको छैन।

विभागले गत वर्षदेखि बाढीपहिरोको उच्चजोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढीपहिरोको पूर्व चेतावनी सूचना दिन थालेको हो। गत वर्ष पनि नेपाल टेलिकम र एनसेलले नै सेवा उपलब्ध गराएका थिए।

विभागको बाढी पूर्वानुमान महाशाखाले नदीमा ३ दिनसम्मको जल सतहबारे प्रक्षेपण गर्दै आएको छ। नदीमा पानीको सहतको स्थितिअनुसार जल तथा मौसम विज्ञान विभागले भिन्ना भिन्नै विषयवस्तु एनसेललाई दिनेछ र त्यहीअनुरूप कम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरूलाई सर्टकोड एसएमएस पठाउनेछ।

ताजा समाचार

सम्बन्धित समाचार