Monday, October 28, 2024

बुधबारदेखि देशैभर मनसुन सक्रिय हुने

काठमाडौँ – गत जेठ २५ गतेबाट सुरु भएको मनसुन देशैभर सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । सुरु भएको दुई हप्ता बितिसक्दा पनि सक्रिय नभएको मनसुन आउने बुधबारदेखि सुरु हुने मौसमविद्को भनाई छ ।

पश्चिमी वायुको बाहुल्यता भएकाले मनसुन सक्रिय हुन नसकेको बताउँछन् मौसमविद् राजु प्रधानाङ्ग । ‘मनसुनी वायु प्रणाली राम्ररी सेटअप हुन सकिरहेको छैन् त्यसकारण मनसुन सक्रिय भएको छैन्’ उनले भने, ‘जुन ८ मा पूर्वी क्षेत्रमा मनसुन सक्रिय भएको थियो । तर बीचमा पश्चिमी वायुको प्रभावले गर्दा पुन: सक्रिय हुन सकेन् ।’

पूर्वी वायु बलियो हुनुपर्ने मा पश्चिमी वायु बलियो भएकाले मनसुनलाई असर गरेको उनको भनाई छ । ‘मनसुन सक्रिय हुनका लागि पूर्वी वायु सक्रिय हुनुपर्छ तर पश्चिमी वायुको दबाब बढी भएकाले  मनसुन पूर्वबाट पश्चिमतर्फ सर्न सकेन्,’ उनले भने।

मनसुन सक्रिय नहुँदा काठमाडौँ उपत्यका लगायत देशैभर हल्का मात्र वर्षा भइरहेको छ। सुरुका केही दिनमा सामान्य वर्षा भएपनि त्यसपछि खासै वर्षा भएको छैन्। केही दिन अगाडि राजस्थानको धूलो मिश्रित वायु नेपालमा आउँदा हिले वर्षा भएपनि यो मनसुनी वर्षा नभएको मौसमविदको भनाइ छ।

नेपालमा जुन महिनादेखि पूर्वी क्षेत्रबाट पश्चिम हुँदै वायु प्रवाह हुने हुनाले मनसुन पनि पूर्वी क्षेत्रबाट विस्तारै मध्य हुँदै पश्चिम भेगमा पुगी समाप्त हुने गरेको छ । तर यसपाली भने पूर्वबाट आउने वायुलाई पश्चिमी वायुले रोकेपछि मनुसन सक्रिय हुन सकेको छैन्। सामान्यता नेपालमा मनसुनमा पूर्वबाट पश्चिम र अन्य समयमा पश्चिमबाट पूर्व तर्फ वायु बहने मौसमविद प्रधानाङ्ग बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार