‘पाँच वर्षभित्र काठमाडौँमा हरियाली नै हरियाली हुन्छ’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पाँच वर्षभित्र काठमाडौँ पूर्ण हरियाली जिल्ला हुने बताएको छ । महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरका अनुसार काठमाडौँ जिल्लालाई पाँच वर्षभित्र सबैतिर हरियाली बनाउने तयारी भइरहेको छ ।

महानगरले यो आर्थिक वर्षमा तीस हजार भन्दा बढी विरुवा रोप्ने योजना अघि सारेको छ । सो योजना अनुरुप अहिले महानगरको ३२ वडाका विभिन्न विद्यालय, खुला स्थानहरू, सडक पेटीलगायत गरी तीन हजार भन्दा बढी विरुवा रोपिएको वतावरण विभागका प्रमुख कुँवर बताउँछन्। ‘हामीले हाम्रो योजना अनुरुप खाली स्थानहरूमा विरुवा रोपिरहेका छौँ, पाँच फिट भन्दा अग्लो विरुवा रोपिएको छ । यसले गर्दा अबको पाँच वर्षमा काठमाडौँ पूर्ण रुपमा हरियालीयुक्त बन्नेछ’ उनले भने।

रोपिएको विरुवाको स्थानीय स्तरबाट र महानगरको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर संरक्षण तथा हेरचाह हुने उनले बताए । खाली ठाउँहरूमा विरुवा रोप्दै गरिएको छ । रोपिएको विरुवा विद्यालय क्षेत्रमा छ भने विद्यालयले, सडकमा छ भने महानगर आफैँले र अन्य खुला स्थानमा छ भने स्थानीय स्तरबाटै स्याहार सुसार गर्ने व्यवस्था मिलाएका छौँ, उनले भने, यसरी सबैले स्याहार गर्दा एक त ति विरुवाहरू राम्रोसँग हुर्किन्छन् अनि अर्को भनेको काठमाडौँलाई हरियो काठमाडौँ बन्न मद्दत पनि पुग्छ ।

यो वर्ष मात्र नभएर हरेक वर्ष समयानुकुल वृक्षरोपण गरिने र कतै पनि खाली ठाउँ रहन नदिने योजना महानगरको रहेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार