Monday, September 23, 2024

हामी प्रकृतिसँग बिच्छेद हुँदैछौं

दिल्लीको सरकारी हाउजिङ कोलोनीमा रहेका १६ हजार ५ सय रुखहरू काट्ने सरकारको प्रस्तावप्रति चिन्ता, चासो र एक किसिमको क्रोध छ। सरकारी भवन बनाउने निकायहरूले प्रत्येक काटिएका रुखहरूको ठाउँमा नयाँ विरुवा रोप्ने प्रतिवद्धता व्यक्त गर्नुको कुनै अर्थ छैन। हामी सबैलाई थाहा छ कि काटिएका ठाउँमा नयाँ विरूवा रोप्ने काम कहिल्यै हुँदैन ।

दिल्लीमा बढी तलाको नयाँ अपार्टमेन्ट बनाउने र व्यापारिक प्रयोजनका लागि निर्माण गर्ने भन्दै पूराना भत्काउने काम पहिलोपटक भएको होइन। दिल्ली र मुम्बईमा यो काम भइरहेको छ। अहिले तीव्र रुपमा बढिरहेको जनसंख्या (सरकारी कर्मचारीलाई पनि) बासको व्यवस्थापन गर्नुपर्ने र पैसा पनि कमाउनुपर्ने बाध्यताका कारण रुखहरू बाँच्ने सम्भावना एकदमै कमजोर बन्दै गइरहेको छ।

यसखाले आयोजनाको विरुद्धमा जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारी अधिकरीहरूले यसको प्रभावलाई न्यूनीकरण गर्नेतर्फ कुनै ध्यान दिएका छैनन्। यस्ता धेरै उदाहरणहरू छन्। मौजुदा वनस्पती तथा जीवको आसपास काम गर्ने हिसाबले मानिस बस्ने र अन्य व्यापारिक जग्गाहरूको डिजाइन गरिएको छ। यो पृथ्वी तथा जीवहरूप्रति गरिएको प्रतिबद्धताको परीक्षण हो ।

तर, रुखलाई सम्मान नगर्ने आरोप सरकार र सरकारी निकायहरूलाई मात्र पूर्ण रुपमा लगाउन सकिदैन। निजी क्षेत्रका हाउजिङ तथा अन्य निकायले पार्किङ निर्माण तथा अपार्टमेन्टका लागि केही अतिरिक्त स्थान निर्माण गर्दा रुखलाई निकै कम ध्यान दिने गर्दछन्। हरेक दिन आवासीय क्षेत्रहरूमा पार्किङ र आकर्षक प्रवेशद्वारका लागि असंख्य रुपमा रुखहरू काटिने गर्दछन्। केही बाँचेका रुखहरूलाई पनि सिमेन्टको रिङ बाँधेर भित्र पानी जान नमिल्ने बनाइएको छ।

यो ती विरुवाहरूको लागि एउटा ठूलो यातना हो जसले हामीसँग जिउनका लागि पानी मात्र माग्ने गर्दछन् अनि फूल, फललगायतका थुपै चिजहरू दिने गर्दछन्। रुखहरूलाई क्रंकिटबाट मुक्त पार्न दिइएको न्यायिक निर्देशनलाई कुनै पनि निकायले सुनेका छैनन्।

रुखको बारेमा हामीले गरिरहेका धेरै गतिविधिहरूले हामी पृथ्वीसँग कसरी विच्छेद हुँदैछौं भन्ने देखाउँछ। हामी पात मन पराउँदैनौँ, हाम्रो बाल्कोनी, छत र अन्य भूभागमा कुनै पनि किरा नआओस भन्ने चाहन्छौ, घर वरपर हिलो नहोस भन्ने चाहन्छौँ र हामीसँग भएको सानो भूभाग पनि हामी कालाेपत्रे गर्दछौ । त्यसो भए प्रकृतिको के कुरा चाहि रुचाउँछौ।

सरकारी आवासीय क्षेत्रमा भएका रुख कटानले छक्क परेकाहरूले आफ्नो छिमेकमा रहेका रुखहरूलाई जोगाउन के गर्न सकिन्छ भन्ने विषयमा सोच्न आवश्यक छ। म बस्ने दक्षिण दिल्लीमा विज्ञापन राख्नको लागि एउटा पुरानो रुखका हाँगाहरू काट्ने कार्यको विरोध गरें सरकारी अधिकारीहरूले मलाई ‘रुखमात्रै’ भनेर गाली गरे। रुखमात्रै भन्ने मानसकिता सरकारी निकाय, समाज, घरबेटी, भवन निर्माण र युवाहरू सबैले परिवर्तन गर्न आवश्यक छ।

शहरी क्षेत्रमा न्यूनतम रुपमा चाहिने रुखको प्रकार र संख्याको बारेमा एउटा कानुन नै निर्माण गर्न आवश्यक छ र त्यसलाई नमान्नेलाई कारबाही गनुपर्दछ। रुखहरूले सम्मान र संरक्षण दुवै प्राप्त गर्नुपर्दछ।

१६ हजार ५ सय रुख काट्ने विषयमा सामाजिक सञ्जालमा भइरहेको बहसले धेरै विषयलाई सतहमा ल्याइदिएको छ। वन्यजन्तुमा परेको असर परिरहेको छ भने चराहरू र अन्य जन्तुहरूलाई बस्ने ठाउँ कम भइरहेको छ। यति मात्र होइन, रुख काट्ने कार्यले पानी, विद्युत र सडकलाई पनि असर गरिरहेको छ। अनि यतिबेलाको प्रश्न यति धेरै सरकारी निवासहरू आवश्यक छन् कि छैनन् भन्ने हो।

दि इकोनोमिक टाइम्समा रश्मी आर दासगुप्ताले लेखेको समाचारको भाव अनुवाद

ताजा समाचार

सम्बन्धित समाचार