Monday, September 23, 2024

हरियाली नरूचाउने कमेरोटार आयोजना

लेखक।

प्रकृतिको उपज मानिस आज आफ्नै अन्नदाता, जन्मदाता, संरक्षकमाथि विभत्स अत्याचारमा तल्लिन छ। प्रकृतिमा भएका सम्पूर्ण जीवहरुको जीवन सञ्चालन गर्न हावा, पानी र भोजनको आवश्यकता पर्दछ। भोजन यहि प्रकृतिको कोखबाट प्राप्त हुन्छ। र, पाइरहेको छ। प्रकृतिमाथि मानवले दोहन गरिरहेको छ।

भौतिकवादी संरचना बनाउने होडले आजभोलि प्राकृतिक सम्पदाको असन्तुलित दोहन भइरहेको छ। विकासका लागि होइन दोहनका लागि अनावश्यक प्रतिस्पर्धा बढिरहेको छ। यो अन्तहीन दौडले अन्ततः मानवलाई (सम्पूर्ण जीवलाई) नै अन्त्य गरिदिने छ। किनकी असन्तुलित प्राकृतिक दोहनले प्रकृतिको सन्तुलन बिग्रन जान्छ।

प्राणीको जीवनचक्र खलबलिदै उनीहरू आफ्नो अस्तित्वबाटै च्यूत हुन पुग्दछन्। अहिले निरन्तर रुपमा भइरहेका प्राकृतिक प्रकोपका घटना बाढीपहिरो, अतिवष्टि, अनाबृष्टि, खण्डबृष्टि, प्रकृतिकै अनावश्यक दोहनका परीणाम हुन्। मौसम परिवर्तनसँगै आउने विभिन्न प्रकारका जीवाणु तथा रोग प्नि यसैका श्रृंखला हुन्।

कहिँ पानी नै पानी त कतै खडेरी, भोकमरी मानिसको रोग प्रतिरोध क्षमतामा ह्रास आउनुमा पनि प्रकृतिको विनास नै देखिन्छ। जब प्राकृतिक रुपमा फलफूल तथा अन्नबालीले खान पुग्दैन, पुगेपनि लालचले दिँदैन अनि विषादीको बृष्टिले आज मानव भोजन विषग्रस्त भएको छ।

 प्राणीको पहिलो भोजन, जीवन सञ्चालन तथा ऊर्जाको सञ्चार तथा शरीरवाट विकारको निस्कासन गर्न प्राणवायु (सास) (अक्सिजन) नै पहिलो आवश्यकता र अन्तिम सत्य हो ।अक्सिजन बिना जीवजन्तु केही क्षण त बाच्लान। तर, छिनभरमा उनीहरुको इहलिला समाप्त हुन्छ। अक्सिजनको सन्तुलित प्रयोग तथा अभ्यास (प्रणायाम) ले रोग निर्मूल भएका छन्। हाम्रो शरीरको प्रत्येक कोषमा प्रत्येक क्षण अक्सिजनको पर्याप्तता आवश्यकता पर्दछ। तब त यसलाई प्राणवायू भनिएको हो। जो बिना हाम्रो जीवन सम्भव छैन ।

प्राणको महत्व त्यसलाई सोधौं जसको जीवन अक्सिजनको सिलिण्डरसँग गाँसिएको छ। एकपल्ट नाकमुख बन्द गरेर अनुभूति गरौं त कति निसासिन्छौं हामी? पाउन्जेल सस्तो जब अप्ठेरो पर्छ अनि मूल्य थाहा हुन्छ प्राणको।

हाम्रो शरीरको कार्य सञ्चालन शक्ति प्रवद्र्धन, रोग प्रतिरोध–आन्तरिक शुद्धि तथा बाहिरी सफाइका लागि पानीको उपयोगिता दर्शाइरहनु पर्ने कुरा होइन। हावापछि सबैभन्दा महत्वपूर्ण तत्वका रुपमा पानी नै आउछ। पानीको महत्व त्यतिखेर थाहा हुन्छ, जतिबेला शरीरले पानी माग्छ तिर्खाइन्छ। जतिबेला खाना बनाउनुपर्छ, जतिबेला लुगाकपडा धुनु पर्छ अनि जतिबेला दुर्गन्धित फोहर सफागर्नुपर्ने हुन्छ। पानीको कमीले हिक्का छुट्छ त्यतिबेला पानीको महत्व थाहा हुन्छ।

त्यसैगरी, फलफूल, अन्नबाली तथा खानाको सम्पूर्ण श्रोत प्रकृति नै हो। सबै कुरा प्रकृतिबाटै प्राप्त हुन्छ। जब प्रकृति असहाय, जर्जर र विभत्स हुन्छ, मानव जीवनको नियति पनि त्यस्तै हुन्छ। जव हाम्रो आधारशिला प्रकृतिको विनाशसँगै हाम्रो विनाश पनि सम्भव छ। त्यसैले यो विनाश रोक्न जरूरी छ र यसमा सबैले जागरुक हुन जरुरी छ। विनाशलाई रोक्न प्रकृतिको संरक्षणमा रुख–विरुवा रोप्नु, हुर्काउनु तथा संरक्षण गर्नु प्रमुख आवश्यकता हो। किनकी हावा, पानी र फलफूल तथा खाद्यान्नका श्रोत यिनै रुख बिरुवा हुन्।

हरियाली प्रवद्र्धन गर्नु आजको मुख्य आवश्यकता भैसकेको छ। मानव जीवनका लागी यसको संरक्षण गर्न जति ढिलो हुन्छ, पछुताउनु बाहेक अरु उपाय हुने छैन। आनन्दकै कुरा गर्ने हो भने शहरको रंगिचङ्गीभन्दा रुख विरुवाकै बीचमा मानिस तथा अरु पशुपंक्षी रमाएको देख्न र भोग्न सकिन्छ। त्यसैले जीवन निर्वाह तथा आनन्दका लागि बृक्षरोपण आजको प्रमुख आवश्यकता हो ।

यसै यथार्थलाई मनन् गरी भक्तपुर जिल्लामा विगत १६ वर्षदेखि सञ्चालित अन्तहीन कमेरोटार जग्गा एकीकरण आयोजनाले दोस्रो डीपीआरमा ३९ रोपनी हरियाली क्षेत्र तोकेको थियो। तर, बिडम्वना विरुवा रोप्ने जमर्को गरिएन । तर, हरियालीका नाममा लाखौं रुपैयाँ स्वाहा पारियो।

यस्तो अवस्थाबाट वाक्क दिक्क भएपछि कमेरोटारका बासिन्दाले विस २०७४ मा लगभग ७ रोपनी जमीनमा वृक्षरोपण गरे। मानिसलाई पनि खानेपानीको अभाव भएको ठाउँमा ट्याङ्करको पानी किनेर सिंचाइ गरी ती विरुवा लगभग ९० प्रतिशत हुुकाइएका छन्। जो साक्षीका रुपमा लहलहाइरहेका छन्। २२ जेठ ( जुन ५ ) अर्थात् विश्व वातावरण दिवसका दिन पनि करीब ८ सय विरुवा रोपिएका छन्। आयोजना भने हरियाली प्रवद्र्धन गर्ने कार्यमा उदासिन रहँदै आएको छ।

हरियाली क्षेत्रलाई सामुदायिक वन तथा नगर उद्यानको रुपमा विकसित गरी पर्यावरणको रक्षा तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न स्थानीय उपभोक्ताको सक्रियतामा सामुदायिक वन तथा नगर उद्यान उपभोक्ता समिति गठन गरिएको छ । जुन स्वीकृतिका लागि जिल्ला वन कार्यालय भक्तपुरमा पेश गरिएको थियो।

उक्त जग्गा आयोजनाको स्वामित्वमा (नाममा) रहेकाले वन कार्यालयले कमेरोटार जग्गा एकीकरण आयोजनासँग स्वीकृति माग गरेपनि स्वीकृति दिएको छैन। स्वीकृति गर्दा स्वामित्व आयोजनामै रहने भएपनि स्वीकृति नदिनुमा कुण्ठित मनसाय तथा बदनियत बाहेक अन्य कारण देखिदैन।

गत वर्ष रोपिएका विरुवाका लागि लगाइएको बार (बाँसको बेरा) तथा जनचेतना वढाउने खालको साइनवोर्ड समेतमा क्षति पुर्याइएको छ। कसले होला ? अतः ति रोपिएका विरुवाको संरक्षणका लागि बलियो घेराबार लाउनुपर्ने अवस्था आएको छ। हरियाली प्रवद्र्धनसँग सम्बन्धी संघसंस्था तथा सरकारको ध्यान जाओस्। सरकारको आँखा खुलोस् ।

अन्त्यमा: रुखविरुवा तथा हरियाली बिना हाम्रो जीवन छैन, हाम्रो प्राण छैन। आफूलाई बचाउन हरियाली संरक्षण गर्नै पर्छ। कमेरोटारबासीले कैलाशवार्च–५ (मध्यपुर थिमि ननगरपालिका) मा रहेको हरियाली क्षेत्रमा विरुवा रोप्ने कार्य गत सालदेखि शुरु गरिसकेका छन्। उनीहरूको अभियानमा सरिक बनेर धन्य होऔँ।

(घिमिरे कैलाशवार्चा टोल विकास संस्था, कमेरोटार–५ का सचिव हुन्)

ताजा समाचार

सम्बन्धित समाचार