Monday, October 28, 2024

दूषित पानी बेच्ने कम्पनीको नाम सार्वजनिक गर्न मान्दैन सरकार

काठमाडौँ – दूषित खानेपानी बेच्ने कम्पनीको नाम सार्वजनिक गर्ने विषयमा दुई सरकारी निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एक अर्कालाई देखाउँदै पन्छिएका छन् ।

नास्टले केही दिन अगाडि गरेको परीक्षणमा ७४ प्रतिशत जारको पानी दूषित भएको खुलासा भएको थियो । सर्वसाधारणले दैनिक रुपमा प्रयोग गर्ने जारको पानीमा ‘इकोलाई’ नामक दिसामा पाइने जीवाणु भेटिएको नास्टले सार्वजनिक गरेको थियो ।

तर कुन कुन कम्पनीको पानीमा त्यस्ता जीवाणु भेटिएको भने सार्वजनिक गर्न नमिल्ने बताउँछ नास्ट । नास्टका प्रमुख जीवराज पोखरेल भन्छन्,‘हाम्रो काम भनेको अनुसन्धान गर्ने हो, परीक्षण गर्ने हो अनि परीक्षण गरिएको कुरालाई सम्बन्धित निकायलाई सुसूचित गराउने हो, जुन सम्बन्धित निकाय छ त्यसैले नै ति कुराहरू सार्वजनिक गर्नुपर्छ। हामीले सार्वजनिक गर्नसक्ने कुरा हामीले गर्यौ अब बाँकी सम्बन्धित निकायले गर्नुपर्छ।’

दूषित पानी बेच्ने कम्पनीको सूची खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई बुझाइसकिएको बताउँदै उनी खाद्यले नै सार्वजनिक गर्नुपर्ने दाबी गर्छन् । ‘हामीले उक्त सूची खाद्य प्रविधिलाई बुझाइसकेका छौँ, अब कारवाही देखि सार्वजनिक सबै उनीहरूले नै गर्नुपर्छ’ उनले भने।

तर खाद्य प्रविधि भने अरुले गरेको अनुसन्धान आफूले सार्वजनिक गर्न नमिल्ने भन्दै पन्छिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कुमार कर्ण नास्टको सूची आफूले सार्वजनिक गर्ने कुनै अधिकार नभएको बताउँछन् ।

जसले परीक्षण गरेको हो उसैले सार्वजनिक गर्नुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘हामीले हाम्रो प्रयोजनका लागि उक्त लिस्ट मगाएका हौँ, जसले अनुसन्धान गरेको हो त्यसैले ती कम्पनीहरूको नाम सार्वजनिक गर्नुपर्छ । हामीलाई अरुको कुरा सार्वजनिक गर्न कुनै पनि अधिकार छैन्।’

तर खाद्यसँग उक्त सूची सार्वजनिक गर्ने पूर्णाधिकार भएको बताउँछन्, नास्टका प्रमुख पोखरेल । ‘हामीले गर्ने भनेको अनुसन्धान हो, कुनै कुरा भेटियो भने सम्बन्धित निकायले जानकारी गराउने हो, हामीले अरुलाई भन्दा पनि सम्बन्धित निकायलाई सूचना प्रवाह गर्ने हो, हामीले दिएको सूचना सोही निकायले सर्वसाधारणलाई दिने हो यसमा कुनै दुई मत नै छैन् ।’ आफूहरू अनुसन्धान गर्ने निकाय मात्र भएको बताउँदै उनले भने, हामीले परीक्षण गरेका हौँ, हाम्रो काम भनेको परीक्षण गर्ने, अनुसन्धान गर्ने हो, त्यसको परिणामहरू सबै सम्बन्धित निकायमा पठाउँछौँ त्यसपछि उक्त निकायलाई हाम्रो प्रतिवेदन सार्वजनिक गर्ने पूर्णाधिकार हुन्छ ।’

यही कुरा खाद्यसँग गर्दा अरुको अनुसन्धान मात्र सही नहुन सक्ने भएकाले आफूले परीक्षण नगरी कुनै पनि कुरा सार्वजनिक नगर्ने भएकाले उक्त नामावली दिन नमिल्ने बताउँछ । दूषित खानेपानी बेच्ने कम्पनीहरू धेरै नै भएकाले अहिले नास्टले दिएको मात्र सार्वजनिक गर्न नमिल्ने खाद्यको भनाइ छ ।

यसरी सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीको विषयमा सम्बन्धित दुई निकाय नै एकले अर्कोलाई देखाउँदै पन्छिँदा सर्वसाधारण भने दूषित पानी खान बाध्य भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार