Friday, December 12, 2025

बाढीमा हराएका नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरू

२३ साउन, काठमाडौँ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डको बाढीमा हराएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल भएको बताएकी छन् ।

दिल्लीस्थित नेपाली दूतावासमार्फत यो पहल अघि बढेको उनको भनाइ छ । ‘हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्दारका लागि भारत सरकारको समन्वयमा तदारूकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छु’, मन्त्री राणाले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

यही बुधबार (२० साउन)मा उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पु-याएको छ । खोज तथा उद्दार कार्य जारी रहँदा कम्तिमा २२ नेपाली सम्पर्कविहीन भएका प्रारम्भिक विवरण छ ।

स्थानीय समय अनुसार भीषण वर्षापछि मंगलबार दिउँसो साढे १ बजे लेदोसहित ठूलो बाढी आएको थियो ।

सो घटनामा जाजरकोटका १३, धादिङका ४, बर्दियाका ४ र जुम्लाका १ जना नेपाली सम्पर्कविहीन छन् । बेपत्ता नेपालीहरूको खोजीका लागि भारतीय पक्षसँग समन्वय भइरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार