Sunday, September 22, 2024

यस्ताे छ निजगढ विमानस्थल निर्माण क्षेत्रको वातावरणीय तथा जैविक महत्व

काठमाडौं– बारा जिल्लामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने २४ लाख ५० हजार रुख कटानी नेपाली सेनाले गर्नेछ।

वन तथा वातावरण मन्त्रालयका अनुसार विमानस्थलको चारकिल्लाभित्र रहेका रुख हटाउन नीतिगत तहमा अन्तिम सहमति हुन बाँकी छ। जसको मतलब हो रुख कटानका लागि वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सहमति भए पश्चात जिल्ला वन कार्यालय बाराले रुखको छपान गर्नेछ। त्यसपछि मात्र सेनाले रुख कटान गर्न पाउनेछ। त्यहाँका रुख २ वर्षभित्र कटान गरिसक्ने लक्ष्य लिइएको छ।

विमानस्थल निर्माण क्षेत्रको जैविक वातावरण कस्तो छ ? वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए)मा उल्लेखित विषयकको केही अंश जस्ताको त्यस्तै :

–जैविक वातावरण
प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको मुख्य भाग तराईको एक घना जंगलमा पर्दछ। आयोजना क्षेत्रमा अवस्थित सो जंगल व्यापक रुपमा क) सालको वन, ख) तराईको कडा काठको वन र ग) खयर, सिसौंको वनमा वर्गीकरण गरिएको छ।

तथापी, नदी किनाराको अलावा वन क्षेत्र प्रायः जसो सालको काठले ढाकेको छ, हालसालै प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको सिमानामा सिसौं, खयर र सोही प्रजातिका सिमल, बोताधंयेरो, कर्मा जातका रुखहरुले भरिएको तटवर्ती प्रकारको वन रहेको छ। पर्सा राष्ट्रिय निकुञ्ज आयोजना क्षेत्रको उत्तर भागमा अवस्थित छ।

यस आयोजना क्षेत्रमा तांगिया वृक्षरोपण, सहजनाथ साझेदारी वन, तामागढी साझेदारी वन रहेका छन् । सरकारले दुवै वन सहजनाथ साझेदारी वन र तामागढी साझेदारी वनलाई नयाँ क्षेत्र प्रदान गर्ने योजना छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (एसआईए) आयोजनाको निर्माण क्षेत्र ठूलो र धनी जैविक विविधता भएको तराईको वन हो। सो वन क्षेत्र विभिन्न प्रजातिका गैर काठजन्य वन पैदावार (एनटीएफपी) ले सम्पन्न रहेको छ। सो क्षेत्रमा रहेका गैर काठजन्य वन पैदावार (एनटीएफपी) हरुमा निउरो, डन्डु साग, सरन्चीसाग, पोइ साग, बेथे, तिलोकर, लहरे, साग, सिम साग, जिब्रे साग, लुण्डे साग, जन कुरिलो, भ्याकुर, अम्लिसो, असुरो, तितेपाती, राजवृक्ष, सिन्दुरे, कुकुरडाइनो आदि रहेका छन्।

नमूना सर्वेक्षणबाट आयोजना क्षेत्रभित्र जम्मा ५ लाख ८५ हजार ४ सय ९९ गोटा ठूलो रुख र १८ लाख ६४ हजार ८ सय २० गोटा पोल आकारका वनस्पती आँकलन गरिएको छ। जसमध्ये १ लाख ९८ हजार ४ सय ५० छिप्पिएका सालका रुख र ४ लाख ५ हजार गोटा सालका पोल भएको पाइयो। साधारणतया प्रति हेक्टर ७ सय प्रकृति पुनर्उत्थान विरुवा भएको पाइन्छ।

–वन्यजन्तु
आयोजना क्षेत्रमा तथा त्यसको ववरपर विभिन्न २३ प्रजातिको स्नतनधारी रहेका छन्। स्थानीय समुदायले उल्लेख गरेअनुसार आयोजना क्षेत्रमा मृग, रातो मृग, बदेंल, दुम्सी, बाँदर दुबै लंगुर र रातो बाँदर, ब्वाँसो, स्याल आदि प्राय : देखिन्छन्।

साधारण चितुवा, जंगली विरालो, जंगली कुकुर आदि पनि सो क्षेत्रमा पाइन्छन् । यस आयोजना क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको नजिकै रहेको कारणले यस संरक्षित गरिएका एसियन हात्ती, बाघ, हाइना, अजिङ्गर, जाइन्टा हर्नबिल, सारस, बकुल्लाहरु यस क्षेत्रमा देखियता पनि माथि उल्लेखित जनावर यो आयोजना क्षेत्रका स्थायी भने होइनन्।

यस क्षेत्र तथा सँगै रहेको पर्सा राष्ट्रिय निकुञ्जमा ५०० भन्दा धेरै प्रजातिका चरा पाइने भएकाले यो क्षेत्र चराहरुको विविधतामा उत्तिकै धनी मानिन्छ।

–सोधभर्ना
रुख तथा पोलको नोक्सानीको शोधभर्ना १ : २५ को दरमा अनिवार्य रुपमा विरुवा लगाउनुपर्नेछ। २४ लाख ५० हजार ८ सय २१ विरुवा क्षतिको लागि ६ करोड १२ लाख ७० हजार ५ सय २५ विरुवा लगाइ हुर्काउने व्यवस्था मिलाइएको छ।

यति ठूलो वृक्षरोपणका लागि ३८ हजार २ सय ९४ हेक्टर जमिन आवश्यक पर्दछ। तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयको निर्देशिका अनुसार शोधभर्नाको रुपमा गरिने वृक्षरोपण जिल्ला वन कार्यालयले तोकिदिएको स्थानमा गरिनेछ, वा सो कार्यको जिम्मेवारी जिल्ला वन कार्यालय समेतलाई प्रत्यायोजन गर्न सकिनेछ। त्यसरी शोधभर्नाको रुपमा ठूलो क्षेत्रमा गरिने वृक्षरोपण आफैंमा एउटा आयोजना हुनेछ। साथमा आयोजनाले असार गर्ने दुईवटा साझेदारी वनहरू सहजनाथ साझेदारी वन र तामागादी साभेदारी वनलाई समेत सहयोग गर्नेछ।

निर्माण कामदारहरूले गर्ने वा वन क्षेत्रको अतिक्रमणको कार्य रोक्ने
–यस आयोजनाले स्थानीय वन पैदावारको प्रयोग गरी कामदार बस्ने छाप्रो-घर निर्माण गर्न निरुत्साहित गर्नेछ।

–निर्माणका दौरन वन पैदावरमाथि पर्ने दबाब नियन्त्रण गर्न प्रस्तावकले सुधारिएको चुल्हो, मट्टीतेलको प्रयोग सौर्य उर्जा तथा जैविक ग्यासको प्रवद्र्धन गर्नेछ। जसले गर्दा कामदारले दाउराको प्रयोग कम गर्दछन्।

–वन क्षेत्रमा प्रवेश निषेध गरिनेछ।

–विमानस्थलको संंरचना क्षेत्र काँडे तारले तारवार गरिनेछ। वनक्षेत्र सुरक्षाका लागि परियोजनाको लागतमा वन चौकी स्थापना गरिनेछ।

–यदी कुनै कामदार वा निजमाथि आश्रित व्यक्ति वन्यजन्तुलाई खेद्ने, यातना दिने वा समात्ने कार्यमा सहभागी भएको पाइएमा आयोजनाको निकायले जिल्ला वन कार्यालयलाई आवश्यक कारबाहीका लागि रिपोर्ट गर्नेछ।

–विमानस्थल क्षेत्रमा अग्लो चेनलिंक तारबार गरिनेछ। जसले वन्यजन्तुलाई विमानस्थलमा प्रवेश गर्न रोक्दछ। विमानस्थल क्षेत्र तथा यसको आसपासका क्षेत्रलाई हेर्न निषेधित गरिएको छ। विमानस्थलमा तथा यसको वरपर ठोस

–फोहरमैला दैनिक रुपमा संकलन गरिनेछ।

आयोजना क्षेत्रमा अवस्थित सहजनाथको मन्दिर पूर्वपश्चिम राजमार्गको छेउमा आयोजनाको उत्तर पश्चिम कुनामा स्थानान्तरण गर्न प्रस्ताव गरिएको छ। जसले गर्दा भक्तजनहरूले विमानस्थलभित्र पस्नुपर्ने छैन। यसले भक्तजनहरूले जंगलको अतिक्रमण गर्ने कार्य मात्र रोकिने छैन। यसले भक्तजनको समेत सुरक्षा हुन्छ।

नोट : (हाकाहाकी अनलाइनले सूचनाको हकसम्बन्धी ऐन–२०६४ को दफा ३ र ७ प्रयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्राप्त गरेको छ। यसका विभिन्न अंशहरू हामी प्रकाशित गर्दै जानेछौं)

सम्बन्धित समाचार
निजगढ विमानस्थल : यी हुन् वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव
निजगढ विमानस्थलस् रुख काट्ने निश्चित, विरुवा रोप्ने जमिनको अत्तोपत्तो छैन
निजगढ विमानस्थलस् २४ लाख रुख काटे बापत ६ करोड विरुवा रोप्नुपर्ने, १३ अर्ब ९७ करोड रुपैयाँ लाग्ने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः साना–ठूला २४ लाख रुख काटिने, रोप्ने ठेगान छैन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए स्वीकृत

ताजा समाचार

सम्बन्धित समाचार