
काठमाडौं– एक सिङ्गे गैंडा उपहारका लागि चीनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपालको प्रशसा गरेको छ।
नेपालले चितवन राष्ट्रिय निकुञ्जमा रहेका भद्र (भाले) र रुपसी (पोथी) गैंडा असारभित्र र एक अर्काे जोडी गैंडा आगामी आर्थिक वर्षमा चीनलाई उपहार दिने तयारी गरिरहेको छ ।
प्रम ओली चीन भ्रमणमा रहेका बेला बिहीबार जारी भएको संयुक्त वक्तव्यमा दुई जोडी एक सिंङ्गे गैंडा उपहारको विषय पनि उल्लेख छ। ‘नेपाल सरकार र नेपाली जनताको तर्फबाट उपहारस्वरुप दुई जोडी एक सिंङ्गे गैंडा प्रदान गरेकोमा चिनियाँ पक्षले प्रशंसा गर्दछ । यसलाई चिनियाँ जनताले दीर्घकालीन सम्बन्धको प्रतिबिम्बको रूपमा लिने छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ।
संयोग नै मान्नुपर्छ प्रम ओलीले अहिले चीन भ्रमणमा छन्। एक सिंङ्गे गैंडा उपहारको प्रतिवद्धता ओली यसअघि पहिलो पटक प्रधानमन्त्री छँदा भएको थियो। उक्त प्रतिवद्धता हाल आएर पूरा हुन लागेको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका १४ असारमा चीनबाट आउने साइटिस टोलीले वैज्ञानिक र व्यवस्थापकीय परमिटका बारेमा निर्णय लिनेछ।
असारमा चीन पठाइने भाले गैंडालाई चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए।
नेपालले चीनलाई दुई जोडी गैंडा दिएबापत वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने बचन दिइसकेको छ।
नेपालले १६ फागुन २०६२ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन। त्यतिबेला शाहीकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो।





