Sunday, October 27, 2024

पर्यटकीय क्षेत्र बन्दै सामुदायिक वन

विराटनगर – सरकारले पर्यटनका लागि वन क्षेत्रलाई महत्व दिएसँगै मोरङ जिल्लामा रहेका सामुुदायिक वनहरु पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको छ ।

जिल्ला वन कार्यालय, स्थानीय निकाय र सामुदायिक वन समितिहरुले वनभित्र रहेका सिमसार, ताल तथा पोखरीहरुलाई विस्तार एंव व्यवस्थित गर्न लगानी गर्न थालेका छन् ।

जिल्लामा रहेका अधिकांश सामुुदायिक वनले वनक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार एवम् व्यवस्थित गर्न शुुरु गरेका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको शान्ति भुुल्के सामुुदायिक वनले अतिक्रमण गरी निर्माण गरिएका घरटहरा खाली गरी पोखरी, पार्क, वनभोज स्थल तथा चिडियाघर बनाउने कामलाई तीव्रता दिएको छ।

यसैगरी, भारतीय सीमा क्षेत्रसँग जोडिएको रंगेली नगरपालिकामा रहेको सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गोल्डेनपार्क निर्माणसहितको योजनालाई अघि बढाइएको छ ।

सामुदायिक वनका सहसचिव बद्रीनारायण राजवंशीले रु पाँच करोडको लागतमा पार्क बनाउने योजना एक वर्षअघिदेखि शुरु गरेको जानकारी दिए।

त्यस्तै, कानेपोखरी गाउँपालिकामा रहेको ग्रामीण सामुुदायिक वनले वन क्षेत्रभित्र रहेको ऐतिहासिक कानेपोखरी र भलुुवा सिमसार क्षेत्रमा पर्यटकको आकर्षण वृद्धि गर्न पूर्वाधार निर्माणको काम अगाडि बढाइएको उपभोक्ता समितिका अध्यक्ष नवीन राईले बताए।

जिल्लामा रहेका विभिन्न सामुुदायिक वनले वन क्षेत्रमा रहेका खाली जग्गालाई पर्यटकीय स्थलमा परिणत गरी भारतीय तथा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाउन शुरु गरेका छन् ।

सामुदायिक वनबाट काठ दाउरा जस्ता वन पैदावारसँगै पर्यटकलाई भित्र्याएर आम्दानीको स्रोत बढाउन मार्ग प्रशस्त गर्न बजेट उपलव्ध गराउँदै आएको जिल्ला वन कार्यालयकी सहायक वन अधिकृत सरोजकुुमारी कोइरालाले बताए।

सामुुदायिक वन क्षेत्रभित्र पर्यटकीय स्थल निर्माण हुुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सहज हुुनेछ भने दिगो वन व्यवस्थापनमा समेत यसबाट मद्दत पुुग्नेछ ।

सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदा यहाँ आउने पर्यटकबाट स्थानीय उत्पादन तथा घरेलु सामग्रीसमेत खपत गरिदिने भएकाले रोजगारी समेत उपलब्ध हुनेछ । पर्यटकको आगमनले रोजगारी सँगसँगै उनीहरुको आर्थिक हैसियत पनि बढ्ने विश्वास सामुदायिक वन क्षेत्रका बासिन्दाहरूको रहेको छ । मनोज दाहाल/ रासस

ताजा समाचार

सम्बन्धित समाचार