Sunday, October 27, 2024

नीलो स्टिकर भएको ट्याङ्करको पानी मात्र पिउनयोग्य

काठमाडौँ – नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ।

उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले राससलाई जानकारी दिए। वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्याङ्करको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन बोर्डले आह्वान गरेको छ।

ट्याङ्करको पानीको गुणस्तरीयता जाँच र मूल्य निर्धारणका लागि बोर्डको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो। समिति सदस्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि सदस्य छन् । समिति गठन भएपछि ५५१ टयांकरलाई स्टिकर बाँडिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताए।
घरायसी प्रयोजन अर्थात् नुहाउन र कपडा धुन मात्र प्रयोग गर्न सकिने पानी बोक्ने ट्याङ्करलाई हरियो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ४८७ छ । निर्माण र बगैँचामा सिँचाइका लागि मात्र प्रयोग गर्न सकिने पानीको ट्याङ्करलाई पहेँलो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ५० रहेको बोर्डले जनाएको छ ।

वर्षात्मा पानीकै कारण विभिन्न सरुवा रोगको प्रकोप बढ्ने भएकाले बोर्डले दिएको स्टिकरको रङ हेरेर मात्र पानीको उपभोग गर्न बोर्डले अनुरोध गरेको छ । ट्याङ्करको पानीसम्बन्धी विस्तृत जानकारीका लागि बोर्डको मोबाइल एप्स ‘काठमाडौँ भ्याली इन्फरमेसन सिस्टम’ डाउनलोड गरी थप जानकारी लिने सकिने जनाइएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार