Sunday, September 22, 2024

प्लास्टिक र सिसाले यसरी प्रदूषित बन्दैछ सप्तकोसी

इटहरी– सप्तकोसी नदी पछिल्लो समय प्लास्टिक, सीसासँगै घरघरबाट निस्केको फोहरका कारण प्रदूषित बन्दै गएको छ।

कुनै बेला स्वच्छ अनि चञ्चल भएर बग्ने सप्तकोसीको पानी पछिल्लो समय धमिलो हुँदै गएकोे छ, भने नदी किनारमा प्लास्टिक र सीसाको डंगुर नै देखिन्छ। सप्तकाेसी अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिकाको तेह्रआर्डी, प्रकाशपुर, राजावास, चतरा र कोसी पुल आसपासमा अत्याधिक फोहोर बढेको हो।

विशेषगरीः सप्तकोसी किनारमा वनभोज खान आउने, घुम्न आउने, जलविहार गर्ने र मलामी आउनेहरूले पानी र पेयपदार्थका बोतल, चाउचाउ, बिस्कुटका खोलसँगै प्लास्टिकजन्य फोहर नदी किनारमै छोडिदिने गरेको स्थानीय बताउँछन। सुनसरी र उदयपुरको सिमाना भएर बग्ने सप्तकोसीको सुनसरीतर्फ बढी फोहोर देखिन्छ। चतरा र उदयपुर जोड्ने कोसी पुल पारीको उदयपुर जिल्लामा पर्ने बेलका नगरपालिका क्षेत्रमा पनि पछिल्लो समय फोहोर बढ्न थालेको स्थानीय कमल राई बताउँछन।

बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरका युवा कृष्णप्रसाद भट्टराई सीसा फुटाएर फालिएकाले किनारमा खाली खुट्टा हिँड्न पनि जोखिम हुने गरेको बताउँछन्। उनी भन्छन, ‘पहिले–पहिले सप्तकोसी किनारमा खाली खुट्टा कुद्न सकिन्थ्यो। तर, अहिले जताततै सीसा र बोतल देखिन्छन्।’ नदी प्रदूषित हुनबाट रोक्न युवा समूहरूले संगठीत भएर फोहर नफ्याँक्न अनुरोध गरेपनि प्रदूषणको क्रम नरोकिएको भट्टराईले बताए।

चराको राजधानी भनेर चिनिने तथा अर्नाको लागि प्रसिद्ध कोसी–टप्पु वन्यजन्तु आरक्षण हुँदै बग्ने सप्तकोसीलाई प्रदूषित हुनबाट रोक्न आरक्षले पनि पहल नगरेको उनको आरोप छ।  कोसी पन्छी समाजका सचिव समेत रहेका भट्टराईले भने, ‘सप्तकोसी किनारको फोहोर समस्या समाधान नगरे नदीको सुन्दरता मात्रै होइन कोसी टप्पुका जलचर र थलचर प्रणीलाई पनि असर गर्न सक्छ ।’

वातावरण विज्ञ तथा प्राकृतिक संग्रहालयका अनुसन्धानकर्ता डा. पाउल क्लार्क प्लास्टिकले जलचरमा गम्भीर समस्या गर्ने बताउँदै आएका छन्। यसअघि एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनले भनेका थिए, ‘एक पटक जलचरले प्लास्टिक खाएपछि यसले घातक रसायन निकाल्छ र खाद्य चक्रमै असर गर्छ।’

प्लास्टिक खाएका माछा र अन्य जलचरको मासु खाँदा मान्छेलाई पनि स्वास्थ्य समस्या हुने विज्ञहरुको भनाइ छ ।

फोहोर निषेधको नीति ल्याउँदै नगर
घुमफिर गर्ने र मलामी जानेले सप्तकोसी किनारमा फोहोरको डंगुर थुपारेपछि बराहक्षेत्र नगरपालिकाले त्यसलाई रोक्न नीति ल्याउने तयारी गरेको छ ।

मेयर निलम खनाल सप्तकोसी किनारमा विभिन्न स्थानमा फोहोर संकलनका लागि डस्टबिन राख्ने तयारी भइरहेको बताउँछन्। तोकिएको स्थानमा फोहर नफालेर नदी किनारमा र नदीमा फ्याँक्नेलाई कारबाही गरिने खनालले बताए।

हाकाहाकीसँग टेलिफोनमा कुरा गर्दै मेयर खनालले भने, ‘हामी सप्तकोशी किनार प्लास्टिक, सिसा र अन्य विभिन्न फोहोरको थुप्रोमा पर्दै गएको बारेमा जानकार छौं। फोहोर व्यवस्थापनमा केही अभियानहरू पनि चले तर, काम भएनन्। अब भने नगरकार्यपालिकाले नीति नै बनाएर फोहोर व्यवस्थापन गर्छ।’

ताजा समाचार

सम्बन्धित समाचार