Sunday, October 27, 2024

विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजनामा जुटे स्थानीय

उर्लाबारी – प्रत्येक वर्ष बाढीले विस्थापित हुँदै आएका उर्लाबारी–१ मेचेडाँगीका स्थानीयवासी विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजनामा जुटेका छन्।

वर्षातको समयमा बक्राहा, नुनसरी र मिक्लु खोलाको कटान र डुबानबाट बच्नका लागि स्थानीयस्तरमा विपत् व्यवस्थापन पूर्व तयारी, उद्धार तालीम, पारिवारिक सुरक्षा योजना बनाउन थालिएको हो । गाउँघरमा सबैभन्दा बढी जोखिम रहेको बाढी र डुबान, त्यसपछिको समस्या सर्पको जोखिम, चट्याङ र हावाहुरी, आगलागी, खेतीयोग्य जमिनको कटान, खेतीमा हात्तीले पुर्याउने नोक्सान र त्यसबाट बच्ने विधिका बारेमा ज्ञान लिँदै प्रतिरोध र प्रतिरक्षा योजना बनाउने गरिएको हो ।

प्लान नेपाल इन्टरनेशनल र फरवार्ड नेपालले सञ्चालन गरेको परियोजनाले विपद् व्यवस्थापन, त्यसबाट आउन सक्ने जोखिम र त्यसबाट बच्न सकिने विषयमा स्थानीय समुदायलाई तालिम र सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेपछि कार्यक्रमको प्रभावकारिता बढ्दै गएको हो ।

सो परियोजनाअन्तर्गत स्थानीय समुदायलाई समूह–समूहमा प्रकोप के हो र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा तालीम, सचेतना कार्यक्रमदेखि विकास निर्माणका कामलाई समेत प्राथमिकता दिँदै आएको फरवार्डका कार्यक्रम संयोजक देवप्रकाश चौधरीले बताए।

सो परियोजनाले उर्लाबारी–१ का विद्यालयमा समेत कार्यक्रम सञ्चालन गर्दै आएको छ। उर्लाबारीको सारदा माविमा विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। परियोजनाअन्तर्गत सो गाउँमा रु ६० हजार बराबरको खोज तथा उद्धार सामग्री पनि हस्तान्तरण गरिएको छ। यस कार्यक्रमबाट विपत् जोखिम न्यूनीकरणका लागि आफूहरुलाई ज्ञान मिलेको स्थानीयवासी देवनारायण गौतमले बताए।

परियोजनाकी सामाजिक परिचालक मनमाया तामाङका अनुसार परियोजनाले उर्लाबारी र पथरीशनिश्चरे नगरपालिका तथा कटहरी गाउँपालिकाका विद्यालयमा अध्ययनरत छात्रछात्रालाई विपद् व्यवस्थापन र त्यसको न्यूनीकरणका विषयमा तालीम र सचेतना मुलुक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार