Sunday, October 27, 2024

म्याग्दीमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु

बाबियाचौर – म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु गरिएको छ।

धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पुर्याउनका लागि सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको हो । २ नं वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणका लागि स्ट्रेन्थ डेभलपर्स प्रा।लिले स्थलगत अध्ययन शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए।

सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र प्रा।लिबीच रु चार लाख ९४ हजारमा सम्झौता भएको छ। असार १६ गतेभित्र अध्ययन प्रतिवेदन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। भूगर्वविद्को टोलीले सुरुङ मार्गको भौतिक, आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय विषयमा अध्ययन गरेर प्रतिवेदन दिनेछ।

एउटै बस्ती र एउटै गाउँ रहेको गुर्जामा पुग्न नजिकैको बस्ती लुलाङबाट तीन हजार ५०० मिटर उचाइको देउराली धुरी पार गर्दै कम्तीमा आठ घण्टा पैदल हिँड्नुपर्छ । उकालो, ओरालो, जंगल र भिरको बाटोको पैदलयात्रा अत्यासलाग्दो हुने गर्छ । हिउँदमा हिउँ परेपछि पैदलमार्ग समेत अवरुद्ध हुने गर्छ ।

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङ मार्गको परिकल्पना गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । सवारी साधन आवतजावत गर्ने, नभए पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाइ छ । सडक पुगेको मुनादेखि गुर्जासम्म खच्चरमार्फत सामान ढुवानी गर्दा प्रतिकिलो रु २१ लाग्छ । २३० घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा पर्यटन, जडीबुटी खेती, खानी र पशुपालनका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो ।रासस

ताजा समाचार

सम्बन्धित समाचार