Sunday, October 27, 2024

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

फलेवास – मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि जलयात्रा रोकिएको छ।

विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले जलयात्रा प्रभावित बनेको हो। विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा सहज रूपमा सञ्चालन गरिए पनि यस वर्ष बर्सातको समय छिटो शुरु भएका कारण जलयात्रा सञ्चालन गर्न नसक्दा पर्यटकलाई फर्काउनुपर्ने अवस्था आएको स्थानीय जलयात्रा व्यवसायी होमबहादुर पुनले जानकारी दिए। “अघिल्लो वर्ष जुन महिनाको १५ सम्म जलयात्रा गर्न सकेका थियौँ”, उनले भने, “यस वर्ष जुन महिनामा कुनै पनि कम्पनी कालीगण्डकी नदीमा नआएको उनले बताए।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्विसा ¥याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ। लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन्। जलयात्राका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको आकर्षण पनि बढ्दै गएको छ।

सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई/तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखिबाट शुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन र प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार