वर्षासँगै धुलो मिश्रित लेदो खसेपछि…

तस्बिर साैजन्य : किशाेर तामाङ

काठमाडौं– खुला आकाश मुनी राखिएको मोटरसाइकल वर्षा भएपछि पखालिनुपर्ने हो। तर, शुक्रबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–४, ‘घ’ गाउँका हेमन्त न्यौपानेले पानी पर्दा ठीक उल्टो दृष्य देखे।

उनी भन्छन्, ‘पानी पर्दा मेरो मोटरसाइकल घर बाहिर थियो, पानी रोकिएपछि मोटरसाइकलमा लेदो देखें। सुकेपछि छाम्दा हातमा धुलो लाग्यो।’

त्यसपछि बारीका साग, फलफूल, रुखविरुवाका पातमा पनि धुलो देखेपछि उनी अचम्मित भए। स्थानीय पत्रकार समेत रहेका न्यौपानेले हाकाहाकीसँग कुरा गर्दै भने, ‘बिहीबार बेलुका पानी पर्दा धुलो देखिएन । शुक्रबार बिहान ९ देखि १० बजेसम्म सिमसिमे पानी पर्दा धुलो देखियो। किन भएको होला?’

जेठ २५ गते नेपालमा मनसुन भित्रिए पनि मुलुकको पश्चिमी र मध्य भुभागमा अझै मनसुन सक्रिय भएको छैन। सो क्षेत्रमा अहिले भइरहेको वर्षा पश्चिमी वायुको प्रभावले हो।

तर, शुक्रबार नेपालको पश्चिमी क्षेत्रको केही भुभागमा वर्षासँगै धुलो मिश्रित लेदो किन खस्यो? मौसमपूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटी भन्छिन्, ‘डस्ट स्ट्रोम’ अर्थात् धुलोसहितको हावाहुरीको प्रभाव हुन सक्छ।’

केही दिन यता भारतको राजधानी नयाँदिल्लीसहित राजस्थान, पश्चिम बंगाल, पञ्जाव, उत्तरप्रदेश क्षेत्रमा हुरीसहितको बतास चलिरहेको छ। धुलोसहितको बतासले त्यहाँको जनजीवन प्रभावित छ।

मौसमविद् नगरकोटी भनिछन्, ‘नेपालको पश्चिमी क्षेत्रमा अहिले मनसुनको नभइ पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको छ। यो समयमा नेपालको सीमा क्षेत्रका भारतीय सहरमा ‘डस्ट स्ट्रोम’ भइरहेकाले पानीमा धुलाको कण देखिएको हुन सक्छ।’

उनका अनुसार अहिले नेपालको पूर्वी भेगमा मनसुन सक्रिय भएर वर्षा भइरहेपनि मध्य र पश्चिमी भेगमा सक्रिय हुन करीब ३ दिन लाग्नेछ।

बिहीबार सिन्धु्पाल्चोक, रामेछाप, सिन्धुली क्षेत्रमा पनि वर्षासँगै धुलो मिश्रित लेदो खसेको स्थानीयको भनाइ छ।

यो पनि पढनुस्
मनसुन प्रवेशको घोषणा, कुन वर्ष कहिले मनसुन भित्रियोेरु हेर्नुस् १० वर्षको तथ्यांक

ताजा समाचार

सम्बन्धित समाचार