Sunday, September 22, 2024

दूषित खाद्य उत्पादन गर्ने १ सय ३५ उद्योगविरूद्ध मुद्दा दायर

काठमाडौं– जनस्वास्थ्यमा गम्भिर असर गर्ने गरी खाद्य वस्तुमा मिसावट गरेर विक्रीवितरण गर्ने १३ सय ५ उद्योगविरूद्ध सरकारले मुद्दा दायर गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य वस्तु मिसावट गरेर खाद्यन्न विक्री वितरण गर्ने ती उद्योगविरूद्ध सम्बन्धीत जिल्लाहरूमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

विभागले देशभरका विभिन्न ठाउँमा निरीक्षण तथा अनुगमनका क्रममा विभिन्न दूध उद्योग,तेल,पानी,चामल,बिस्कुट, पाउरोटी, खाना, डेरी घ्यू, मिठाई जस्ता पसल तथा उद्योगले अखाद्य वस्तु मिसावट गरेको भन्दै ती उद्योगहरू विरूद्ध मुद्दा दर्ता गरेको हो ।

चालु आर्थिक वर्षमा विभागले त्यस्ता १३५ उद्योग विरुद्ध मुद्धा दर्ता गराएको जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मा २०६ र आर्थिक वर्ष २०७३/०७४ मा २५७ उद्योग विरूद्ध खाद्य ऐन उलंघन गरेको भन्दै प्रचलित खाद्य ऐन अनुसार कानूनी कारवाही माग गदै जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले हाकाहाकीलाई जानकारी दिए ।

प्रवक्ता वस्तीले उपत्यकाभित्रका त्यस्ता उद्योग तथा पसलहरू विरूद्ध विभाग आफैले र जिल्लाहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ती उद्योग विरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेका छन् ।

वस्तीका अनुसार विभागले मुद्धा हालेका सबै उद्योगी तथा पसल व्यवसायीहरूलाई कानून अनुसार कारवाही भएको बताउँछन् ।

‘हामीले हरेक वर्ष कानूनी कारवाहीका लागि मुद्धा दर्ता गर्ने गरेका छौं,’उनले भने, ‘जती पनि मुद्दा दर्ता भएका छन् सबैलाई कानूनी कारवाही भएको छ ।’

जनताको स्वास्थ्यमा गम्भिर असर पार्ने खालका अखाद्य वस्तु मिसावट गर्ने त्यस्ता उद्योग सञ्चालकहरूलाई पाँच हजारदेखि १० हजारसम्म जरिवाना र एक वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

‘स्वास्थ्यलाई गम्भिर असर गर्ने खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरूलाई सञ्चालनमा रोक लगाउँछौं,’उनले भने ‘तर अहिलेलाई सुधार गर्दा हुने खालको छ । मुद्दा पनि चलिरहल्छ । सुधार गरेर उद्योग सञ्चालन गर्ने पनि दिइन्छ ।’

उनले उपभोक्ता सचेत बन्दै गएकाले उजुरी बढी आउन थालेको बताउँछन् । उनले जनगुनासो तथा विभागको आफ्नो नियमित निरक्षणका क्रममा विभिन्न उद्योगहरूले अद्याय वस्तु मिसावटा गर्न गरेको पाइएपछि मुद्दा दर्ता हुने क्रम पनि बढेको बताए ।

तेल र पानी न्यूनगुणस्तरको…

विभागले जनस्वाथ्यमा गम्भिर खेलवाड गर्न उद्योगहरूमा सबै भन्दा बढी तेल उद्योग र प्रशोधित पानी उद्योगहरू रहेको जनाएको छ।

मुद्धा दर्ता भएका मध्ये दैनिक प्रयोग हुने पानी र तेल उद्योगले दूषित र न्यूनगुणस्तरको पानी र तेल उत्पादन गर्ने गरेकोे प्रवक्ता वस्तीले बताए। न्यूगुणस्तर तेल उत्पादन तथा बिक्री गर्ने २३ उद्योगी व्यवसायीविरूद्ध चालु आर्थिक वर्षमा सरकारले मुद्दा दायर गरेको छ।

त्यस्तै उनको अनुसार पानी उत्पादन तथा विक्री गर्ने १८ र दुध उत्पादन गर्ने १४ उद्योगी व्यवसायी विरूद्ध विभागले मुद्दा दायर गरेको छ । ती उद्योगले उत्पादन गरेको पानी तथा दूध न्यूनगुणस्तर र दूषित भएको भेटिएको थियो ।

आर्थिक वर्ष २०७२/०७३ मा ३७ तेल र २२ पानी उद्योगले दूषित तथा न्यूनगुणस्तर पानी र तेल उत्पादन भएको पाइएको थियो। त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा ४१ तेल र ३७ पानी उद्योग विरूद्ध विभागले मुद्दा दर्ता गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार