Sunday, October 27, 2024

निकुञ्जमा पर्यटकसँगै राजश्व पनि वृद्धि

चितवन – देशमा राजनीतिक स्थिरता र स्थायी सरकार बनेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ।

पर्यटक बढेसँगै राजश्व पनि बढेको छ। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालू आर्थिक वर्षको १० महिनामा एक लाख ३३ हजार १७१ पर्यटकले निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुमेका छन्। जसमध्ये तेस्रो मुलुकका पर्यटकको संख्या ८८ हजार ९३९, सार्क देशका १३ हजार ४०८ र नेपाली ३० हजार ८२४ रहेका छन्।

यस अवधिमा रु २१ करोड ५० लाख ७१४ राजश्व संकलन भएको छ। गत आर्थिक वर्षभरिमा एक लाख ३९ हजार ९७८ पर्यटकले निकुञ्ज घुमेका थिए। जसमध्ये विदेशी ८८ हजार १९, सार्क मुलुकका १५ हजार ९०६ र नेपाली ३६ हजार ५३ रहेका थिए । गत आवमा रु २२ करोड ५१ लाख ६३ हजार ४०९ राजश्व संकलन भएको अर्यालले बताए।

आव २०७२÷७३ मा वर्षभरिमा ८७ हजार ३९१ पर्यटकले मात्रै निकुञ्ज प्रवेश गरेका थिए। त्यस वर्ष विदेशी ५० हजार १९१, सार्क मुलुकका छ हजार ६०६ र नेपाली ३० हजार ५९२ रहेका थिए।

पर्यटकमा कमी आएसँगै त्यस वर्ष रु १३ करोड १२ लाख २० हजार २५५ राजश्व संकलन भएको थियो। भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो। क्रमशः पर्यटकको संख्या बढ्दै गएको छ। जेठ र असार महिनामा आशातित पर्यटक भित्रिएमा विगत तीन वर्षको तुलनामा यसवर्ष सबैभन्दा बढी पर्यटक आउने अपेक्षा व्यवसायीहरुले गरेका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार