Saturday, October 26, 2024

जयनगर–जनकपुर रेल डिसेम्बरमा

काठमाडौं– निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा आगामी डिसेम्बर महिनादेखि रेल गुड्ने भएको छ ।

रेल विभागका अनुसार जयनगर–जनकपुर रेलमार्ग निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सो खण्डमा सन् २०१८ को डिसेम्बरसम्म रेल संचालनमा आउने रेल विभागले जनाएको छ ।

विभागका सिनियर डिभिजनल ईन्जिनियर तथा सुचना अधिकारी प्रकाश भक्त उपाध्यायले जयनगर–जनकपुर रेल मार्गको काम ९५ प्रतिशत सम्पन्न भैसकेकोले अबको डिसेम्बरसम्म रेल गुड्ने हाकाहाकीलाई वताए ।

जयनगर–जनकपुर रेलमार्ग भारत सरकारको सहयोगमा विस्तार र नयाँ निर्माण गरिरहेको छ । ईन्जिनियर उपाध्यायले बाँकी ५ प्रतिशत निर्माण कार्य सन् २०१८ अक्टोबरसम्म सकिने बताएका छन् ।

‘जयनगर–कुर्तासम्मको ३५ किलोमिटरको कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुन्छ,’ उपाध्यायले भने ।
डिसेम्बरमा जयनगर–जनकपुरको ३५ किलोमिटर क्षेत्रमा रेल गुडाउनका लागि रेल डिब्बा खरिद गर्ने प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।

चारवटा रेलका लागि करीब रु दुई अर्ब लागत लाग्ने भन्दै सरकारले आवश्यक बजेट व्यवस्था गर्ने आश्वासन दिएको उपाध्यायले बताए ।

यता जनकपुर–बर्दिवाससम्म जोड्ने रेलमार्गका लागि जग्गा अधिग्रहणको कार्य शुरु भएको उपाध्यायले बताए ।

‘जनकपुर–बर्दिबास रेलमार्ग आगामि आर्थिक वर्षसम्म सकाउने लक्ष्य छ,’उनले भने ‘अहिले जग्गा अधिग्रहणको काम शुरु भएको छ ।’

भारत सरकारको सहयोगमा क्रस बोर्डर कनेक्टिभिटी परियोजना अन्तर्गत जलपायुगुडी–काँकडभिट्टा ७० किलोमिटर, जोगवनी–विराटनगर १८ किलोमिटर, जयनगर–बर्दिबास ७० किलोमिटर, नौतुनवा–भैरहवा १७ किलोमिटर र रुपडिया–नेपालगञ्ज १२ किलोमिटर रेल निर्माणका लागि भारतसँग सम्झौता भई कार्य अगाडि बढेको उनले जानकारी दिए । उक्त रेलमार्गको निर्माण सन् २०१४ देखि शुरु भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार