Saturday, September 21, 2024

प्रदूषणको मारमा ट्राफिक प्रहरी : छैन चस्मा, मास्क पनि अपर्याप्त

काठमाडौं– राजधानीको व्यस्त चोकमध्येको एउटा कलंकी चोकमा सोमबार ट्राफिक प्रहरी हात हल्लाउदै सवारी साधनलाई पास गराइरहेका थिए ।

बिहान करीब १० बजेको समयमा सडकमा सवारी चाप निकै बाक्लो थियो । थानकोटबाट भित्रिने तथा चक्रपथ भएर चल्ने गाडीको लाम नै थियो ।

चोकमा उभिएका ट्राफिक प्रहरी चर्काे गर्मी र धुँवाधुलोको प्रवाह नगरी ड्यूटी निभाइरहेका थिए ।

‘हाम्रो त ड्युटी नै यस्तै हो हजुर,’ चोकमा खटिएका एक प्रहरीले हाकाहाकीसँग भने ‘धूलोको मुस्लोमै काम गरिरहेकै छौं ।’ माथिको आदेश चाहिने भन्दै उनको आफ्नो परिचय खुलाउन चाहेनन् ।

बढ्दो सवारी चाप र सडक विस्तारले पछिल्लो समयमा काठमाडांै सहर प्रदूषित बन्दै गएको छ । जसको बढी असर पैदल यात्रु र त्यसमध्ये पनि चौबाटोमा खटिएका ट्राफिक प्रहरीलाई पर्ने गरेको छ ।

काठमाडौंको अति व्यस्त तथा धुलाम्मे रहने कोटेश्वर, कलंकी, नयाँ बसपार्क, महाराजगंज, बल्खु लगायतका क्षेत्रमा ट्राफिक प्रहरी खटिएका छन् । कतिपय क्षेत्रमा उनीहरूले सामान्य मास्क बिनै काम गर्नुपरेको अनुभव सुनाउँछन् ।

यही धुलो र धुँवाको प्रवाह नगरी सवारी व्यवस्थापनमा खटिइनु पर्ने भएकाले आफूहरूमा टाउको दुख्ने, खोकी लाग्ने, घाटी दुख्ने जस्ता समस्या देखिन थालेको उनीहरू बताउँछन् ।

‘हामी ८ घण्टा धुलोमै काम गर्न बाध्य छौं,’ कलंकीमा खटिएका एक ट्राफिक प्रहरीले भने, ‘धुलोमै काम गरिरहेका छौं । कार्यालयबाट दिएको मास्क च्यातिहाल्छ । यही सामान्य मास्कले काम चलाइरहेका छौं ।’

धुलो धुँवामै काम गर्नुपर्ने भएपनि सुरक्षाको लागि उनीहरूले उचित सुरक्षा सामग्री समेत नपाएको गुनासो गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाको एमआइ रुमका अनुसार स्वास्थ्य चेकअप गराउने ट्राफिक प्रहरीमध्ये ७५ प्रतिशतमा घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, एलर्जी र स्वासप्रश्वास जस्ता समस्याबाट ग्रसित छन् ।

एमआई रुममा २०७४ वैैशाखदेखि असोजसम्म १ हजार १ सय ५ जनाले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ७५ प्रतिशतमा घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, एलर्जी, आँखा पाक्ने जस्ता समस्या देखिएको छ ।

ट्राफिक प्रहरी काठमाडौं उपत्यकामा धुलोधुँवा, घामपानी नभनी ८ घण्टा सवारी व्यवस्थापनमा लाग्ने गरेका छन् । उनीहरुले त्यो धुँवा र धुलोलाई पनि आफ्नो पेशागत कर्तव्य र धर्म सम्झेर पचाइरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा १४ सय ट्राफिक प्रहरी छन् । जसमा डेढ सय महिला ट्राफिक प्रहरी छन् ।

महानगरीय प्रहरीले काठमाडौंको धुँवा धुलोबाट केही हदसम्म जोगिन भन्दै ट्राफिक प्रहरीलाई वर्षमा २ पटक मास्क वितरण गर्ने गरेको छ । ट्राफिक प्रहरीमा आखाँको समस्या बढ्न थालेपछि महानगरले चस्माको समेत माग गरेको छ ।

‘एक जना ट्राफिकलाई दुई वटा मास्क वितरण गरेका छौ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने, ‘चस्माको पनि माग गरेका छौं । आगामी आर्थिक वर्षभित्र उपलब्ध गराउने प्रयास भैरहेको छ ।’

‘गाडीको धुँवा र विस्तार भैरहेको सडक, मेलम्ची खानेपानी जस्ता विकास निर्माणका कार्यले निस्कासन गरेको धुलोको प्रत्यक्ष असर ट्राफिक प्रहरीको स्वास्थ्यमा परेको छ,’ उनले भने, ‘धुँवाधुलोका कारण प्रत्येक महिना २ सय जना ट्राफिक प्रहरी रुघाखोकी, आँखा पाक्ने, टाउको दुख्ने समस्याबाट ग्रसित छन् ।’

धुँवाधुलोका कारण ट्राफिक प्रहरी काठमाडौंमा बस्न नमान्ने गरेको समेत उनले बताए । सडक प्रयोगकर्तामा सडक संस्कृति र सडक अनुशासन नभएसम्म धुँवा, धुलो, ध्वनी प्रदूषणमा कमी नआउने उनी बताउँछन् । समस्या समाधानका लागि सडक प्रयोगकर्तामा सडक अनुशासन र सडक संस्कृति कायम हुनुपर्ने प्रहरी उपरीक्षक मरासिनी बताउँछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली अहिले विकास निर्माणका कार्य तीव्र गतिमा भइहेकाले प्रदूषण बढेको बताउँछन् ।

‘देश अहिले विकास निर्माणको क्रममा छ । जसले धुँवाधुलोको असर प्रत्यक्ष रुपमा ट्राफिक प्रहरीलाई गरेको छ,’ उनले भने, ‘अहिले दुःखको दिन भएपनि भोलि सुखको दिन पनि आउने आशा गरेका छौं ।’ सरकारले स्वास्थ्य सम्बन्धी, बीमा तथा अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् ।

गृहमन्त्रालयले विसं २०७४ जेठमा ट्राफिक प्रहरीले १५ प्रतिशत कमिशन लिने प्रक्रिया हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।

गृहले तल्लो तहका ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशत र माथिल्लो तहका कर्मचारीलाई तलबको २५ प्रतिशत अतिरिक्त भत्ता माग गर्दै अर्थ मन्त्रालयमा पठाएको थियो । तर, अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा ट्राफिक प्रहरीको माग अट्न सकेन ।

तस्वीरहरू : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार