Saturday, October 26, 2024

डुबान समस्या समाधान गर्न संयुक्त अनुगमनको तयारी

काठमाडौँ – भारतले बनाएका विभिन्न संरचनाका कारण नेपाली भूभाग डुबानमा परेको सम्बन्धमा यथार्थ पत्ता लगाउन तथा समस्या समाधानको लागि संयुक्त अनुगनमा जाने तयारी गरिएको छ ।

यो विषयमा छलफल गर्न नेपाल र भारतको संयुक्त टोली गठन भएको र प्रभावित क्षेत्रमा अनुगमन गरेर समस्याको समाधान खोज्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल बताउँछन् । हाकाहाकीसँग कुरा गर्दै उनले भने, ‘संयुक्त टोलीले निरीक्षण गर्ने भन्ने तय भएको छ तर कहिले गर्ने भन्ने बारेमा मैले पनि जानकारी पाएको छैन् ।’

विगत लामो सयमदेखि वर्षायाममा तराईका भूभागहरू डुबानमा पर्दै आएका छन् । डुबानबाट लाखौँको क्षति व्यहोर्न बाध्य छन् नेपालीहरू । विपद् व्यवस्थापनसँग सम्बन्धित निकायले आफ्नो काम राम्रोसँग नगरिदिनु र भारतीय पक्षले आफ्नो भूमिमा विभिन्न बाँध बाँध्नु डुबानको मुख्य कारण बन्दै आएको छ ।

भारतले आफ्नोतिर बनाएका विभिन्न संरचना तथा सडकका कारण नेपाली भूभाग डुबान पर्ने गरेको छ ।

केही वर्षयता यस विषयमा दुई देशका उच्च अधिकारीहरुको बीचमा निरन्तर रुपमा वार्ता भएपनि कुनै समाधान भएको छैन् । हरेक प्रधानमन्त्रीको भारत भ्रमणको समयमा यो विषय उठ्छ तर त्यतिकै सेलाउने गर्दछ । गत वर्ष भारत भ्रमणमा गएका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहारका मुख्यमन्त्रीसँग पनि यो विषयमा कुराकानी गरेका थिए।

भारतले डुवान हुने सम्भावित स्थानहरूको विवरण मागे अनुसार नेपालले बुझाइसकेको छ । संयुक्त अनगुगमनमा जाने नयाँ विषय होइन । तर वर्तमान सरकार बनेपछि यसले तीव्रता पाउने सरकारी अधिकारीको भनाई छ । भारतले भने बाढीको कारणले नेपालले भन्दा आफूले बढी दुःख पाएको बताउँदै आएको छ ।

भारतले कोसी, गण्डकी, कर्णाली महाकाली तथा अन्य साना नदीहरूको पानी तटबन्ध बनाएर थुनिने गरेको छ । यसले प्रत्यक्ष रुपमा नेपाली भूभाग डुबानको जोखिममा रहँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार