Saturday, October 26, 2024

ठेकेदारको लापरवाहीले तारकेश्वर नगरपालिकामा सडकको बेहाल

काठमाडौँ – देशभर असारे विकासले तीव्रता पाइरहेको बेलामा काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकहरू भने दुरावस्थामा रहेको छ।

तारकेश्वर नगरपालिका प्रवेश गर्नासाथ सडकमा भएको हिलोले आवतजावत गर्न निकै नै कठिन हुने गरेको छ । एक दिन पानी पर्यो भने हप्तौँसम्म हिलोले बाटो हिँडिसाध्ये हुँदैन्। नेपालटारबाट डाडाँगाउँ जाने सडक विस्तार गर्न भन्दै सडक खनिए पनि त्यसलाई व्यवस्थित नगरी त्यतिकै छोड्नाले सर्वसाधारणलाई बाटो हिड्न निकै सास्ती भएको छ।

सडकको कारण निकै दुःख पाएको बताउँछन् स्थानीय गोकर्ण न्यौपाने। उनी भन्छन्, ‘रत्नपार्क सुनधारा अथवा यहाँबाट अन्त कतै जानुपर्यो भने यही बाटो हुँदै जाने हो, तर बाटोको अवस्था यस्तो छ । नगरपालिकाले केही गरेको छैन् । बाटो राम्रो बनाउने भनेर लागेका थिए झनै बिगारिदिए।’

सरकारले बाटो बनाउने भनेर लागेपनि ठेकेदार र सम्बन्धित निकायको लापरवाहीले गर्दा सर्वसाधारणले दुःख पाएको बताउँछिन्, चितवन घर भइ तारकेश्वर बसोबास गर्दै आएकी शशी श्रेष्ठ । छुट्टाइएको बजेट मध्ये १० प्रतिशत बजेट मात्र विकासमा प्रयोग हुने भएकाले निर्माण कार्यमा ढिलाई भएको उनको धारणा छ । उनी भन्छिन्, ‘यो बाटो बनाउन लागेको महिनौँ भइसक्यो ठेकेदारले सरकारले दिएको बजेटबाट आधा पनि खर्च गर्दैन सबै कमअसल सामाग्रीको प्रयोग गर्छ अनि बाटो दुई दिनमै बिग्रन्छ।’

तारकेश्वरकै अर्को क्षेत्र जोड्ने बाटोको हालत पनि त्यस्तै छ । शेषमतिबाट जरंखु पुग्ने बाटोको पनि अवस्था नाजुक छ । हिलो र खाल्डोले भरीपूर्ण सडक कहाँ छ भन्ने हो भने यो सडकखण्डको उदाहरण दिन सकिन्छ । घाम लागे धूलो र पानी परे हिलाम्मे हुने यो सडकको विशेषता नै बनेको छ । यो सडक पनि विस्तार गर्न भनि लागिएको छ तर विस्तारले उल्टो सर्वसाधारणको दैनिकीमा सकस बनाएको छ ।

धूलो र हिलोले गर्दा व्यवसाय गर्न पनि अप्ठ्यारो परेको बताउँछन्, शान्तिटोलमा फलफूल पसल गर्दै आएका अशोक भट्ट । दिनभर पसलमा बस्नुपर्छ, गाडी गुडेसँगै धूलो सबै पसलभित्र छिर्छ, हाम्रो स्वास्थ्यमा त असर पार्छ नै फलफूल पनि अशुद्ध बनाइदिन्छ। यस्तो पाराले कहिले बन्छ देश,’ स्वास्थ्य र देशको चिन्ता गर्दै उनले भने, हामी दैनिक रुपमा यहीँ बस्नुपर्छ यसरी धूलो खाँदा खाँदा कमाएको पैसा सबै सकिनेगरी अस्पतालमा भर्ना भइएला भन्ने डर पो छ त।’

पानी परेपछि हिलाम्मे हुने सडकले गर्दा सवारीसाधनलाई समेत समस्या हुने बताउँछन् सोही रुटका मिनिबस चालक देबराज गजुरेल, ‘पानी परेपछि नभएको ठाउँमा पनि खाल्डा खुल्डी बन्छ, त्यसपछि गाडी जोगाएर चलाउनै गाह्रो हुन्छ, अहिलेको जस्तो प्रतिष्पर्धाको बेलामा गाडी राम्रोसँग गुडाउन सकिएन भने कमाउननै गाह्रो हुन्छ । सरकारले सडक बनाउने भनेर झन बिगारिदियो नगरपालिकाले पनि केही गरेको देखिएन्’ सरकार र नगरपालिकाप्रति गुनासो पोख्दै उनले भने।तर नगरपालिका भने निर्माण कार्य अपेक्षित भन्दा तीव्र गतिमा अगाडि बढिरहेको बताउँछ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तोकिएको भन्दा छिटो छिटो काम भइरहेको बताउँछन् । ‘शेषमति पुलबाट जरंखुसम्मको बाटो निर्माणका लागि २२ महिनाको समय तोकिएको छ। त्यो समयलाई मध्येनजर गर्ने हो भने निकै नै छिटो छिटो काम भइरहेको छ’ उनले भने । सडक विस्तारले आवत जावतमा केही समस्या परेको स्वीकार्दै अझै एक वर्ष कुर्न सर्वसाधारणसँग आग्रह गर्छन उनी । ‘हामीले पनि बुझेका छौँ, बाटो निर्माण गर्दा सर्वसाधारणलाई केही असहज भएको छ, तर काम छिटो भन्दा छिटो भइरहेको छ अब एक वर्ष चैँ कुरिदिनुभयो भने त्यसपछि कुनै समस्या रहँदैन’ उनले भने ।

नेपालटार–डाडाँगाउँ सडकको विषयमा भने के गर्ने भनेर छलफल भइरहेको बताउँछन् उनी । ‘त्यहाँमात्र होइन अन्य स्थानमा पनि बाटो बिग्रेको छ हामी सबैठाउँको बाटो मर्मतका लागि छलफल गरिरहेका छौँ।’ उनले भने, ‘ अब वर्षायाम पनि सुरु भयो यसले गर्दा विकास निर्माणमा अलिक समस्या पर्छ, सबैले सहयोग गरिदिनुहुन अनुरोध गर्छु।’

नेपालटार–जरंखु सडकको छेवैमा रहेको शेषमति नदीको हालत पनि त्यस्तै नै छ । खोलाको छेवैमा सडकबाटो भएकाले त्यही बाटो हिड्नुपर्ने बाध्यता त छँदैछ त्यसमाथि पनि खोलाबाट आएको दुर्गन्धले नाक नथुनी हिड्न नसकिने अवस्था छ । वरपरको सम्पूर्ण फोहोर र ढल खोलामा नै मिसाएकाले यस्तो भएको बताउँछन्, तारकेश्वर, शान्तिटोलका पुर्षोत्तम गजुरेल । ‘सबैले फोहोर यही फाल्छन्, ढल खोलामा नै मिसाएको छ अनि नगन्हाएर के होस् त, यसको सफा गर्न कसैको पनि ध्यान गएको छैन्, यसले गर्दा बाटोमा हिड्दा पनि नाक थुनेर हिड्नु परिरहेको छ।’ उनले भने।

खोलाको दुर्गन्धको विषयमा मेयर बोहारा भने अनभिज्ञ जस्तै देखिए । ‘हामीले अस्ती बर्ड फ्लू संक्रमित हाँसहरू नष्ट गरेका थियौँ, खोलको किनारामा टहरा हालेर पालिएका ति हाँसहरूलाई राम्रोसँग सफा गरेका थियौँ, फोहोर त नहुनु पर्ने हो’ उनले अनभिज्ञ हुँदै भने, ‘त्यहाँका पीडितहरूलाई हामीले मुआब्जा दिएका छौँ, सफा पनि गरेको नै हो, यदी सफा भएको रहेनछ भने एक हप्ता भित्रमा सफा गरिन्छ।’

खोलामा मिसाएका ढल र अन्य फाहोरको विषयमा भने सचेतनामूलक कार्यक्रम नै गर्न लागिएको उनको भनाई छ । ‘वातावरणीय प्रदूषण कम गर्न हामीले फोहोरबाट कम्पोस्ट मल बनाउन तालिम दिँदै छौँ । तर पनि हामीले सरसफाइमा भने सोचे जस्तो काम गर्न सकिरहेका छैनौँ, हाम्रो योजना अनुसार वातावरणीय प्रदूषण कम गर्ने कार्यहरूको तयारीमा छौँ,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार