Saturday, October 26, 2024

व्यापक आलोचनापछि लोगो परिवर्तन गर्दै पर्यटन बोर्ड

काठमाडौँ— नेपाल पर्यटन बोर्डले शुुक्रबार सार्वजनिक गरेको ‘नेपाल भम्रण वर्ष सन् २०२०’ को लोगोको विषयलाई लिएर व्याापक आलोचना भएपछि बोर्ड त्यसमा केही परिवर्तन गर्ने निष्कर्षमा पुगेको छ ।

बोर्डले आएका सुझावहरुका आधारमा केही परिवर्तन हुने तर पुरै परिवर्तन भने गर्न नसकिने जनाएको छ । लोगो सार्वजनिक गरेलगतै लोगोको विषयमा विशेषगरी सामाजिक सञ्जालमा त्यसको व्यापक आलोचना भइरहेको छ ।

‘लोगो सार्वजनिक भएपछि धेरैको फिडव्याक आइरहेको छ । सकेसम्म राम्रो होस् भन्ने हामी चाहान्छौं,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले भने ।

कार्यकारी अधिकृत जोशीले लोगोमा मुख्य परिवर्तन नहुँने बताएका छन् । ‘लोगोमा लगाइएका सानो–सानो रङ्ग मात्र परिवर्तन गर्न सकिन्छ । तर मुख्य भाग परिवर्तन हुँदैन,’उनले भने ‘लोगोबारे आएको प्रतिक्रियाहरु मुल समितिलाई बुझाउँछौ त्यसपछि परिवर्तन गर्ने नगर्र्ने निर्णय हुन्छ ।’

पर्यटनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा गठन गरिएको मूल समितिले वैशाख २५ गते उत्कृष्ट ५ लोगोमध्येबाट काठमाडौं बौद्धका ग्राफिक डिजाइनर उद्धव रिमालले बनाएको लोगोलाई छानेको थियो ।

भम्रण वर्षका लागि नेपाल पर्यटन बोर्डले फेसबुकमार्फत लोगोका लागि सूचना आव्हान गरेको थियो । फेसबुकमार्फत १ सय ४५ वटा लोगो प्राप्त भएको पर्यटन बोर्डले जनाएको छ । तीमध्येबाट उद्धव रिमालले पठाएको लोगो बोर्डले वैशाख २५ गते उत्कृष्ट घोषणा गरेको थियो ।

पर्यटन बोर्डले उत्कृष्ट लोगोका लागि १ लाख रुपैयाँ पुरस्कार तोकिएको थियो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को घोषण गरेको हो ।

सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण वर्ष हो । यसअघि सन् १९९८ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट ‘नेपाल –९८’ र २०११ मा १० लाख पर्यटक भित्र्र्याउने लक्ष्य सहित ’नेपाल टुरिजम इयर’ मनाइएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार