Sunday, November 24, 2024

पाँचखालका इँटा उद्योगलाई नियमन गर्न बन्यो कार्यदल

काठमाडौं–काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल उपत्यकामा सञ्चालित इँटा उद्योगलाई नियमन गर्न कार्यदल गठन गरिएको छ।

पाँचखालका विभिन्न वडामा सञ्चालित सातवटा इँटा उद्योग र एउटा प्लाइ उद्योगलाई नियमन गर्न नगरपालिकाका मेयर महेश खरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।

कार्यदलमा नगरपालिकाको कार्यपालिकाकाे वन, वातावरण संयोजक एवं वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण सापकोटा, उद्योग रहेका वडाहरू वडा नम्बर ७ का वडाध्यक्ष पुस्कर ढकाल, ८ का अध्यक्ष सन्जय तामाङ, ९ का अध्यक्ष किरण श्रेष्ठ र १२ का अध्यक्ष गोपाद दनुवार र नगरपालिकाका प्रशासकीय अधिकृत सदस्य छन्।

कार्यदलका सदस्य एवं वडा नम्बर ७ का अध्यक्ष ढकालका अनुसार कार्यदलले इँटा उद्योगको स्थलगत अनुगमन गर्नेछ। साथै, उद्योग मन्त्रालयले हालै जारी गरेको नयाँ निर्देशिकाअनुसार इँटा उद्योगलाई वातावरणमैत्री बनाउनतर्फ कार्यदलले काम गर्ने उनले बताए। ‘उद्योग सञ्चालनको अनुमति घरेलु तथा साना उद्योग कार्यालयले दिएको हुन्छ। हामीले सीधैं बन्द गर्न मिल्दैन,’ उनले भने, ‘अब वातावरणमैत्री बनाउन तथा मापदण्डविपरीत सञ्चालित उद्योगलाई कसरी नियम गर्न सकिन्छ भनेर अध्ययन हुन्छ।’

वडा नम्बर ७ मा हनुमान र श्ववइनेश्वर इँटा उद्योगसँगै हिमालयन मल्टी प्लाइ उद्योग सञ्चालनमा छन्। यसैगरी, वडा नम्बर ८ मा नवदुर्गा र उपकार इँटा उद्योग, वडा नम्बर १२ मा पलाञ्चोक र जयभीमसेन इँटा उद्योग तथा वडा नम्बर ९ मा चाइनिज इँटा उद्योग छन्।

तरकारीका लागि प्रख्यात पाँचखाललाई नगरपालिकाले ‘पाँचखाल कृषि सहर’ घोषणा गरेको छ। तर, पछिल्लो समय इँटा उद्योगका कारण पाँचखाल प्रदूषित बन्न थालेपछि पाँचखालका स्थानीय बासिन्दा इँटा उद्याेग बन्नद गर्नुपर्ने माग गर्दै अाएका छन्। साेही क्रममा ‘अव्यवस्थित तथा मापदण्डविपरीत सञ्चालित, मानव स्वास्थ्यमा दूरगामी तथा प्रत्यक्ष असर पार्ने इँटा भट्टा तथा प्लाइउड कारखाना हटाउने अभियान’ थालेका उनीहरूले १९ जेठमा सार्वजनिक सुनुवाइ गरेका थिए।

यो पनि पढ्नुस्
वस्तीमा इँटा भट्टाको धुँवाको मुस्लो, जहिल्यै तुँवालो

ताजा समाचार

सम्बन्धित समाचार