Sunday, November 9, 2025

वातावरण दिवस : प्रधानमन्त्रीले रोपे सिंहदरबारमा विरुवा, मन्त्री र सांसदले टिपे सडकको फोहोर

काठमाडौँ – आज विश्व वातावरण दिवस नेपालभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिँदै देशभर एक लाख फलफूलको विरुवा रोप्ने घोषणा गरे, साथै उनले ति विरुवाहरूलाई हुर्काउने अनि वातावरणलाई स्वच्छ पार्ने उद्देश्य रहेको बताए।

यसका साथै देशैभर विभिन्न स्थानमा वृक्षरोपणलगायतका विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ ।

सिंहदरबारमा रोपियो लिची र एबोकाडो– प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेबमोजिम सिंहदरबारभित्र आफूलाई मनपर्ने फल लिची र एबोकाडो रोपेका छन् । फलजति जनतालाई र फूलजति देशलाई भन्दै ओलीले सिंहदरबारको खाली जमिनमा लिची र एबोकाडो रोपे।

मन्त्री र सांसदले टिपे सडकको फोहोर – प्रदेश नम्बर तीनका उद्योग तथा वातावरण मन्त्री अरुण नेपाल, उद्योग पर्यटन वन तथा वातावरण समितिको सभापति रमा आलेमगर, प्रदेशका सांसद्, मकवानपुरका प्रमुख जिल्ला अधिकारीलगायतको समूहले सडकका प्लास्टिक, बोतललगायतका फोहोर उठाए ।

एक राष्ट्रसेवक एक बिरुवा रोपण– भक्तपुरमा एक राष्ट्र सेवकले एक फलफूलको बिरुवा रोप्ने, खुला दिसामुक्त क्षेत्र घोषणापछि पूर्ण सरसफाइ कार्यक्रम अनुगमन गर्ने, जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिकीकरण गर्ने र पखाला तथा पानीजन्य रोगको पूर्वतयारी कार्यक्रम एक सातासम्म सञ्चालन गर्ने भएको छ । भक्तपुरमा जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरले उक्त कार्यको सुरुवात गरेको हो।

त्यस्तै जिल्लास्थित सम्पूर्ण कार्यालयमा वृक्षरोपण गरिएको छ । जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको फलफूल र अन्य बिरुवा सरकारी कार्यालयमा प्रत्येक कर्मचारीले रोपेका छन्।

त्यसैगरी सूर्यविनायक नगरपालिकाद्वारा सूर्यविनायक जंगल र अन्य क्षेत्रमा वृक्षरोपण गरिएको छ।

साथै कमेरोटारको जग्गा एकीकरण अयोजनाभित्रको हरियाली क्षेत्रको ३९ रोपनीमध्ये ५ रोपनीमा कैलाशवार्चा टोलविकास संस्थाको अगुवाईमा वृक्षरोपण गरियो।

पहिलो पटक रोपियो अंगुरको बिरुवा – रसुवामा पहिलो पटक अंगुरको विरुवा रोपियो। जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो। जिल्लाका अन्य कार्यालयमा समेत बिरुवा रोपण गरिएको छ ।

९०० विरुवा रोपण – सुनसरीको विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहद्वारा आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरियो।

यस्तै धरान, इनरुवा, दुहबी, बराह क्षेत्रलगायत स्थानमा पनि बिरुवा रोपणका साथै सरसफाइ कार्यक्रम सञ्चालन गरियो।

३० वटा स्याउ रोपियो – विश्व वातावरण दिवसको उपलक्ष्यमा हुम्लामा जिल्ला कृषि विकास कार्यालयको प्रांगणमा ३० वटा स्याउका बोट रोपियो।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सम्पूर्ण कार्यालयका प्रमुख नागरिक समाज गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष समेतको उपस्थितिमा स्याउको बोट रोपे।

ताजा समाचार

सम्बन्धित समाचार