आजका दैनिक पत्रपत्रिकाले फेवा अतिक्रमणको छानबिन, बीपी राजमार्गमा ठूला सवारी चलाउनमा रोक, खानेपानीको चरम अभाव लगायतका विषयहरूलाई प्रकाशित गरेको छ ।
कान्तिपुर
‘बीपी राजमार्गमा ठूला सवारी नचलाऊ’ शिर्षकमा कान्तिपुर दैनिकले समाचार छापेको छ । सर्वोच्च अदालतले बनेपा –बर्दिवासको बीपी राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उक्त राजमार्गमा ३२ सिटे गाडी र १६ टनभन्दा बढी तौल भएका सवारीसाधन चलाउन दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको समाचारमा उल्लेख छ ।
त्यस्नै कान्तिपुरमा फेवा अतिक्रमणको छानबिन शिर्षकमा पनि समाचार छापिएको छ । मापदण्ड मिचेर फेवा तालमा निर्माण गरिएका संरचनाको नापजाँच सुरु गरिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार सरकारले गठन गरेको छानबिन समितिले सोमबारदेखि काम थालेको छ । पर्यटनविद् कर्ण शाक्यको होटल वाटर फ्रन्टको संरचनाबाट नापजाँच सुरु भएको समाचारमा उल्लेख छ ।
नागरिक
नागरिक दैनिकले पनि फेवा अतिक्रमणकाे छानबिनकाे समाचारलार्इ प्राथमिकताका साथ प्रकाशित गरेकाे छ। हाेटल वाटर फ्रन्टकाे नापजाँच सुरू शिर्षकमा छापिएकाे समाचारमा लेखिएकाे छ, फेवाताल किनारमा पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेकाे हाेटल वाटर फ्रन्टबारे सरकारले गठन गरेकाे छानबिन समितिले नापजाँच सुरू गरेकाे छ । समिति प्राविधिकसहित पाेखरा पुगेर शाक्यकाे हाेटलबारे साेमबार अध्ययन सुरू गरेकाे हाे । यसअघि समितिले जिल्ला मालपाेत तथा नापी कार्यालयका प्रतिनिधिसँग छलफल गरेकाे थियाे ।
राजधानी
राजधानी दैनिकले पहिलो पृष्ठमा ‘धुलो उठाउँदै विमान आएपछि’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । विमानले इलाममा सफल परीक्षण उडान भरेपछि इलामवासीमा खुसी छाएको छ । इलाम नगरपालिका ९ की विष्णुमाया चौहान घरमाथि फन्को मारेर विमान अवतरण हुँदा दंग परिन् । विमानस्थलका लागि जग्गादान नै गरेकी चौहान इलाममा विमान अवतरण गर्ला भन्ने विश्वासमा थिइनन् । प्रफुल्लित चौहानले भनिन्, प्लेन चढ्ने रहर पूरा नहोला भन्ने पिर थियो। विमान सफल अवतरण भयो । अब केही समयमा नियमित उडानमा चढ्ने आशा बढेकाे समाचारमा उल्लेख छ ।
त्यस्तै राजधानीमा नै ‘प्रधानमन्त्रीकै गाडी प्रदूषित भए छाड्दििनँ’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषित गाडी हटाएरै छोड्ने बताएका छन् । राजधानीमा सोमबार भएको कार्यक्रममा उनले भने, भोलिाबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, कार्यान्वयन गरेरै छाड्छौँ, प्रदूषित गाडीहरू मन्त्रीहरू वा प्रधानमन्त्री जोसुकैको भएपनि छाड्दिनँ, समाचारमा उल्लेख छ ।
नेपाल समाचारपत्र
नेपाल समाचारपत्रले हप्ता दिनदेखि पानीको चरम अभाव रहेको समाचार प्रकाशित गरेको छ । सुख्खायाम सुरु भएसँगै डोटीको दिपायल तथा सिलगढीमा खाने पानीको चरम समस्या उत्पन्न भएको छ । खानेपानीको धारामा करिब हप्ता दिनयता देखि पानी आउन बन्द भएपछि यहाँ खानेपानीको समस्या उत्पन्न भएको समाचारमा छापिएको छ ।