Wednesday, April 23, 2025

मनसुनको उत्तरार्धमा ‘एलिनो’ को प्रभाव पर्नसक्ने

काठमाडौं– यसवर्षको मनसुनको उत्तरार्धमा ‘एलिनो’ को प्रभाव पर्न सक्ने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप) ले गत १३ अप्रिलमा मनसुन सम्बन्धि दृष्टिकोण तयार पार्दै दक्षिण एसियासहित नेपालको वर्षा औसतको हाराहारीमा रहने ठहर गरेपनि नेपालमा मनसुनको उत्तर्राधमा कतै बढी पानी पर्ने त सुख्खापन महशुस हुनसक्नेतर्फ मौसमविद्हरूले सचेत गराएका हुन्।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार ‘एलिनो’ ले भू–मध्य रेखास्थित प्रशान्त महासागरको पू्र्वी क्षेत्रको पानी औसत भन्दा बढी तात्ने प्रक्रियालाई जनाउँछ।

‘यसरी पानी तात्ने बेला विश्वव्यापी रुपमा वायुमण्डलीय चापमान फेरबदल हुन्छ,’ सन् २०१७ को मनसुनको समीक्षा र सन् २०१८ को मनसुनको पूर्वानुमान गर्न सोमबार राधानीमा आयोजित सातौं राष्ट्रिय मनसुन फोरममा वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘यस्तो हुँदा कतै अस्वाभाविक रुपमा हुरी बतास चल्ने र बढी पानी पर्ने हुन्छ भने कतै वर्षामा ह्रास आई सुख्खापन महशुस हुने गर्छ।’

प्रशान्त महासागर तात्ने र तातो हावा र पानीले मनसुन प्रक्रियामा पार्ने प्रभाव नै एलिनो हो। तर, ‘लानिना’ देखिँदा नेपालमा मनसुनी वर्षा राम्रो हुन्छ। प्रशान्त महासागरको पूर्व तथा मध्यभागको पानीको सतहको तापमान औसतभन्दा चिसो हुने बेला दक्षिण एसियामा मनसुन राम्रो हुन्छ। जुन प्राकृतिक प्रक्रियालाई लानिना भनिन्छ।

मौसमविद्हरू पछिल्लोसमय मनसुनका बेला पनि कहिले वर्षा नै नहुने त कहिले भारी वर्षा हुने क्रम बढ्नुलाई एलिनोेलाई जिम्मेवार ठान्छन। जसका कारण वर्षा कम हुँदा आकाशेपानीको भरमा रोपाइँ हुने खेत बाँझिने खतरा पनि रहन्छ।

सन् २०१७ अगस्ट १० देखि १७ सम्म चुरे तथा तराई क्षेत्रमा भारी वर्षा हुँदा बाढीपहिरो आएपछि एक सय ६२ जनाको मृत्यु भएको थियो। अगस्ट १२ र १३ तारिखमा हेटौडा क्षेत्रमा २४ घण्टामा ५ सय ३ मिलिमिटरसम्म वर्षा भएको थियो।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माका अनुसार यसवर्षको मनसुन अबको एक हप्ताभित्र नेपाल प्रवेश गर्नेछ। भारतको केरला तटीय क्षेत्रमा मे अन्तिमतिर मनसुन प्रवेश गरिसकेकाले अबको एक हप्ताभित्र नेपालको ताप्लेजुङ पुगेपछि देशभर फलनेछ। त्यसपछि मुलुकभर मनसुनी वर्षा हुने बताउँदै महानिर्देशक शर्मा भन्छन्, ‘किसानलाई खुसीको खबर हुन्छ। तर, विपदको चिन्ता अर्काेतिर रहन्छ।’

सामान्यतया नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन रहने अनुमान गरिन्छ। गत वर्ष नेपालमा मनसुन जुन १२ मा भित्रिएर अक्टोबर १६ सम्म रहेको थियो। योे समयमा वार्षिक वर्षाको ८ सय ५ वर्षा अर्थात ८० प्रतिशत वर्षा हुन्छ।

ताजा समाचार

सम्बन्धित समाचार