Wednesday, April 23, 2025

चक्रपथ : साइकल लेनको योजना कहाँ हरायो ?

काठमाडौं – आइतबार प्रथम विश्व साइकल दिवस मनाइयो। साइकल दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा साइकल ‘ट्रयाक’ बनाउने घोषणा पनि गरे ।

साइकल यात्रीको सुरक्षा र सुविधालाई ध्यान दिँदै उनले महानगरमा साइकल ‘ट्रयाक’ निर्माण गर्ने बचन समेत दिन भ्याए। प्रधानमन्त्रीको घोषणाले धेरै साइकल प्रयोगकर्तालाई उत्साहित बनायो।

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनका कारण वायुप्रदूषण बढेको तथ्यतथ्यांक सार्वजनिक भइरहँदा साइकलप्रतिको मोह बढ्दै गएको पाइन्छ। साइकल प्रयोगको आवाज पनि उठिरहेको छ।

सन् २०१३ मा सुरु भएको काठमाडौं उपत्यकाको चक्रपथ सुधार परियोजनाले पनि चक्रपथमा साइकल लेन बनाउने घोषणा गरेको थियो।

१३ सेप्टेम्बर २०१३ मा नेपालका तत्कालीन उपराष्ट्रपति परमानन्द झा र चीनका  स्टेट काउन्सेलर याङ जेइचीले संयुक्त रुपमा उद्घाटन गरेको परियोजना अन्तर्गतको कलंकीदेखि बल्खुसम्म विस्तार भइसकेको छ। बल्खुदेखि कलंंकीसम्म कालोपत्रे बाँकी छ।

चक्रपथ सुधार योजनाका सूचना अधिकारी निरञ्जन शर्मा अर्यालका अनुसार कलंकीको अण्डरपास फिनिसङ र सडक कालोपत्रे बाहेकको अन्य सबै कार्य सम्पन्न भएको छ। त्यसपछि कलंकीदेखि कोटेश्वरसम्म अर्को चरणको कालोपत्रे हुनेछ।

कुल २७ किलोमिटर दूरीको चक्रपथलाई ८ लेनको बनाउने घोषणा गर्दा साइकल लेन पनि बनाउने भनिएको थियो। तीव्र र सामान्य गतिमा गुड्ने सवारी साधनका लागि फरक– फरक लेन छुट्याइयो। द्रूतमार्ग लेन (२ र २ लेनको आउने–जाने) र थप २–२ लेन सर्विस लेन रहेको छ।

चक्रपथको अन्तिम डिजाइनमा पनि साइकल लेन बनाउने उल्लेख भएपनि बीचमा नै यो योजना गायब भएको छ।

अर्याल काठमाडौँमा साइकल चलाउने धेरै नभएको र भौगोलिक बनावट पनि साइकल लेनको लागि उपयुक्त नभएकोले चक्रपथ विस्तार योजनाबाट साइकल लेन हटेको तर्क गर्छन।

चक्रपथ चीन सरकारको सहयोगमा सन् ७० को दशकमा निर्माण भएको थियो। स्तरोन्नतीका लागि सन् २०१२ डिसेम्बर १८ सहमति भएपछि अहिले विस्तारको काम भइरहेको छ।

चक्रपथ सुधार परियोजनाको अन्तिम मिति सन् २०१८ जुलाई ३१ सम्म तोकिएको छ। तर, चिनियाँ कम्पनीले आगामी डिसेम्बरसम्मको समय मागेको सूचना अधिकारी अर्यालले बताए।

ताजा समाचार

सम्बन्धित समाचार