Saturday, October 26, 2024

काठमाडौंमा कस्तो सडक राम्रो ?

काठमाडौं– काठमाडौं विविधताको सहर हो । माथि हिमाल,पहाड र तल उपत्यका । विश्व सम्पदाले भरिपूर्ण गजब राम्रो सहर छ । तर, काठमाडौँ सीमितताको पनि सहर हो । यहाँ जमिन सिमित छ, पानीका स्रोतहरु सिमित छन् र यहाँको हावा पनि सिमित छ ।

हामीले काठमाडौंको सीमिततालाई बुझेनौं । काठमाडौंको एउटा विशेषता भनेको यसको सीमितता हो । जस्तै यहाँ हावाको वहाव धेरै हुँदैन । करिब करिब १२/१ बजे तिर थानकोटबाट पश्चिममा वायु आउँछ र यहाँको प्रदूषणलाई पुर्वतिर लैजान्छ । भन्नुको अर्थ काठमाडौं उपत्यकाले दिनको एक चोटी सास फेर्छ भने जस्तै हो । त्यसैले अहिले साँझतिरको व्यस्त समयको प्रदूषण उपत्यका बाहिर जादैन । त्यो राती यहि बस्छ र बिहानतर्फ यहाँको वायु प्रदूषण धेरै हुन्छ–विशेषगरी जाडो मौसममा ।

अर्को विषेशता के छ भने वर्षामा यहाँको प्रदूषण स्वाट्ट घट्छ । किनभने पानी पर्दा यसले वायुमा भएको प्रदूषण फ्लस गरेर झार्छ । तर, दुभाग्र्य हामी कहाँ बर्खा भनेको वर्षको चार महिनामात्र हो । त्यो सीमिततामा बस्नु परेको छ । हाम्रा पुर्खाले यो सीमिततामा कसरी बाँच्ने भनेर सिकेका थिए र त्यसकै आधारमा परम्परागत सहरहरु डिजाइन गरिएको थियो । यो उपत्यकाका विविधताको सीमिततालाई पहिचान गरेर बाच्नु सिकेका थिए ।

त्यसैले हाम्रा परम्परागत सहरहरु थुम्को थुम्कोमा बनाइएकोे थिए र वरिपरीको जमिन कृषिको लागि छुट्टयाईएको हुन्थ्यो। जस्तै काठमाडौँको कोर एरिया जानको लागि बागमती वा विष्णुमति तिरबाट उकालो चढ्नु पर्छ र ललितपुर,पाटनजानका लागि हिमालय होटलबाट उकालो चढनुपर्छ । यसैगरी भक्तपुर, थिमी, कीर्तिपुरजानका लागि पनि उकालो चड्नुपर्छ– ठाडै छ । ठिमिको लागि झन् ठाडै छ । कीर्तिपुर झन् ठाडै छ । यी थुम्कोहरुमा मानव बस्ति गुचमुच्च हुन्थे । चोकहरुको वरिपरी लहरै घर हुन्थे । यी चोकहरुमा विभिन्न सामुदायिक क्रियाकलापहरु हुन्थे, बालबालिकाहरु खेल्थे र एक ठाउँ बाट अर्को ठाउँ जान पनि सबै भन्दा छोटो, सजिलो र सुरक्षित बाटो यी चोकहरु नै हुन्थे ।

चोक र बाटो एक अर्कोसँग जोडिएका हुन्थे । कतै घरको मुनीबाट निस्कने ठाउँ हुन्थ्यो । घर नीजि भएपनि त्यहाँ हिड्नको लागि सर्वजनिक ठाउँ दिएको हुन्थ्यो । यसले के देखाउँछ भने हाम्रा पराम्परागत सहर हिड्नेहरुलाई सजिलो हुने गरि बनाइएको थियो । तर पछि हामीले सडक थप्दै गयौं । हामीले गाडीहरुको आवश्यकता मात्र हेर्यौं र पैदल यात्रुहरुको आवश्यकतालाई वास्ता गरेनौं । यसरी हामीले पैदल यात्रुहरुको लागि बनाइएको सहरमा गाडी कुद्ने सडक थप्दै गयौं र संगसंगै धुँवा पनि थप्दै गयौं । अहिले आएर काठमाडौँमा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ संघले तोकेको मापदण्ड भन्दा ५ गुणा बढी छ । हामीले यहाँको प्राकृतिक सीमिततालाई बुझेनौं र यस अनुरुप सहरको विकास गरेनौं ।

त्यसैले काठमाडौँको मुख्य चुनौती भनेको यहाँको सिमितता बुझेर यहि सीमिततामा यहाँको विविधतालाई व्यवस्थापन गर्नु हो ।

सहरी सडक भनेको के हो ?

साधारणतय हामी कुनै गाडी अथवा व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा आवत–जावत गर्ने ठाउँलाई सडक भन्छौं । नेपाली भाषामा सहरी सडकका लागि छुट्टै शब्द मैले अहिलेसम्म भेटाएको छैन । सडकका हाम्रा विभिन्न शब्द छन् । बाटो,पथ,मार्ग,गल्लि इत्यादी ।

तर सहरी सडक भनेको आवत–जावत गर्ने ठाउँ मात्र होइन । सहरी सडक भनेको आवत–जावत गर्ने साधनहरुलाई विसौनी ठाउँ पनि हो । आवत–जावत गर्ने साधनहरु मात्र होईन मान्छे विसौनी ठाउँ पनि हो । हामी सवारीसाधनलाई पार्किङ गर्ने ठाउँ बनाउँछौं । तर बाटोमा हिड्ने मान्छेलाई आराम गर्ने ठाउँ बनाउँदैनौं । हाम्रा परम्परागत सहरमा त्यो बनाइएको थियो । ‘फल्चा’भन्ने हुथ्यो जहाँ बटुवाहरु आराम गर्थे ।

सडक खाने ठाउँ पनि हो, किनमेल गर्ने ठाउँ हो । साथै अन्य सानातिनो व्यापार गर्ने ठाउँ हो । जुत्ता पालिस गर्ने ठाउँ हो । तर सडकमा कस्तो खालको व्यापार गर्ने दिने र नदिने हामी प्रष्ट हुनु पर्छ ।

त्यसैगरि सहरी सडक साइकल सिक्ने ठाउँ हो । खेल्ने ठाउँ हो । अथवा पर्यटक आकर्षण गर्ने ठाउँ हो । कला देखाउने ठाउँ हो। जात्रापर्व मनाउने ठाउँ हो ।

समष्टिगत रुपमा भन्दा सहरी सडक त्योे ठाउँ हो जहाँ सहरलाई अनुभुती गर्न सकिन्छ । सहरीको जीवन अनुभव गर्न सक्छौं र त्यसबारे हामीले सिक्न सक्छौं । त्यसका विविध पक्षहरु नै सहरी सडकको विशेषता हो । जस्तै असनको रमाइलो पक्ष नै त्यहाँको बजार र त्यहाँ हुने चहलपहल हो ।

सहरी सडक के हो र यसको महत्व के हो भनेर बुझेपछि बल्ल अब हामीले काठमाडौंको सडक कसरी बनाउने भनेर सोच्नुपर्छ । त्यसका लागि पहिला काठमाडौंको सडक गाडि कुदाउनका लागि हो भन्ने सोचाइ हटाउनुपर्छ ।

काठमाडौंको सडक भनेको काठमाडौं अनुभव गर्न होे । गाडिवालाले मात्र अनुभव लिने होईन सबैले अनुभव लिने हो ।

त्यसैले सडकको डिजाइन गर्दा मोटर साईकल ,गाडि,साइकल,रिक्सा,ह्विलचियर,पैदल यात्रु सबैलाइ सहज हुने खालको हुनु पर्छ, सबैले सहरलाइ अनुभव गर्न सक्ने खालको हुनु पर्छ ।

काठमाडौँको बाटो कता लागिरहेको छ ?

अहिले पनि पुराना काठमाडौका सडकमा चोकहरु देखिन्छन् । धेरै विग्रेको छैन । केहि घरहरु फरक भए तर त्यो सडकमा क्यारेक्टर छ । रगं छ । जीवन्त छ । तर यी सडकहरुमा गाडी मोटरसाइकलको चाप बढ्न थाले पछि सडक पहिला जस्तो रहेन । त्यहाँको जीवन हराउंदै गइरहेको छ । सडक सुरक्षित पनि रहेन, विशेष गरि बालबालिका र बृद्धहरुको लागि ।

राणाकालमा काठमाडौं पुरानो सहरबाट काठमाडौं फैलिदै गयो । राणाहरुले भित्रि सहर भन्दा बाहिर ठाउँ–ठाउँमा आफ्ना दरबार बनाए । र, दरबारहरुलाई जोड्नका लागि चौडा सडकहरु बनाउन थाले । शुरुमा बगी जानका लागि अनि पछि गाडीहरु जानका लागि । ९० सालको भुकम्पपछि सडकहरु अझ अलि फराकिलो बन्न थाले । हिड्नका लागि भन्दा पनि गाडी र बग्गीहरुका लागि ठाउँहरु बढी दिइयो ।

विस्तारै काठमाडौँका सडक मानव केन्द्रितबाट गाडी केन्द्रित हुन थाल्यो रिंग रोड बन्न थाल्यो । हालका वर्षमा यो क्रम अझ तिब्र भएको छ । अहिले पनि सडकहरु चौडा बनाइदै छ तर गाडीहरुको लागि मात्र ।

काठमाडौं–भक्तपुर सडक २ लेनबाट ६ लेनको बनाइयो । तर, सबै लेन गाडीका लागि मात्र । न हिड्नलाई फुटपाथ छ न साइकल लेन छ, न बसका लागि बस लेन छ । भएका ट्रली बसका पोलहरु पनि उखलिदिए । वातावरमैत्री संरचना सबै आउट । यसको परिणामःसडकमा गाडीको चाप बढेको छ र सडक झन असुरक्षित भएको छ । यो सडक उद्घघाट्न गर्नु अघि नै यहाँ करिब एक दर्जन मानिसको मृत्यु भैसकेको थियो । दुर्घटना बढिरहेकोे छ । हामीले डिजाईन नै त्यसरी ग¥यौं ।

काठमाडौँका सडकमा ४० प्रतिशत यात्रा पैदल हुने गर्छन तर यहाँका सडकमा हुने दुर्घटनामा मर्नेहरु मध्ये ४० प्रतिशतभन्दा बढी पैदल यात्रुहरु हुने गर्छन्। त्यसको मतलब सबै भन्दा बढी सडक प्रयोग गर्ने यातायातका माध्यमको लागि नै हाम्रा सहरी सडक सुरक्षित भएनन् ।

यसको ताजा उदाहरण अहिले विस्तार गरिंदै गरेको चक्रपथ हो । यहाँ गाडीको लागि त ८ लेन बनाइयो तर हिड्नको लागि धेरै ठाउँमा फुटपाथ नै छैन। भएको ठाउँमा पनि फुटपाथको चौडाई पर्याप्त छैन् । केहि ठाउँमा ड्रेनको माथि फुटपाथ बनाइएको छ जसको सतह हिड्नको लागि उपयुक्त छैन । सहरी क्षेत्रमा ५० किलोमिटर प्रति घण्टाको स्पिडमा गाडी कुद्ने डिजाइनमा बाटो बनाइएको छ तर यहि बाटोमा हिड्ने पैदल यात्रु आवश्यकतालाई पटक्कै ध्यान दिईएको छैन ।

बाटो काट्न जेब्रा क्रस कतै छैन, ट्राफिक लाइट छैन, बाटो काट्दा बीचमा एक छिन रोक्न मिडियन छैन । ३ वटा आकासे पुल छन् तर ति पर्याप्त छैनन् । अध्ययनले के देखाउंछ भने बाटो काट्नको लागि मानिसहरु साधारणतया ३ मिनटसम्म दाँया वाँया हिड्ला तर त्यति समय भित्र बाटो काट्ने ठाउँ नभेट्टाए जोखिम मोलेर भए पनि बाटो काट्ने प्रयास गर्छन् ।

अध्यययनहरुले के पनि देखाउँछ भने धेरै जसो मानिस बाटो क्रस गर्ने बेला दुर्घटनाको शिकार भन्छन् । ललितपुर रिंगरोड बिएन्डबि अस्पताल अगाडि आकाशेपुलको सय मिटरको दूरीभित्रमात्रै कार्तिक यता, ४८ दुर्घटना, ८७ घाइते र ४ जनाको मृत्यु भएपछि ट्राफिकले ‘ब्ल्याकस्पट’ बोर्ड राखे । रिंग रोडतयार पनिभएको छैन तर मानिसहरु मर्नेे थालिसकेको छ । यसको मुख्य कारण यो बाटो गाडी केन्द्रित भयो मानव केन्द्रित भएन।

अबको बाटो कता ?

काठमाडौँका सडकहरु सुधार गर्ने सम्भावनाहरु छन्। यसको लागि सर्वप्रथम सडक र सहरी सडकका भिन्नताहरु बुझ्नु प¥यो र सहरी सडकका लागि सबै प्रयोगकर्ताहरुलाई हुनेछुट्टै मापदण्ड बनाउनु प¥यो । ह ाम्रो देशमा सडकहरु नेपाल सडक मापदण्ड, २०२७(तेस्रो संशोधन, २०७३) को आधारमा बनाइन्छन् । यो मापदण्डमा ४ प्रकारका सडक हुन्छन् भनिएको छ र यी मध्य एक सहरी सडक हो । नगरपालिका क्षेत्रमा भएका सडकलाई सहरी सडक भनिन्छ । तर नेपाल सडक मापदण्डमा सहरी सडकको लागि मापदण्ड छैन । यस्ता सडकलाई छुट्टै मापदण्ड चाहिन्छ भनिएको छ। तर अहिले सम्म यो मापदण्ड बनेको छैन ।अथवा देशका २९३ वटा नगरपालिकामा सडक बनाउनको लागि हामिसंग मापदण्ड नै छैन ।

तर गत वर्ष अमेरिकाको National Association of City Transport Officials (NACTO) & Gobal Designing Cities Initiatives ले ४० देशका ७० सहरहरुको अनुभवको आधारमा तयार गरिएको निर्देशिका न्यिदब िक्तचभभत म्भकष्नल न्गष्मभ नेपाल सरकारले अनुमोदन गरेको थियो । त्यसैले सहरी सडक सम्बन्धी नेपालको आफ्नो मापदण्ड नभएको बेला, यो निर्देशिका प्रयोग गर्न सकिन्छ। अथवा यो निर्देशिकाको आधारमा मापदण्ड तयार गर्न सकिन्छ ।

मुख्य कुरा सडक क्षेत्रमा कसलाई प्राथमिकता दिने त्यो बुझ्नु पर्यो । हाम्रा सडकमा पैदल यात्रु देखि साइकल, सार्वजनिक यातायात, निजि गाडी, ट्रकसम्मका बिभिन्न प्रकारका यातायातका माध्यम हुन्छन् । यी मध्य सबै भन्दा बढी संख्यामा र सबै भन्दा बढी संवेदनशील भनेको पैदल यात्रु नै हुन्छन् । साना बालबालिका देखि बृद्धहरु सम्म पनि पैदल नै हिड्ने गर्छन्। अन्य यातायातका माध्यम प्रयोग गर्नेहरु पनि कुनैन कुनै बेला हिड्ने गर्छन्।पैदल यात्रुको लागि संचना बनाउंदा धेरै ठाउँ वा धेरै खर्च आवश्यक पर्दैन ।त्यसैले सहरी सडकमा सबै भन्दा पहिलो प्राथमिकतामा पैदल यात्रु नै राख्नु पर्छ । यसको साथै वातावरणको लागि,जनस्वास्थको लागि,सामाजिक सद्भावको लागि, र अर्थ तन्त्रको लागि पैदल यात्रुलाइ प्राथमिकता दिनु आवश्यक छ। त्यस पछि प्राथमिकतामा साइकल यात्रु, सार्वजनिक यातायात र अन्तमा मात्र निजी गाडीहरु पर्छन् । ग्लोबल स्ट्रीट डिजाइन गाइडका अनुसार एउटा ३ मिटर सडकमा निजी गाडीले एक घण्टामा ६ सय देखि १६ सय व्यक्ति ओर्सान सक्छ भने साइकलले ६ हजार ५ सय देखि ७ हजार ५ सय सम्म व्यक्ति ओर्सान सक्छ । काठमाडौँमा सडकको लागि सिमित ठाउँ भएकोले निजी गाडीहरु भन्दा पनि पैदल यात्रु, साइकल र सार्वजनिक यातायातला प्राथमिकता दिनु आवश्यक छ ।

अहिले भएका सडकहरुमा पनि………….

फुटपाथ, साइकल लेन,बस लेन,अपांगमैत्री सडक,आराम गर्ने ठाउँ जेब्राव्रmसिंग,हरियाली बनाउन सकिन्छ । जस्तै अहिले बनिरहेको रिंग रोड मै पनि भएको संरचनामा खासै परिवर्तन नगरी हिड्नेहरुको लागि थप ठाउँ र बाटो काट्न सजिलो बनाउन सकिन्छ । साइडका २ लेनहरु गाडीलाई नदिएर साइकल लेन थप्न सकिन्छ र सार्वजनिक यातायातको लागि छुट्टै लेन राख्न सकिन्छ ।

अहिलेको मापदण्ड अनुसार एक लेन सडकको चौडाई ३/५ मिटर हुने गर्छ । तर सहरी सडकको लागि यति धेरै चौडाई चाहिंदैन । ग्लोबल स्ट्रीट डिजाइन गाइडका अनुसार मिश्रित ट्राफिक भएको ठाउँमा लेनको चौडाई ३ मिटर भन्दा बढी हुनु हुँदैन। ट्राफिक स्पिड ३० किमी र घण्टा भन्दा कम हुने ठाउँमा ३ मिटर भन्दा कम लेन चौडाई उपयुक्त हुन्छ । ठुल्ठुला ट्रकहरु मात्र गुड्ने सडकमा लेन चौडाई ३/३ मिटर सम्म हुन सक्छ। अध्ययनहरुको अनुसार कम लेन चौडाई भएका सडकमा कम सडक दुर्घटना हुनेगर्छ। त्यसैले रिंग रोडमा पनि लेनको चौडाई ३ मिटर वा बढीमा ३/३ मिटर बनाउने हो भने बीचमा मिडियन बनाउन ठाउँ पुग्छ । सहरका अन्य सडकहरुमा पनि लेनको चौडाई कम गरेर साइकल वा पैदल यात्रुको लागि केहि थप ठाउँ निकाल्न सकिन्छ ।

त्यसैले काठमाडौँमा कस्तो सडक राम्रो भन्ने प्रश्नको उत्तर खोज्न सहरी सडक के को लागि हो बुझ्नु पर्छ र मानवहरुको आवाश्यकताको आधारमा सडकहरु डिजाइन र व्यवस्थापन गर्नु पर्छ। यसो गर्दा सडक बढी सुरक्षित हुन्छ र मानिसहरुपनि खुशी हुन्छन्। “सम्बृद्ध नेपाल, सुखी नपाली” नारा सफल पार्न पनि गाडी केन्द्रित होइन मानव केन्द्रित यातायात प्राणाली तर्फ जानु आवशयक छ ।

ताजा समाचार

सम्बन्धित समाचार