काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा साइकल ट्रयाक निर्माण गर्ने बताएका छन्।
साइकल यात्रीको सुरक्षा र सुविधालाई ध्यान दिँदै उनले महानगरमा साइकल ट्रयाक निर्माण गर्ने वचन दिएका हुन्।
प्रथम विश्व साइकल दिवसको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले आरोग्य, खेलकूद र व्यायामका लागि संसारका सबैजसो भू–भागमा साइकल प्रभावकारी साधनका रुपमा लोकप्रिय रहँदै आएको बताए। वितेका दुई शताब्दीमा सरल, सर्वसुलभ, वातावरणमैत्री, प्रदूषण रहित र आवत–जावतको मितव्ययी साधनका रुपमा समेत यो झन्झन् लोकप्रिय हुँदै आएको प्रधानमन्त्रीले बताए।
साइकल दिवसको अवसरमा आज बसन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै उनले मानव जीवन साइकल चढे जस्तै भएको बताए।
गतिशिल मानव जीवनको प्रतिकको रुपमा चिनिएको साइकलको प्रयोगमा सबैलाई प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए। उनले प्रमुख सार्वजनिक यातयातका साधनको रुपमा विजुलीबाट चल्ने मनोरेलको सुरुवात गरिने पनि उल्लेख गरे।