Saturday, October 26, 2024

सरकारले ल्यायो मनसुन आपतकालिन कार्य योजना

काठमाडौं–वर्षातको समयमा पानीका कारणले उत्पन्न हुने प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्नका लागि सरकारले मनसुन आपतकालिन कार्य योजना ’२०७५ ल्याएको छ ।

हरेक वर्ष वर्षा याममा आउने बाढी र पहिरोका कारण सयौं मानिसहरूको मृत्यु हुने गरेको छ । गत वर्षको विध्वंसकारी बाढी पहिरोलाई मध्येनजर गर्दै यसपटक त्यस्ता प्रकोप न्यूनीकरणका लागि सरकारी अधिकारीहरुले पूर्व तयारीका कार्यहरू अगाडि बढाएका छन् ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यले मानवीय र भौतिक क्षति कसरी कम गर्न सकिन्छ भन्ने विषयमा काम भइरहेको बताउँछन् । ‘विपत आउनुपूर्व, विपतको समयमा र त्यसपछि कुन–कुन सरकारी निकायको के जिम्मेवारी हुने भन्ने तोकिएको कार्ययोजना तयार भएको छ,’ उनले भने ।

जसमा सुरक्षा निकाय, स्थानीय सरकार, प्रदेश सरकार र अन्य निकायहरूको निश्चित क्षेत्र र जिम्मेवारी तोकिने छ । सरकारले यस अगाडि नै जिल्ला समन्वय समितिहरूलाई तयारीको योजना तयार पार्न निर्देशन दिइसकेको छ । सरकारले यस अगाडि नै मौसम तथा बाढीको पूर्वअनुमानको कार्य अगाडि बढाइसकेको छ । जस अनुसार बाढी तथा मौसमको बारेमा स्थानीय जनतालाई मोबाइल मार्फत जानकारी गराइने छ । गत वर्ष मोबाइलमा म्यासेज प्राप्त गर्ने व्यक्तिहरू सुरक्षित स्थानतर्फ जान सफल भएका थिए ।

नयाँ कार्ययोजनामा बाढी र पहिरोको सम्भावित स्थानहरूको पहिचान समेत गरिनेछ र स्थानीय जनतालाई सजग हुन आग्रह गरिने छ । सुरक्षा निकायहरूले पनि यस सम्बन्धमा आवश्यक तयारी गरिरहेका छन् । यस वर्ष सडक विभाग, जिल्ला समन्वय परिषद् र अन्य सरकारी निकायहरूलाई सम्बन्धित उपकरण चुस्त एवं दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ । गत वर्ष बाढी र पहिरोका कारण एक सय १५० जना भन्दा बढीको मृत्यु भएको थियो ।

दि काठमाडौ पोष्टमा प्रकाशित समाचारको भाव अनुवाद

ताजा समाचार

सम्बन्धित समाचार