Saturday, September 21, 2024

मेलम्चीमा ठेकेदार कम्पनीको आलटाल, पानीको दसैं सपना टर्दै

काठमाडौं– आगामी दसैंभित्र काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भनिए पनि निर्माणको काम सुस्त भइरहँदा मेलम्ची खानेपानी आयोजना र ठेकेदार कम्पनीबीच आरोप प्रत्यारोप चलिरहेको छ।

मेलम्चीको ठेक्का लिएको इटालीयन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी एण्ड केमेन्टेस्टी (सीएमसी) ले रकम अपुग हुँदा ढिलाइ भइरहेको बताइरहेका बेला मेलम्ची आयोजनाले शुक्रबार पत्रकार सम्मेलन नै गरेर रकम उपलब्ध गराउँदा समेत काममा आलटाल गरिरहेको दाबी गरेको छ।

हाकाहाकीसँग कुरा गर्दै आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रराज पन्तले भने, ‘हामीले नियमित रुपमा रकम भुक्तानी गरिरहेका छौं। तर, आयोजनाको ७० प्रतिशत रकम काममा खर्च भइरहेको छैन।’ आयोजनाले ३० प्रतिशत नेपाली रुपैयाँमा र बाँकी डलरमा भुक्तानी गर्दै आएकोमा डलरमा भुक्तानी भइरहेको रकम आयोजनामा खर्च नभएकोले काममा ढिलाइ देखिएको उनको दाबी छ।

तर, ठेकेदार कम्पनी भने आयोजनाले नियमित रुपमा रकम भुक्तानी नगर्दा पाइप बिछ्याउने, सुरूङमार्ग ढलान गर्ने र पाइपलाइनको फिनिसिङ गर्न ढिलाइ हुन गएको जिकिर गर्दै आएको छ।

पन्तका अनुसार आयोजनाको पाइप बिछ्याउन यसअघि व्यवसायीले उधारोमा निर्माण सामग्री उपलब्ध गराउँदै आएका थिए। तर, नियमित रकम नपाएको भन्दै उनीहरुले पनि ठेकेदार कम्पनीलाई निर्माण सामग्री उपलब्ध गराउन छाडेका छन्।

औषतमा दैनिक २ सय मिटर काम हुनुपर्ने भएपनि अहिले मुस्किलले ५० मिटरसम्म फिनिसिङको काम भइरहेको आयोजनाले जनाएको छ।

२ महिनाअघि सरकारले तामझामका साथ सुरुङ मार्ग खन्ने काम सकेर ‘ब्रेक थ्रु’ घोषणा गरेको थियो।

सुरुङभित्र ढलान, प्लास्टरलगायतका फिनिसिङका काममा ढिलाइ हुँदा आगामी दसैंमा काठमाडौंबासीलाई पानी खुवाउने सपना टर्ने सम्भावना बढेको कतिपय सरकारी अधिकारी बताउँछन्।

सुन्दरीजल–सिन्धु खण्ड साढे ९ किलोमिटर, सिन्धु–ग्यालथुम ८ किलोमिटर, र ग्यालथुम–अम्बाथान ९ किलोमिटर गरी जम्मा साढे २६ किलोमिटर सुरुङमार्गमा ३ किलोमिटर मात्र फिनिसिङ भएको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने सरकारको योजना छ ।

ताजा समाचार

सम्बन्धित समाचार