Saturday, October 26, 2024

वाग्मती सफाइ अभियानले उठाएको फोहर एक हप्तासम्म सडकमै

काठमाडौँ– सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ ।

जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत पनि सहभागी थिए ।

अधिकार सम्पन्न वाग्मती समितिका अधिकारीहरु मुहानदेखिकै सफाइ अभियानमा सहभागी भएको स्थलको फोहर भने एक हप्तासम्म उठ्न सकेको छैन ।

गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ को सीमामा रहेका कोलमती सफाइ गरेर राखिएको फोहर नदी किनारस्थित बसपार्कमा थुपारिएको थियो । नगरपालिकाले फोहर उठाउने भनिए पनि एक हप्तासम्म त्यही थुपारिँदा बसले किचेको छ । तर अध्यक्ष बस्नेतले भने गाकर्णेश्वर नगरपालिकाले फोहर उठाउने प्रतिबद्धता जनाएको बताए ।

नगर उपप्रमुख शान्ति नेपाल फोहर लैजाने सवारी बिग्रिएकाले फोहर उठ्न नसकेको बताउँछन् ।

वाग्मती सफाइ महाअभियानले पाँच वर्ष पूरा गरेको अवसरमा समीक्षा गरेको छ । महाअभियानबाट प्रभावित भई हाल देशभर ९४ स्थानमा सफाइ अभियान चलिरहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिए । रासस

ताजा समाचार

सम्बन्धित समाचार