Friday, October 25, 2024

वैकल्पिक ऊर्जा एक मात्र विकल्प : मुख्यमन्त्री शाही

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको ऊर्जा संकट समाधानका लागि वैकल्पिक ऊर्जा एकमात्र विकल्प भएको बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौँद्वारा प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बिहीबार आयोजित ‘नवीकरणीय ऊर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले यो कुरा बताएका हुन् । उनले प्रदेशमा ठूला जलविद्युत् आयोजना निर्माण नहुञ्जेलसम्म विद्युतीकरणको एकमात्र विकल्प वैकल्पिक ऊर्जा रहने औँल्याए ।

राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुगेका कर्णालीका विभिन्न स्थानमा वैकल्पिक ऊर्जाको विशेष कार्यक्रम सञ्चालन गर्न उनले प्रवद्र्धन केन्द्रलाई आग्रह गर्नुभयो । तत्काल विद्युतीकरणको आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा विकासमा जोड दिएर राजधानी वीरेन्द्रनगरलगायत सबैतिर विद्युतीकरण गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली २३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको प्रदेश हो, यद्यपि यसका लागि बन्ने मेगा परियोजना अहिले नै निर्माण हुने स्थिति छैन् ।’ उनले वैकल्पिक ऊर्जाको उपभोगमार्फत खानेपानी, सिँचाइ र विद्युतीकरणका समस्या समाधान हुने र उत्पादन वृद्धि गर्न समेत सकिने बताए ।

कर्णाली प्रदेशमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत जनताको समस्या हल गर्नका लागि प्रदेश सरकारसमेत लगानी गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री शाहीले गुणस्तरीय र दिगोरुपमा काम गर्न वैकल्पिक ऊर्जा केन्द्रलाई आग्रह गरे । प्रदेश राजधानी सुर्खेतमा तत्काल एक मेगावाटको सोलार प्लान्ट निर्माण गर्न पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई आग्रह समेत गरे । रासस

ताजा समाचार

सम्बन्धित समाचार