Friday, October 25, 2024

पत्रपत्रिकामा वातावरण : भट्टाको तुवालोले ढाक्यो पाँचखाल, प्याडको विकल्पमा वातावरणमैत्री कप

काठमाडौं– आजका दैनिक पत्रपत्रिकाले विकास र वातावरणलाई जोडेर समाचार प्रकाशित गरेका छन् ।

–कान्तिपुर दैनिक
कान्तिपुरले वातावरण र विकासका समाचारलाई स्थान दिएको छ। ‘तमोर पुल अलपत्र’ शीर्षकमा समाचार प्रकाशित छ। तेह्रथुमबाट चन्द्र कार्कीले लेखेको समाचारमा निर्धारित भन्दा २ वर्ष ढिलो भइसक्दा पनि तमोर नदीको पुल निर्माणमा ढिलाइ भएको उल्लेख छ।

यस्तै, भेरी बबई डाइभर्सनमा ५ किलोमिटर सुरुङ छिचोलिएको खबर सुर्खेतबाट कृष्णप्रसाद गौतमले लेखेका छन्। यस्तै राष्ट्रिय गौरबका रानी जमरा कुलरिया आयोजनाको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको खबर टीकापुरबाट गणेश चौधरीले लेखेका छन्।

महिनावारीका समयमा महिलाले प्रयोग प्याडको सट्टा मेरी स्टोप्स् सर्भिसेसले कपलाई बजारमा ल्याएको खबर पनि कान्तिपुरमा छ। महिनावारी हुँदा प्रयोग हुने प्याड भन्दा वातावरणमैत्री रुपमा कपलाई लिइएको छ । प्याड प्रयोग गरेपछि त्यसको व्यवस्थापनमा समस्या हुने चिन्ताबाट मुक्त हुन सो कपको प्रयोग गर्न सकिने कुरा खबरमा उल्लेख छ । २ हजार मूल्य पर्ने कप झण्डै १० वर्षसम्म प्रयोग गर्न सकिने छ।

–नागरिक दैनिक
नागरिकको पहिलो पृष्ठमा अबिरल वर्षाका कारण वीरेन्द्रनगर डुबानमा परेको समाचार प्राथमिकताका साथ प्रकाशित भएको छ। सुर्खेतबाट नगेन्द्र उपाध्यायले ‘वीरेन्द्रनगर जलमग्न, यातायात प्रभावित’ शीर्षकमा समाचार लेखेका हुन्। बिहीबार दिउँसो परेको पानीले वीरेन्द्रनगरका जुम्लारोड, खजुरा, तल्लो सुर्खेत लगायत क्षेत्र डुबानमा परेका छन्। जलमग्न भएका कारण सुर्खेतदेखि सञ्चालन हुने सडक तथा हवाई यातायात प्रभावित भएको छ।

यस्तै जिल्ला वन कार्यालय बारामा अनियमितता भएको प्रसङ पनि नागरिकमा छ। उपेन्द्र यादवले लेखेको समाचारमा ‘वन कार्यालयले काम कागजमा, दाम गोजीमा’ शीर्षकमा प्रकाशित छ । सिंहदरबारमा भुस्याहा कुकुरले पुर्याएको समस्या र ललितपुर नल्लु क्षेत्रमा अबैध ढुंगाखानीले दुर्घटना निम्ताएको खबर छ।

चावहिल–साँखुका सडकका खाल्डा पुरिएको, पर्यटनमन्त्रीले सगरमाथा सफाइमा केन्द्रित हुन आग्रह गरेको खबर छ।
यसैगरी, ‘भट्टाको तुवालोले ढाक्यो पाँचखाल’ शीर्षकमा शिवहरी घिमिरेले समाचार लेखेका छन्। ‘कुनैताका कृषि उत्पादनले हराभर देखिने ठाउँ अहिले सुक्खा छन्। सबैतिर इँटा भट्टामात्रै देखिन्छन्। भट्टाका कारण स्वच्छ श्वास फेर्न नपाएपछि धेरै युवा त्यसको विरोधमा जागेका छन्।’

लाई हाइलाइट दिएको समाचारमा ‘भट्टाका गाडीले भत्कियो सडक’, ‘भट्टाले सुकाए पानीका स्रोत’ लाई सव हेडलाइन दिइएको छ।  ‘पाँच वर्षअघि पलाञ्चोक भगवती मन्दिरको डाडाँबाट नियाल्दा पाँचखालको रूप अर्कै थियो । सबैतिर हराभरा देखिन्थ्यो,’ बुधबार पलाञ्चोक मन्दिरको छेवैमा उभिएर पाँचखालका सामाजिक अगुवा श्रीकृष्ण धिमालले भने, ‘अहिले हेर्दै यो ठाउँ उराठलाग्दो छ, कालो धुवाँबाहेक केही देखिन्न।’

उनीमात्रै होइन, यो ठाउँबाट पुगेर पाँचखाललाई नियाल्ने जोसुकै पनि दंग पर्छन, सहरको रूप देखेर । कुनैताका कृषि उत्पादनले हराभर देखिने ठाउँ अहिले सुक्खा छन् । सबैतिर इँटा भट्टामात्रै देखिन्छन् । भट्टाका कारण स्वच्छ श्वास फेर्न नपाएपछि धेरै युवा त्यसको विरोधमा जागेका छन् । उनीहरू भट्टाले सहर बिगार्न थालेपछि आफूहरू भट्टा बन्द गराउने अभियानमा जुटेको बताए भनेर नागरिकले समाचारमा उल्लेख गरेको छ।

देशभरका अस्पताल सफाइ अभियान चलाइने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले घोषणा गरेको खबर पनि नागरिक दैनिकमा प्रकाशित छ।

–अन्नपूर्ण पोस्ट
‘हिलारी स्टेपमाथि शेर्पा गाइडको हत्या आशंका’ शीर्षकमा छेटु शेर्पाले समाचार लेखेका छन्। वैशाख ३१ गते युक्रेनी आरोहण टोलीसहित सगरमाथा आरोहण गरी शिखरबाट फर्कने क्रममा बेपत्ता भएका पर्वतारोहण गाइड लामबाबु शेर्पाको हत्या भएको आशंका उनको परिवारले दाबी गरेका छन्। उनीहरुले सरकारसँग जानकारी मागेका छन्।

यसैगरी नेपालका पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमामा पर्ने सन्दकपुरबाट नेपाल, भारत र भुटानका ६० भन्दा धेरै हिमचुचुरा हेर्न सकिने खबर भीमकुमार बाँस्कोटाले लेखेका छन्। यस्तै मोरङको लेटाङमा जंगली च्याउ खाएर एकै परिवारका ३ जना बिरामी परेको खबर पनि अन्नपूूर्णमा छ।

‘गुणस्तरहीन पानी उद्योगमा शिल’ शीर्षकको समाचार प्रकाशित छ । डोल्पामा स्याउ उत्पादन घट्ने समाचार पनि अन्नपूूर्णमा छ। कैलालीमा केबुलकार चलाइने र चाँदनी दोधारा जोड्ने झोलुंगे पुलको जोखिम सम्बन्धी समाचारलाई पनि अन्नपूर्णले प्राथमिकता दिएको छ।

–नयाँ पत्रिका
‘वीर अस्पताल सफाइका नाममा रकम उठाउन रोक’ शीर्षकमा अर्जुन अधिकारीले खबर लेखेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ।

अन्तर्राष्ट्रिय पृष्ठमा भारतको तेलंगनाको एउटा वरको वृक्षलाई मानिसलाई झैँ स्लाइन चढाइएको छ । रुखलाई कीटाणुबाट जोगाउन कीटनाशक औषधि मिसाइएको स्लाइन चढाइएको खबरमा उल्लेख छ । यस्तै म्यानमारमा आँधिका कारण पाँचको मृत्यु भएको खबर पनि छापिएको छ।

–राजधानी दैनिक
राजधानीले प्राकृतिक प्रकोपमा परी ४ जनाको मृत्यु भएको खबर छापेको छ। चट्याङले उदयपुरमा ३ जनाको र कृषि सडकको ट्रयाक खोल्ने क्रममा सोलुखुम्बुमा पहिरोले पुरिँदा एक्साभेटरको सहचालकको मृत्यु भएको खरबमा उल्लेख छ। ‘खाडो नदीमा बाँध निर्माण धमाधम’ शीर्षकको समाचार राजविराजबाट एमके माझीले लेखेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार