काठमाडौं–वायुको मापन गर्न मुलुकका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु गुणस्तर मापन केन्द्रका मेसिनहरू बिग्रिएका छन्।
निकै तामझामका साथ जडान गरिएका १२ मध्ये ४ वटा वायु गुणस्तर मापन केन्द्रका मेसिनहरू काम नै नलाग्ने भएका हुन्।
पोखराका ३ केन्द्रका मेसिन र कीर्तिपुरको एउटा मेसिनले काम गर्न छोडेपछि वायुको गुणस्तरको मापदण्ड नै जाँच गर्न समस्या भइरहेको छ।
यसैगरी, पोखरास्थित गण्डकी बोर्डिङ स्कूल, जल मौसम विभाग र पोखरा विश्व विद्यालयमा रहेका मेसिनमा पनि समस्या आएको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडीले जानकारी दिए।
उनका अनुसार पोखराका ती मेसिनको क्याल्कुलेसनका लागि केन्द्रबाट झिकिएको छ। ‘हरेक मेसिन जडान गरेको एक– डेढ वर्षमा त्यसको मापदण्ड तुलना गर्नका लागि जाँच गर्ने गरिन्छ,’ उनले भने, ‘मेसिनबाट आधिकारिक नतिजा त आउनुपर्यो नि। त्यही भएर जाँचका लागि विभागमा ल्याएका हौं।’
तर, विभागकी प्रवक्ता सफला श्रेष्ठ मेसिन ‘बिग्रिएर नभई यन्त्रको मापदण्ड जाँच्न’ का लागि ल्याइएको दाबी गर्छिन। प्राविधिक भाषामा यसलाई क्यालिब्रेसन भनिन्छ। ‘पोखराका तीनवटै मेसिन ‘ठ्याक्कै’ बिग्रिएका होइनन्,’ उनले भनिन्, ‘ती मेसिनका गुणस्तर मापदण्ड मिलाउनका लागि त्यहाँबाट झिकिएको हो, केही दिनमा ती यन्त्रहरू पोखरामा लगेर जडान गरिनेछ।’
गत दसैंमा त्रिभुवन विश्व विद्यालय कीर्तिपुरको भौतिकशास्त्र विभाग नजिकै रहेको केन्द्रबाट ४ वटा ब्याट्री चोरी भएका थिए। सरकारी अधिकारीहरुका अनुसार चोरी भएका प्रति ब्याट्रीको मूल्य १५ देखि २० हजार पर्छ। तर, ब्याट्री चोरी भएको ९ महिना हुँदा समेत विभागले वैकल्पिक व्यवस्था गर्न सकेको छैन।
नेपालमा पोखरा र कीर्तिपुर बाहेक चितवन सौराहा, लुम्बिनी, पाटनको पुल्चोक इन्जिनियरिङ कलेज, काठमाडौं विश्वविद्यालय धुलिखेल, वीरेन्द्र सैनिक आवासिय विद्यालय भक्तपुर, रत्नपार्क, शंखपार्क, भैंसीपाटी आवास क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र छन्। विभागले ४ स्थानको मेसिन नचलेको भनिरहदा वेभसाइटबाट हेर्दा धुलिखेल र शंखपार्कमा रहेका मेसिनले पनि डाटा दिइरहेका थिएनन्।
सबै मापन केन्द्रको वायु प्रदूषणका पीएम १० र पीएम २ दशमलव ५ स्टान्टर्ड मापन गर्ने गरेका छन्। जुन वायुको गुणस्तर हो। इसिमोडको सहयोमा स्थापित चितवन र रत्नपार्कका मेसिनले वायु गुणस्तरका सक्स, नक्स र ग्यासबारेमा डाटामा देखाउछ।
वातावरण विभागले आगामी असारभित्र काठमाडौं उपत्यका बाहिर ४ स्थानमा मापन केन्द्र राख्ने तयारी गरेको छ। इटहरी, दाङ, नेपालगञ्ज र सुर्खेतमा वायु पदूषण मापन केन्द्रको स्थापना गर्ने विभागले जनाएको छ।