रोल्पा– लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन्।
अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन बाध्य छन्। घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा बढी भएकाले तीन घण्टा पैदल हिँडेर पानी ल्याउन बाध्य भएको परिवर्तन गाउँपालिका, रांसीचौरका ललित क्षेत्रीले बताए। लामो खडेरीसँगै पानीका मुहान सुक्न थालेपछि खानेपानीमा सकश परेको उनले बताए।
सोही गाउँपालिका कालावाङवासी बिहान उठ्ने बित्तिकै डोकामा गाग्रो बोकेर पानी लिन निस्कन्छन्। ‘एक गाग्रो पानी लिन जाँदा आउँदा तीनघण्टा लाग्छ,’ स्थानीय लोकेन्द्र केसीले भने। एकघर एक धारा अन्तरगत तीन महिना अघि जडान गरिएका धारामा पानी आउन छाडेको केसीले जानकारी दिए।
मान्छेले खानको लागि त टाढैको मुहानबाट भएपनि जसोतसो काम चलिरहेको छ गाईभैँसीलाई खुवाउन र मान्छेलाई सरसफाइ गर्न निकै समस्या भएको केसीले बताए।
जिल्ला सदरमुकाममा समेत पानीको हाहाकार भएको छ। धारामा पानी नआएपछि बजारवासीले पानी आपूर्तिका लागि खानेपानी उपभोक्ता समितिमा दबाब दिइरहेका छन् ‘पानीको सही व्यवस्थापनसहित वितरण गर्नसके केही राहत हुनसक्छ। यसतर्फ समितिले ध्यान दिएको छैन,’ स्थानीय खिमबहादुर केसीले भने।
धारामा पानी नआएपछि नुवाइधुवाइका लागि एकघण्टा टाढाको लहरी खोला जाने गरेको स्थानीय सोनी केसीले दुखेसो पोखिन्। गर्मीमा दैनिक सरसफाइ गर्न जरुरी रहेपनि पानीका कारण सरसफाइ गर्न नपाएको केसीको भनाइ छ।
लामो समयको खडेरीले पानीका मुहान सुकेका कारण खानेपानी आपूर्तिमा समस्या देखिएको लिवाङ बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले बताए। बिसौं वर्ष पुरानो संरचनाका कारण बढ्दो जनघनत्वलाई सेवा दिन समस्या देखिएको आचार्यले बताए। निकट भविष्यमै साना शहरी खानेपानी तथा सरसफाइ आयोजना लागू गरिने भएकाले खानेपानीको समस्या हल हुने आचार्यले आशा व्यक्त गरे।
पूर्वी रोल्पाको तेवाङमा स्थानीय खानेपानी उपभोक्ता समितिले हप्ताको दुई दिन पानी वितरण गर्ने नियम बनाएको भए पनि केही महिनायता पानी आउन छाडेको स्थानीय रविलाल रोकाले जानकारी दिए। सोमबार र शुक्रबार गाउँमा रहेका सार्वजनिक धारामा पानी आउने भएकाले रातिदेखि धारामा गाग्रीको लाइन लाग्ने गरेको रोकाले बताए।
धारामा पानी आउन छोडेसँगै सो गाउँका ३ सय बढी घरधुरी दुई घण्टा टाढाको मूलबाट पानी खान बाध्य रहेको उनले बताए।
अधिकांश जग्गा भिरालो हुनुका साथै बस्तीसमेत पहाडको टुप्पामा रहेका कारण रोल्पाका गाउँबस्तीमा खानेपानीको समस्या देखिने गरेको छ । पानीको स्रोत तल्लो भागबाट बगेर जाने र बस्ती माथिल्लो भागमा रहँदा पानी आपूर्तिमा समेत समस्या देखिने गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष तीर्था आचार्यले जानकारी दिए।
लामो समयको खडेरीले यस्ता बस्ती बढी प्रभावित हुने भएकाले यसतर्फ राज्यले विशेष ढंगले योजना बनाउन जरुरी रहेको आचार्यको भनाइ छ। खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहे पनि खानेपानीकै कारण अभियानले तीव्रता लिन नसकेको सरसफाइका जानकार बताउँछन्।
पिउनेपानी र सरसफाइका लागि प्रतिव्यक्ति कम्तीमा ४५ लिटर पानीको आवश्यकता पर्ने भएपनि पानीको अभावले सरसफाइमा असर परेको बताइएको छ।
वातावरणीय प्रभाव मूल्यांकन नगरी स्काभेटर प्रयोग गरी खनिएका सडकले समेत पानीको मुहान हराउँदै जाँदा पानीको समस्या भोग्न बाध्य भएको जिल्लावासीले गुनासो गरेका छन्। रासस