Saturday, November 30, 2024

स्थलगत रिपोर्टः खोलाको पानी प्रशोधन नगरी ट्याङ्कीमा मिसाउँदा झाडापखाला फैलियो (भिडियो सहित)

दाङ – क्षणमै वान्ता हुने, अनि क्षणमै पखाला लाग्ने, त्यसमाथि वाकवाकी । यो क्रम नरोकिएपछि ६८ वर्षीया हरिकला केसी लखतरान जिउ लिएर गाउँको स्वास्थ्य चौकी पुगिन् ।

उनीमात्र होइन गाउँभरका विरामीको चापले स्वास्थ्य चौकी भरिएको थियो । ‘अहिलेसम्म केही भएको थिएन, यो उमेरमा आएर झाडापखाला पो लाग्यो’ पूरै निख्रिएको स्वरमा हरिकला भन्दै थिइन् ‘पहिला त कहिलै यस्तो भएको थिएन ।’

गत बिहीबार साँझसम्म गाउँ शान्त थियो । शुक्रबारदेखि केही स्थानीय बिरामी पर्न थाले । सामान्य झाडा वान्ताले प्रभावित केहीलाई स्वास्थ्य चौकीले जीवनजल र औषधीका केही पत्ता थमाएर घर पठायो । तर, शनिबारदेखि दाङको शान्ति नगर गाउँपालिकाको ३ र ४ नं वडामा पर्ने केही गाउँका मानिसहरु स्वास्थ्य चौकीमा ओइरिन थाले । क्षणभरमै स्वास्थ्य चौकी भवन अनि परिसर नै बिरामीले खचाखच भयो ।

त्यसपछि मात्रै थाहा भयो– गाउँमा झाडापखालाले ‘महामारी’कै रुप लिइसकेको रहेछ । सोमबार नेपाल वातावरण पत्रकार समूहको एक टोली त्यहाँ पुग्दा पनि विरामीहरु छटपटाइ रहेका थिए । गाउँको स्वास्थ्य चौकीको भवनमा सिमित कोठा, बेड, औषधी अनि स्वास्थ्यकर्मीहरु छन् ।

केही दिनसम्म त स्वास्थ्य चौकीकै चउरमा राखेर कतिपय बिरामीको उपचार भयो । झाडा वान्ता लागेकालाई जीवनजलका केही पोका र औषधीका केही पत्ताहरु दिएर फर्काइयो भने केही सिकिस्त विरामीलाई त्यहीँ राखेर उपचार गर्न थालियो । कोही बेडमा, कोही भुँईमा थिए, धेरै जसोलाई चउरमै ‘सलाइन’ पानी चढाइरहेको दृश्य सोमबार पनि ताजै थियो ।

यसरी फैलियो महामारी

दाङको तुलसीपुरदेखि करिब १२ किलोमीटर पश्चिममा पर्छ–शान्तिनगर गाउँपालिका । यही गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने पातेटाकुरा, बयाले, चिराघाट लगायतका गाउँमा करिब ८ सय ५१ निजी धाराहरु छन् र यी धारामा ‘माइलीपानी’ मूलबाट पानी आउँछ । सो मूलको पानीमा करिब ५ हजार ४ सय ६ जना आश्रित छन् । पछिल्लो समय खडेरी बढ्दै गएपछि मूलको पानी क्रमश कम हुन थाल्यो ।

ट्याङ्कीमा जम्मा भएको पानी अपुग हुन थालेपछि माइलीपानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मूलबाट केही पर बग्ने सिमलगैरा खोलाको पानी पनि त्यही ट्याङ्कीमा मिसाउने निर्णय ग¥यो । खोलाको पानी, जहाँबाट खानेपानी ट्याङ्कीको मुहानमा मिसाइएको थियो, त्यसैको सिरानमा ‘केराघारी’ भन्ने गाउँ छ । सो गाउँका केही घरमा शौचालय छैनन् । उनीहरुको शौचालय भनेको खोलाको किनारा हो ।

बैशाख महिनाको अन्तिम सातादेखि त्यही खोलाको पानी सिधै ट्याङ्कीमा मिसाइएको थियो । न कुनै प्रशोधन, न कुनै परीक्षण । ट्याङ्कीमा जम्मा भएको पानी सिधै गाउँलेका धारामा ‘पिउने पानी’ बनेर आयो । त्यसमाथि केही वर्षा भयो । खोलामा सानो बाढी आयो । त्यो बाढी पनि मूलमै मिसियो । अनि धाराबाट मानिसको शरीरमा मिसियो त्यसैको परिणामले करिब १५ सय भन्दा बढी स्थानीय झाडा पखालाबाट पिडित भए ।

पानीमा ‘कोलिफर्म’ ब्याक्टेरिया

जिल्ला जनस्वास्थ्य कार्यालय दाङले गरेको ल्याव परीक्षणमा मुहानको पानीमा ‘कोलिफर्म’ ब्याक्टेरिया देखा परेको छ । खासगरी मानिसको दिसामा पाइने यो ब्याक्टेरियाले जन्डिसको जीवाणु बोकेको हुन्छ । जसले मानिसमा जन्डिस रोग लाग्छ । वान्ता हुने र पखाला लाग्ने यो जीवाणुको तत्कालिन लक्षण हो । त्यही मूल (जसमा खोलाको पानी मिसाइएको थियो र, त्यो खोला खुल्ला ‘शौचालय’ थियो)को पानी प्रयोग गर्ने सबैजसो उपभोक्ताहरुमा झाडापखाला देखियो । तर, अचम्म त के छ भने, दाङ जिल्ला तीन वर्षअघि नै ‘खुल्ला दिशामुक्त क्षेत्र’ घोषणा भइसकेको छ । खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने समयमा सो वस्तीका सबै घरमा शौचालयहरु बनेका थिए । तर, न अनुगमन, न कुनै निरीक्षण । वस्तीका केही घरका लागि बनेका शौचालय धेरै टिकेनन् र उनीहरुका लागि त्यही खोला नै शौचालय बन्यो ।

अहिलेसम्म प्रशोधन नगरिएकै पानी

यो खानेपानी ट्याङ्की १८ बर्ष पहिले गाउँलेको श्रमदान र केही सरकारी अनुदानको लगानीमा निर्माण भएको थियो । निर्माणपछि केही मर्मतसम्भार अनि तारबारका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले ५ लाख लगानी गरेको थियो । त्यसैगरी एक बर्ष पहिले पानी शुद्धिकरणको लागि कार्यालयले उपकरण प्रदान गरेको थियो । तर, विद्युत अभावका कारण त्यो उपकरण पनि जडान हुन सकेको छैन जसका कारण उपभोक्ताहरुले वर्षाैदेखि त्यही प्रशोधन नगरेको पानी प्रयोग गरिरहेका छन् । महामारीपछि आकष्मिक रुपमा बसेको माइलीपानी खानेपानी उपभोक्ता समितिको बैठकले अव खोलाको पानी प्रयोग नगर्ने निर्णय गरिसकेको छ । अनि तत्कालै खोलाबाट सिधै मुहानमा जोडिएको पाइपलाइन काटिएको छ ।

महामारीपछिको अवस्था

२०६१ सालमा यही ठाउँमा फैलिएको यस्तै झाडापखालाको महामारीले ३ जनाको ज्यान लिएको थियो भने सयौ प्रभावित भएका थिए । तर, यसपटकको सुखद पक्ष के रह्यो भने मानविय क्षति हुन पाएन् । समयमै स्थानीय निकाय, जनप्रतिनिधि, सेना, प्रहरी, प्रशासन तथा अन्य सामाजिक संघ संस्थाहरु उपचार अनि सरसफाइमा जुटे । महामारी फैलिएको ठाउँमै पुगे । चिकित्सक र औषधीको अभाव धेरै समय रहेन् । सिकिस्त बिरामीलाई अन्य अस्पतालमा पठाइयो । केही सिकिस्त बिरामीहरुलाई त नेपालगन्जसम्मै पु¥याइयो । केहीको भने तुलसीपुरस्थित अञ्चल अस्पताल र अन्य निजी अस्पतालहरुमा उपचार भयो । केही विरामी अहिले पनि अस्पतालमा नै छन् ।

तुलसीपुरस्थित सिटी अस्पतालमा उपचार गराइरहेका ३ जना बिरामीहरुमा भने चिकित्सकहरुले डेंगुको आशंका गरेका छन् । अस्पताल स्रोतका अनुसार उनीहरुको नमुना परीक्षणका लागि रोग नियन्त्रण महाशाखामा पठाइएको छ । शुक्रबारसम्ममा उनीहरुको रोग डेंगु हो वा होइन भन्ने टुङ्गो लाग्नेछ । गाउँमा भने मानिसहरु फेरि सामान्य जीवनमा फर्किन थालेका छन् । महामारी लगभग नियन्त्रणमा आइसकेको छ भने, केही चिकित्सक तथा पर्याप्त औषधीहरु गाउँमै राखिएका छन् ।

नेपाली सेनाले ‘माइपानी’ मूल तथा पानीका ट्याङ्की पूरै सफा गरेको छ । त्यसका लागि नेपाली सेना र प्रहरी लगायतका टोली दुई दिनदेखि त्यहाँ खटिएको थियो । ट्याङ्कीको पुरानो पानी फालेर सफा गरिएको मूलको नयाँ पानी जम्मा गरिएको छ । त्यही पानी तीन दिनसम्म धाराका पाइपहरुबाट बगाइने छ । यसरी पानी खुल्ला बगाउँदा ट्याङ्कीबाट जोडिएका पाइपहरु पनि सफा हुनेछन् । अब ट्याङ्कीको पानी प्रशोधन गरेर मात्रै पिउनका लागि वितरण गरिने माइलीपानी खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष माधव बस्यालले जानकारी दिए ।

महामारी फैलिनासाथ ट्याङ्कीको पानी बन्द गरिएको थियो । र, पानी बन्द भएपछि गाउँभरि पिउने पानीको संकट टार्न तुलसीपुर बजारबाट पानी लैजाने व्यवस्था मिलाइएको छ । उक्त पानी प्रभावित गाउँमा प्रति परिवार तीन वाल्टीका दरले वितरण गरिन्छ । तर, चाँडै नै प्रशोधनयुक्त पिउने पानी छोडिने अध्यक्ष बस्यालको भनाइ छ । प्रभावित गाउँमा यूएन, यूनिसेफ, जिल्ला जनस्वास्थ्य कार्यालय, रेडक्रश, नेपाली सेना तथा नेपाल प्रहरीले उपचार तथा सरसफाइ लगायतका कामहरुमा सघाइरहेका छन् ।

सो सम्बन्धी रिपोर्ट भोलीको आँखिझ्याल कार्यक्रममा पनि प्रसारण हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार