
काठमाडौं– ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण थाल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहितको उपस्थितिमा भएको निर्णयले मंगलबार भाका नाघेको छ। तर, पुनर्निर्माण कहिलेदेखि सुरु हुन्छ ? अझै एकीन हुन सकेको छैन।
मन्त्री अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालसहितको उपस्थितिमा २२ चैत २०७४ मा बसेको बैठकले रानीपोखरी पुनर्निर्माणमा प्रयोग भएको कंक्रिटको पर्खाल भत्काउने, यसअघि पुनर्निर्माणको टेण्डर पाएको वल्र्डवाइड कँडेल केजी केभीसँगको ठेक्का तोड्ने र १५ जेठबाट पुनर्निर्माणको काम थाल्ने निर्णय गरेको थियो। जुन निर्णयलाई त्यसको भोलिपल्ट २३ वैशाखमा बसेको महानगरपालिकाको कार्यपालिका बैठकले पनि अनुमोदन गरेको थियो ।
तर, निर्णय भएको २ महिना पुग्न ७ दिन बाँकी रहँदा रानीपोखरीको पुनर्निर्माणको स्टिमेट (लागत) समेत तयार हुन सकेको छैन। ‘परम्परागत शैलीबाट पुनर्निर्माण गरिने भनिएकाले लागत बढ्ने अनुमान छ। हामी गृहकार्यमै छौं,’ महानगरपालिका भौतिक विकास तथा निर्माण विभाग प्रमुख रामबहादुर थापाले भने, ‘चाँडै नै लागत अनुमान गरेर डिजाइन सार्वजनिक हुन्छ।’
‘पुनर्निर्माणका लागि पुरातत्व विभागले थप डिजाइन उपलब्ध गराउन बाँकी छ’
महानगरपालिकाको कार्यपालिकाले वल्र्डवाइड कँडेल केजी केभीसँगको ६ करोड २९ लाखको ठेक्का रद्द गरेपछि २ करोड ३० लाख खेर गएको थियो। महानगरले यसअघि १० लाखको लागत अनुमान गरेर ६ करोड २९ लाखमा ठेक्का दिएको थियो।
महागनरले रानीपोखरी पुनर्निर्माणको क्रममा बनाइएको कंक्रिटकोे पर्खाल भत्काउन १५ लाख रुपैयाँ लागत अनुमान गरेकोमा चक्रदेवी कन्ट्रक्सनले १३ लाख ६६ हजारमा बोलपत्र पेश गरेपछि सम्झौताको प्रक्रियामा छ।
महानगरले २१ वैशाखमा १५ दिने सूचना जारी गरेकोमा तीनवटा निर्माण कम्पनीले बोलपत्र पेश गरेका थिए। जसमध्ये चक्रदेवीलाई छनोट गरेर ९ जेठमा आशयपत्र जारी गर्दा दाबीविरोध नपरेपछि अब सम्झौताको प्रक्रियामा रहेको महानगरको खरिद एकाइका प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए। ‘सम्झौताका लागि बुधबार पत्र पठाउँदैछौं,’ उनले भने।
महानगरपालिका भौतिक विकास तथा निर्माण विभाग प्रमुख थापाका अनुसार कंक्रिट भत्काउने काम चाँडै नै सुरु हुने भएपनि पुनर्निर्माणका लागि पुरातत्व विभागले थप डिजाइन उपलब्ध गराउन बाँकी छ।
‘पुरातत्वले यसअघि उपलब्ध गराएको डिजाइन रानीपोखरीको मात्र हो। विज्ञ सम्मिलित समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार शान्तिवाटिका, ढुंगेधारा लगायतको विषय समेटिएको डिजाइन आइसकेको छैन,’ उनले भने, ‘उताबाट डिजाइन आएपछि पूर्ण पुनर्निर्माणको स्टिमेट तयार हुन्छ।’
पुरातत्वले रानीपोखरी पुनर्निर्माणमा कालीमाटी, बालुवा, पुरानो शैलीको इँटा, चुन, सुर्कीको प्रयोग गर्न भनेको छ। यसअघि सिमेन्ट प्रयोग भएको सिमेन्ट, बालुवाको सट्टा चुना र सुर्की, गिट्टी, ढुंगाको ठाउँमा परम्परागत इँटाको प्रयोग हुनेछ।
थापाका अनुसार अब रानीपोखरीमा पानी जम्ने सतहभन्दा मुनी १ फिट कालीमाटी र त्यसमाथि ९ इन्च बालुवा रहनेछ।
तर, कालीमाटो र बालुका कहाँदेखि ल्याउने भन्नेमा पनि महानगरले निर्णय गरिसकेको छैन। थापा भन्छन्, ‘पुरातत्वले डिजाइन उपलब्ध गराइसकेपछि पनि कालीमाटीले पानी संचित हुने सम्भावना कत्तिको रहन्छ भनेर सोधेका थियौं। उहाँहरूले संचित हुन्छ भन्नु भएको छ । तर, अब कालीमाटी कहाँबाट ल्याउने भनेर पुरातत्वसँग परामर्श गरिनेछ।’
खरिद ऐन अनुसार प्रक्रियागत रुपमा अगाडि बढनुपर्ने भएकाले पुनर्निर्माण सुरु हुन केही समय लाग्ने भए पनि कहिलेदेखि सुरु हुन्छ ? भनेर एकीन भन्न नसकिने उनले बताए।
रानीपोखरी परिसरमा रहेको बालगोपालेश्वर मन्दिर १२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएपछि पुनर्निर्माण थालिएको हो। बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गरिरहेको छ।
सम्बन्धित समाचार
जेठ १५ बाट पनि सुरू नहुने भो रानीपोखरी पुनर्निर्माण