काठमाडौं–आजका दैनिक पत्रपत्रिकाले सगरमाथा र यससँग सम्बन्धित खबरलाई प्राथमिकता दिएका छन्।
यसैगरी बाराको निजगढमा बन्न लागेको विमानस्थल निर्माणका क्रममा साढे २४ लाख रुख काटिने खबर पनि प्राथमिकताका साथ प्रकाशित छ।
निजगढ विमानस्थल निर्माणका सन्र्दभमा कान्तिपुर दैनिकले ‘साढे २४ लाख रुख काटिँदै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। अब्दुल्लाह मियाँले लेखेको समाचारमा निजगढमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि साढे २४ लाख भन्दा बढि रुख काटिने भएको उल्लेख छ। कोल्हवी नगरपालिका र जीतपुर उपहानगरपालिकामा पर्ने उक्त क्षेत्रमा रहेका ५ लाख ८५ हजार ४ सय ९९ रुख र १८ लाख ६४ हजार ८ सय २० वटा खम्बा आकारका रुख काटिने वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा उल्लेख छ।
मंगलबार सगरमाथा दिवस मनाइरहदा सगरमाथासँग जोडिएका केही समाचार पनि प्रकाशित भएका छन्। सगरमाथा आरोहणको ६५ वर्ष पुगेको अवसरमा अन्नपूर्ण पोस्टमा छेटु शेर्पाले ‘चोमोलोङ्मालाई विश्राम दिऊँ’ शीर्षकमा समाचार लेखेका छन्। सन् १९५३ मे २९ तारिखमा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका पर्वतारोही सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। सगरमाथालाई तिब्बती भाषामा चोमोलोङ्मा भनिन्छ।
यसैगरी ‘सगरमाथामा शेर्पाको मृत्यु ‘रहस्यमय’ शीर्षकमा नयाँ दिल्लीबाट सुरेशराज न्यौपानेले कान्तिपुरमा समाचार लेखेका छन्। युक्रेनी आरोहीसँग सगरमाथा चढ्न गएका आरोहण गाइड ४५ वर्षका लामबाबु शेर्पाको मृत्यु रहस्यमय भएको खबरमा उल्लेख छ। यस्तै सात पटक सगरमाथा आरोहण गरेका दाबा छिरी शेपाको पेटको क्यान्सरका कारण निधन भएको समाचार राजधानी दैनिकमा प्रकाशित छ।
राजधानीमा ‘मुहान सुक्दा खानेपानी अभाव’ शीर्षकमा उदयपुरबाट ईश्वर तामाङ लेख्छन्,‘मौसम परिवर्तन तथा बढ्दो गर्मीसँगै खानेपानीको मुहान सुकेपछि उदयपुरको कटारी नगरपालिका ३ र ४ कटारी बजारमा खानेपानीको अभाव भएको छ ।’
डोल्पामा यार्चा टिप्न गएका दुई जना लेक लागेर बिरामी भएको खबर पनि सोही पत्रिकामा छ। यार्चा खोजेर पढाई जुटाउँदै गरेको समाचार कान्तिपुरमा छ। रौतहट जिल्लाका विभिन्न स्थानमा सम्झौता विपरीत सडक निर्माण भइरहेको खबर र पाथीभरामा केबुलकार निर्माणको प्रयास सम्बन्धि खबरहरु सोही पत्रिकामा प्रकाशित छ।
भरतपुर महानगरपालिकामा खानेपानीको हाहाकार भएको समाचार अनिश ढकालले अन्नपूर्ण पोस्टमा लेखेका छन्। खानेपानीको अभावमा आकाशबाट परेको पानी संकलन गर्दै पीउन थालेका छन्।
अन्नपूर्णमा उत्तरी दोलखाको दुर्गम कालिञ्चोक गाँउपालिका–१ तारेभीरमा भालुको आक्रमणबाट एकै परिवारका २ जना घाइते भएको समाचार प्रकाशित छ।
ताप्लेजुङको फुङलिङमा रहेका धारामा धमिलो पानी आएपछि झाडापखालाको त्रास देखिएको छ। बढ्दो सहरीकरण र जग्गा प्लटिङले सिमसार क्षेत्र मासिन थालेपछि धनकुटाको चौबिसे गाँउपालिका यसको संरक्षणमा लागेको छ। महोत्तरी बर्दिबास वरिपरिका जंगल अहिले उजाड बनेको छ।
नागरिक दैनिकमा प्रशोधन नगरी पानी पिउँदा झाडापखाला फैलिएको दाङको समाचार छ। यसैगरी बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण हुँदै गएको खबर मदन ठाकुरले लेखेका छन्।