Friday, September 20, 2024

तापक्रम अझै बढ्ने

काठमाडौं– विगत ३ दिनदेखि देशभर अस्वभाविक रूपमा बढेको तापक्रम अझै बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

तापक्रम बृद्धिले जनजीवन प्रभावित बनेको छ,भने केही स्थानमा विद्यालयहरू बन्द भएका छन् ।

अत्याधिक गर्मीका कारण कक्षा कोठामा पढाइ सञ्चालन हुन नसकेपछि महोत्तरी औरहीस्थित श्रीप्रसाद सिंह माविका विद्यार्थीले विद्यालयको परिसरमा रहेको मन्दिरमा पढ्दै । तस्बिर :धनवीर महतो, महोत्तरी, रासस

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन यता लगातार तापक्रम उकालो लागिरहेको छ । काठमाडौं उपत्यका र पश्चिमको अनुपातमा पूर्वी भागमा भने तुलनात्मक रूपमा कम तापक्रम बढेको विभागको भनाई छ ।

प्रि–मनसुन सक्रिय नहुँदा तापक्रम दिन–प्रतिदिन बढ्दै गएको विभागका मौसमविद् शान्ति कँडेलले बताईन् ।

‘प्रि–मनसुन सक्रिय हुँदा तापक्रम बढ्न पाएको थिएन,’उनले भनिन्,‘प्रि–मनसुन सक्रिय नहुँदा बदली हुने संभावना रहदैन, जसले गर्दा सूर्यको किरण सिधैँ आउने हुँदा तापक्रम बढि हुन्छ ।’

नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरू हुन्छ । तापक्रम स्थीर रहन् मौसममा बदली र पानी परिरहने हुनुपर्छ ।

मनसुन शुरू हुन अझै दुई साताभन्दा बढी छ । मौसमविद् कँडेलका अनुसार
तापक्रम बढ्ने क्रम अझै १–२ दिन लम्बिनेछ ।

‘तापक्रम अझै बढ्ने अनुमान गरिएको छ,’ उनले भनिन् , ‘१–२ डिग्री सेल्सियससम्म तापक्रम बढ्न सक्छ त्यो भन्दा बढि हुने संभावना भने छैन ।’

महाशाखाका अनुसार काठमाडौँको तापक्रम शनिबार ३१ दशमलब ५ डिग्री सेल्सियससम्म पुगेको थियो । अघिल्लो वर्ष (सन् २०१७ जुन ५) मा काठमाडौँको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको महाशाखाको तथ्याङ्क छ ।

अहिलेसम्म सबैभन्दा बढी नेपालगञ्जको ४२.२ तापक्रम पुगेको छ । अघिल्लो वर्ष जुन ५ मा त्यहाँको तापक्रम ४२ डिग्री पुगेको थियो ।

धनगढीको ४१.२, दिपायलको ३९, दाङको ३७, भैरहवाको ३६ र विराटनगरको ३१ डिग्री सेल्सियस पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार