Friday, October 25, 2024

यस्तो रह्यो यस पटकको सगरमाथा आरोहण

काठमाडौं –यस बर्षको सगरमाथा आरोहण सम्पन्न भएको छ । प्रायजसो मे महिनाकोे दोस्रो सातादेखि आरोहण शुरु हुन्छ र अन्तिम सातासम्म चल्छ ।

अघिल्लो बर्षहरुको तुलनामा सगरमाथा आरोहण तुलनात्मक रुपमा सुरक्षित नै रह्यो यसपटक । हरेक बर्ष सगरमाथा चढ्नेहरुको संख्या बढीरहेको छ त्यसैसँगै सगरमाथा प्रदूषित बन्दै गएको भनी चासो समेत व्यक्त भईरहेको छ । जलवायु परिवर्तनको असरका कारण मौसममा हुने छिटो छिटो परिवर्तनका कारण सगरमाथा आरोहण असुरक्षित समेत बन्दै गईरहेको छ । उसो त सगरमाथाको बढी नै व्यापारीकरण भएको भनी चासो समेत व्यक्त भईरहेका छन् ।

तर, यो सिजनको आरोहण तुलनात्मक रुपमा निकै उत्सादप्रद रह्यो र केही नयाँ किर्तिमानहरु समेत कायम रहे । आरोहण शुरु भएको दोस्रो दिन गत वैशाख ३१ गते कामीरिता शेर्पाले २२ पटक सगरमाथाको आरोहण गरेर नयाँ किर्तिमन कायम राखे ।

त्यसैगरी यस्तै पेम्बा दोर्जे शेर्पाले आठ घण्टा १० मिनेटमा नै सगरमाथा आरोहण गरेर नयाँ किर्तिमान कायम राखे । पछिल्लो समयमा सबैभन्दा बढी सगरमाथा चढ्ने र छोटो समयमा सगरमाथा आरोहण गरेर किर्तिमान कायम राख्ने होडवाजी नै चलेको छ । यस सिजनमा चार जना महिला संचारकर्मीहरुले सगरमाथाको सफल आरोहण गरेर किर्तिमान कायम राखेका छन् । यसै सिजनका दुवै खुट्टा नभएका एक चिनियाँ नागरीकाले सगरमाथाको आरोहण गरेर किर्तिमान कायम राखेका छन् ।

सरकारले शारीरिक रुपमा अशक्तहरुलाई सगरमाथा आरोहणको लागि निषेध गरेपनि त्यसको विरुद्धमा सर्वाेच्च अदालतमा मुद्धा परेको थियो । अदालतले शारीरिक रुपमा अशक्तलाई रोक्न नमिल्ने आदेश दिएको थियो । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको क्रममा तीन जनाको मृत्यु भएको छ । यस्तै हिम पहिरोमा परी एकजना बेपत्ता भएका छन् । खुम्बुफर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते मृत्यु भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर–२ को खुुम्बु आइसफलमा लडेर घाइते हुनुभएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर तीन पुगेर फर्कने क्रममा ३६ वर्षीय जापानी नोबुकाजु कुरिकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर तीन माथि लेक लागेर मृत्यु भएको छ ।

सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो । यस्तै सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो । यस्तै सन् २०१५ मा २२ आरोहीको मृत्यु भएको थियो । सन् २०१७ मा तीन आरोहीको निधन भएको थियो भने एक आरोही हराएका थिए । यस आधारमा हेर्दा यस पटकको आरोहणमा कम मात्रै मानवीय क्षति भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले विगत वर्ष भन्दा यस पटक सगरमाथा आरोहण बढी सुरक्षित रहेको र मानवीय क्षति समेत कम भएको बताए । आरोहणका क्रममा बढी सर्तकर्ता अपनाइएको, तालीम प्राप्त पथप्रदर्शकको व्यवस्था तथा समयमै सम्पूणं आरोहणको जानकारी लगायतका कारण पनि क्षति कम भएको उनको भनाई छ । यद्यपी मौसमको अनुमान गर्न कठिन भने हुँदै गएको छ । अघिल्लो बर्षको तुलनामा पर्यटन विभागले यसपटक स्वास्थ्य सम्बन्धी केही नयाँ नियमहरु लागु गरेको थियो ।

सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा करिब आठ हजारले सगरमाथाको शिखर चुमेका छन् । यस्तै आरोहणका क्रममा २८६ जनाको निधन भएका छन् । अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।

राससको सहयोगमा

ताजा समाचार

सम्बन्धित समाचार